४ जेष्ठ २०८१, शुक्रबार

बजार अनुगमन : बरामद चामलको नमुना अझैं परीक्षण भएन



धनगढी । पाँच दिनअघि धनगढी राजपुरको एउटा खाद्य उद्योगबाट बरामद गरिएको चामलको नमुना अझैं परीक्षण हुनसकेको छैन । गत मंगलबार आपूर्ति राज्यमन्त्री कर्णबहादुर विक नेतृत्वको अनुगमन टोलीले राजश्री फुड ईण्डष्ट्रिजबाट चामलको नमुना लिएको थियो ।
प्याकिङका लागि राखिएको चामलमा ढुसी परेकोले परीक्षणका लागि नमुना लिइएको जनाइएको छ । खाद्य तथा गुण नियन्त्रण कार्यालयका खाद्य निरीक्षक कृष्णदत्त लेखकले कार्यालय प्रमुख नभएकाले सो चामलको नुमना अझैं परीक्षण हुननसकेको जानकारी दिए ।
अनुमगन टोलीले सो उद्योगको गोदाममा प्याकिङ गर्न राखिएको चामलमा ढुसी परेको अवस्थामा बरामद गरेको थियो । अनुगमन टोली सदस्यका अनुसार चामलमा माटो तथा झारपात समेत मिसिएको थियो ।

फाइल तस्बिर

त्यस्तै, प्याकिङ गरिएको चामलमा पनि ढुसी र माटो मिसावट रहेको पाइएको थियो । आपूर्ति राज्यमन्त्री विकले सो चामल सेवन गर्न योग्य छ वा छैन भन्नेबारे परीक्षण गर्न निर्देशन दिएका थिए ।
मंगलबार चामल परीक्षणका लागि नमुना संकलन गर्न आवश्यक कागजपत्र नल्याएको भन्दै पन्छिएको खाद्य तथा गुणस्तर कार्यालयले अहिले कार्यालय प्रमुख नभएको भन्दै नमुना परीक्षणमा आलटाल गरिरहेको बताइन्छ ।
राज्यमन्त्री विकको अनुगमनका क्रममा बुधबार धनगढीका दुई वटा पसलमा सिलबन्दी गरिएको थियो । कालोबजारी र कर छली गरेको भन्दै धनगढीको अनमोल विश्वास सु सेन्टर र पंकज ईन्टरप्राईजेजमा आवश्यक कागज प्रशासनमा बुझाउन निर्देशन दिंदै ती दुई पसलमा शिलबन्दी गरिएको थियो ।
कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले व्यापारीले थप कामजपत्र नल्याएकाले कारबाही प्रक्रिया अघि बढ्न नसकेको बताए । उनले मन्त्रालयले शिलबन्दी गरेकाले आवश्यक कारबाहीका लागि कसरी अघि बढ्ने भन्ने छलफल भइरहेको बताए ।
उनले बजारमा देखिने विकृति, विसंगतिको अन्त्य गर्न ऐन संशोधन गर्नुपर्ने र अनुगमन अधिकारीलाई सम्पूर्ण अधिकार दिईनुपर्ने बताए ।
अनुगमनलाई प्रभावकारी रूपमा अघि बढाउन राज्यका संयन्त्रहरुले कारबाही प्रक्रियालाई अघि बढाउन जरुरी रहेको राष्ट्रिय उपभोक्ता मञ्चका हरि रेग्मीले बताए ।

कालोबजारी गर्नेमाथि कडा कारबाही गछौं– राज्यमन्त्री
कञ्चनपुर । आपूर्ति राज्यमन्त्री कर्णबहादुर विकले कालोबजारी गर्ने र उपभोक्ता ठग्ने व्यापारीमाथि कडा कारबाही हुने बताएका छन् ।
प्रेस सेन्टर कञ्चनपुरले शुक्रबार महेन्द्रनगरमा आयोजित पत्रकार भेटघाटमा राज्यमन्त्री विकले कालोबजारी गरी राज्य र उपभोक्तालाई ठग्ने उद्योगी तथा व्यापारीलाई कडा कारबाही गरिने बताए ।
उनले कञ्चनपुरमा उपभोक्ता सबै भन्दा बढी ठगिने गरेको सूचना आइरहेको बताए । उनले आम उपभोक्तालाई ठगिनबाट बचाउन सरकारले देशभरी बजार अनुगमन गरिरहेको बताए ।
उनले महेन्द्रनगर बजार अनुगमनका क्रममा व्यावसायीहरूले असहयोग गरेको गुनासो गरे । उनले मूल्यसूची नराख्ने र गुणस्तरहीन सामान विक्री गर्ने व्यापारीमाथि तत्काल कारबाही गरिने बताए ।

व्यावसायीद्वारा बजार बन्द
कञ्चनपुर । बजार अनुगमनको विरोधमा व्यावसायीहरुले कञ्चनपुरको महेन्द्रनगर बजार शुक्रबार बन्द गराएका छन् ।
आपूर्ति राज्यमन्त्री कर्णबहादुर विक नेतृत्वको टोलीले बिहीबार बजार अनुगमन गरेको विरोधमा व्यावसायीले शुक्रबार बिहानैदेखि बजार बन्द गराए ।
व्यावसायीले दशैँतिहारका बेलामात्रै बजार अनुगमनका नाममा व्यावसायीलाई दु:ख दिने गरेको भन्दै विरोध गर्नुपरेको बताए ।
कञ्चनपुर उद्योग वाणिज्य संघका पूर्व महासचिव हेमराज जोशीले सरकारले नै भ्याट बिल पारदर्शी नदिएकाले अनुगमन समितिलाई भ्याट बिल दिन नसकेको बताए ।
बिहीबार आपूर्ति राज्यमन्त्री सहितको टोलीले खाद्य, किराना, औषधि, फैन्सी, सुनचाँदी पसल र पेट्रोल पम्पमा अनुगमन गरेको थियो । उद्योग वाणिज्य संघले भने अनुगमनको विरोध संघले नगरेको भन्दै केही व्यवसायीले मात्रै विरोध जनाएको प्रष्ट पारेको छ ।

असाेज ०७ गते (epapre)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार