४ जेष्ठ २०८१, शुक्रबार

अधिकांस व्यापारीले राज्य र उपभोक्तालाई ठगेका छन् : राज्यमन्त्री



धनगढी । आपूर्ति राज्यमन्त्री कर्णबहादुर विकले कैलालीका अधिकांश व्यापारीले मापदण्ड विपरित सामग्री बिक्री गर्नुका साथै कर छली गरिरहेको आरोप लगाएका छन् ।
धनगढी उपमहानगरपालिका तथा गोदावरी नगरपालिकाका विभिन्न स्थानमा दुई दिनसम्म बजार अनुगमनको नेतृत्व गरेका आपूर्ति राज्यमन्त्री विकले अनुगमनका क्रममा अधिकांस व्यापारीले राजई तथा उपभोक्तालाई ठग्ने गरेको पाइएको बताए ।
‘अधिकांस व्यापारीले कुनै न कुनै बहाना बनाएर उपभोक्ता र राज्यलाई ठगिरहेका छन्’ बिहीबार धनगढीमा प्रेस सेन्टर कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा राज्यमन्त्री विकले भने– ‘कसैले उपभोक्तालाई उपभोग्य म्याद नाघेका सामान बिक्री गरिरहेका छन्, कसैले कालोबजारी र कृत्रिम अभाव सिर्जना गरिरहेका छन् भने कसैले कर छली गरिरहेका छन् ।’
उनले प्रदेश नम्वर ७ को मुख्य व्यापारिक केन्द्र कैलाली भएकाले बजार अनुगमन व्यापक बनाइएको बताए । दुई दिनसम्म कैलालीका विभिन्न बजारमा गरिएको अनुगमनका क्रममा उपभोग्य वस्तुमा मिसावट, करछली, अखाद्य वस्तु तथा उपभोग्य म्याद नाघेका सामग्रीको बिक्री भइरहेको पाइएको उनले बताए ।
राज्मन्त्री विकले धनगढीमा रहेको अनमोल विश्वास सु सेन्टरले एक हजार दुई सयदेखि एक हजार चार सय रुपैयाँ मूल्य पर्ने ब्ल्याक हर्स जुत्ताको खरिद बिलमा पाँच सयदेखि छ सय रुपैयाँमा उल्लेख भएको बताए । ‘राज्यलाई कर छल्नका लागि नै सामानको खरिद बिलमा कम रकम उल्लेख गरिएको हो’ उनले त्यसबारे थप अनुसन्धान गरी आवश्यक कारबाही गर्न अधिकारीहरूलाई निर्देशन दिए ।
उनले आम उपभोक्ताबाट मौसमी अनुगमनको आरोप लाग्ने गरेकोले नियमित रूपमा अनुगमन गर्नुपर्ने बताए । उनले भने– ‘सबै निकायले बजार अनुुगमन गरिरहेका छन्, तर प्रभावकारी हुनसकेको छैन’ उनले सबै निकायबाट संयुक्त रूपमा अनुगमन गर्न निर्देशन दिए ।
उनले आफूले एक महिनाको अवधिमा ५० भन्दा बढी जिल्लामा बजार अनुगमनको निरीक्षण गरेको बताए ।
अनुुगमन महाशाखा प्रमुख गोविन्द लुुइँटेलले अनियमिता गर्ने व्यावसायीमाथि कानूनी कारबाहीको पाटो कमजोर भएकाले कालोबनारी मौलाएको बताए । महाशाखा प्रमुख लुइँटेलले कालोबजारी ऐन–२०३२ मा समयानुकुल परिमार्जन आवश्यक रहेको बताए ।

असाेज ०६ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार