१० श्रावण २०८१, बिहीबार

जीर्ण सडकखण्ड अझै मर्मत भएन



चुरे (कैलाली) । धनगढी–डडेल्धुरा सडकको कैलालीको गोदावरीदेखि सहजपुरसम्मको सडकखण्ड दिनप्रतिदिन जीर्ण बन्दै गएको छ । साँघुरो यो सडकखण्डमा यस वर्षायाममा ठाउँठाउँमा गएको पहिरोका कारण झन् साँघुरो बनेको छ ।
सो सडकखण्डमा यस वर्षायाममा छ ठाउँमा पहिरो गएका कारण सडक भासिएको छ । साउनमा परेको अविरल वर्षाबाट सडकमा क्षति पुगे पनि हालसम्म मर्मत सम्भार हुनसकेको छैन । सडक डिभिजन कार्यालयका अनुसार बिग्रेको सडक मर्मतका लागि सडक विभागमा फाइल पठाइएको छ ।
सडक डिभिजन कार्यालयसंग भासिएको सडक मर्मत गर्ने आवश्यक बजेट नभएपछि दुर्घटनाको जोखिमलाई रोक्न सचेतना बोर्ड झुण्ड्याएको छ ।
‘सो सडकखण्डमा ड्रममा रातो कपडा झुण्ड्याएर ‘एकतर्फी बाटो’ भनेर सचेतना साइनबोर्ड झुण्ड्याइएको छ । भाँसिएको सडकको वरिपरी माटोको आली बनाएर राखिएको छ’ सडक डिभिजन कार्यालयका प्रमुख विनोद मौवारले बताए– ‘भाँसिएको सडकको मर्मतका लागि विभागमा फाइल पठाएका छौं, दशैंतिहारपछि मर्मत हुने सम्भावना छ ।’
उनले सो सडक मर्मतका लागि साढे तीन करोड रुपैयाँभन्दा बढी खर्च हुने अनुमान रहेको बताए ।
उनले दशैंतिहारमा सो सडकमा सवारी साधनको बढी चाप हुने भएकाले सडक दुर्घटना हुननदिन विशेष निगरानी गरिने बताए ।
कैलाली र कञ्चनपुरबाट सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुरा, बझाङ, बैतडी, दार्चुला, बाजुरा, अछाम तथा डोटीसम्म सडक यातायात सञ्चालनका लागि सो एकमात्र सडक हो ।
अर्कोतिर सहजपुर–वीपीनगरसम्मको कच्ची सडक पनि जोखिमपूर्ण रहेको छ । वर्षाका कारण सो सडकखण्डका विभिन्न ठाउँमा परेको पहिरो अहिलेसम्म हटाइएको छैन । पहिरो नहटाइएका कारण सो सडकखण्डमा यातायात सञ्चालनमा कठिनाई भइरहेको सवारी साधन चालक बताउँछन् । सहजपुर–विपीनगर सडकको लम्बाई २५ किलोमिटर छ ।
क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय, अत्तरियाले चाडपर्वमा बढी सवारी दुर्घटना हुन सक्ने भएकाले यस्ता सडकमा यातायातका सवारी साधनहरू दु्रत गतिमा नचलाउन, सवारी साधन ओभरटेक गर्ने काम नगर्न, सवारी साधनलाई पूर्ण मर्मत गरेरमात्र चलाउन, सवारी चलाउदा मदिरा सेवन नगर्न लगायतको आग्रह गरेको छ ।

असाेज ०३ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार