१० श्रावण २०८१, बिहीबार

प्रदेश नम्बर २ मा मतदान सुरु



काठमाडौं । स्थानीय तहको तेस्रो चरणअन्तर्गत प्रदेश नम्बर २ मा अाज मतदान सुरु भएको छ । प्रदेश २ मा बिहान ७ बजेदेखि मतदान सुरु भएको हो । मतदान साँझ ५ बजेसम्म हुनेछ ।
मतदानका लागि १३६ वटै स्थानीय तहमा उल्लासमय उपस्थिति देखिएको छ । मतदाताहरु बिहानैदेखि मतदानका लागि लाममा लागेकाे जनाइएका छन् ।
प्रदेश नम्बर २ को १३६ स्थानीय तहमा आज निर्वाचन हुँदैछ । यसअघि देशका ६ प्रदेशमा स्थानीय तहको निर्वाचन भए पनि प्रदेश नम्बर २ मा राष्ट्रिय जनता पार्टी (राजपा) लगायत दललाई सहभागी गराउन निर्वाचन रोकिएको थियो । राजपासहित निर्वाचनको विपक्षमा रहेका दलहरु सहभागी हुन तयार भएपछि त्यहाँ निर्वाचन भएको हो ।
प्रदेश २ मा १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका रहेका छन् । निर्वाचन आयोगका अनुसार, ६ हजार ६ सय २७ पदका लागि त्यहाँ हुन लागेको निर्वाचनमा ३७ हजार २ सय ३६ उम्मेदवार मैदानमा छन् । २६ लाख ६४ हजार ९ सय ५० मतदाताले मतमार्फत यी उम्मेदवारहरु मध्येबाट आफ्ना प्रतिनिधि चुन्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार