४ जेष्ठ २०८१, शुक्रबार

सरोकारवालाहरूको चिन्ता– बालविवाहका घटनामा कमी आएन



धनगढी । कैलाली जिल्लामा बालविवाहका घटनामा कमी आउन नसकेकोप्रछि सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् ।
जिल्ला बाल कल्याण समिति, कैलालीले बिहीबार राष्ट्रिय बाल दिवसको अवसरमा धनगढीमा आयोजना गरेको ‘बालविवाहको अवस्था र चुनौति’ विषयक अन्तरक्रियामा सहभागीहरूले गरिबी, अशिक्षा, रुढिवादी सामाजिक तथा सांस्कृतिक रीतिरिवाज लगायतका कारण बालविवाहका घटनामा कमी आउन नसकेको चर्चा गरे ।
कार्यक्रममा धनगढी उपमहानगरपालिकाकी उपमेयर सुशीला मिश्र भट्टले सामाजिक कूरीतिको अन्त्यका लागि सामाजिक दण्डमा बृद्धि आवश्यक रहेको बताइन् । उनले भनिन्– ‘कानुनी दण्डजजाय बृद्धि गर्दैमा मात्रै बालविवाह, बहुविवाह जस्ता समस्या कम गर्न सकिदैन, सामाजिक विकृति, बिसंगति कम गर्नका लागि यस्ता विकृतिका पक्षधरलाई सामाजिक रूपमा नै बहिस्कार गर्नु आवश्यक हुन्छ ।
उपमेयर मिश्र भट्टले बालविवाहले समाजमा बालश्रम, सम्बन्ध विच्छेदमा बृद्धि, किशोरी स्वास्थ्यमा समस्या लगायतका समस्या बृद्धि गर्ने भएकाले न्यूनीकरणका लागि सामाजिक जागरण जरुरी रहेको चर्चा गरिन् ।
‘अहिले बालबालिकालाई समाजिक रूपले पनि स्वतन्त्र बनाएको छ, त्यसले गर्दा सानै उमेरमा प्रेममा फस्ने र आफैं विवाह गर्ने प्रवृति पनि बढेको छ’ उनले भनिन्– ‘पहिला बाबुआमाले छोराछोरीको सानै उमेरमा विवाह गरिदिन्थे, अहिले बालबालिका आफैं विवाह गर्न थालेका छन् ।’ उनले बालविवाहको अन्त्यका लागि बालविवाहका वेफाईदाबारे जनचेतना फैलाउने र बालविवाह गर्नेलाई सामाजिक रूपमै वहिष्कार गर्ने काम गरेमा हुने बताइन् ।
धनगढी उपमहानगरपालिकाले बालबालिका लागि कुल बजेटको १० प्रतिशत विनियोजन गरेकाले यसले बालबालिकाका क्षेत्रमा थुपै्र राम्रा काम गर्न सकिने बताइन् । उनले बालबालिका, महिला, युवाहरुका विषयमा आफू सधै समवेदनशील भएको बताइन् ।
कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक सूर्यबहादुर थापाले जनप्रतिनिधिहरू सामाजिक विकृति, बिसंगति कम गर्न अग्रसर हुन आग्रह गरे । उनले बालबालिकाको क्षमता विकास, तालिम, जनचेतनामूलक कार्यक्रम लगायत बालबालिकाको अधिकारको क्षेत्रमा जनप्रतिनिधिलाई काम गर्न उनले आग्रह गरे ।
कार्यक्रममा कैलालीका जिल्ला न्यायधिवक्ता प्रकाशबहादुर भण्डारीले बालविवाहमा सम्बन्धी बनेको कानुनमा सजाय न्यून तोकेकोले पनि समस्या भएको बताए । उनले कानुनी दण्डसजायमा बृद्धि मात्रैले बालविवाहमा कमी आउन नसक्ने भएकाले विशेष सचेतनामूलक अभियान सञ्चालन गर्नुपर्ने बताए ।
जिल्ला बाल कल्याण समितिका अध्यक्ष एवं कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ कैलालीका जिल्ला अध्यक्ष जगत साउँद, दलित महिला अधिकार मञ्चकी कार्यक्रम निर्देशक सावित्रा घिमिरे, विद्यार्थी विन्दिया कलौनी, राजेश खाती लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
महिला तथा बालबालिका कार्यालयकी कार्यालय प्रमुख सन्ध्या सिंहले स्वागत गरेको कार्यक्रममा बाल हेल्पलाईन (१०९८) का सुदूरपश्चिम संयोजक माधव लोहनीले जिल्लामा समग्र बालअधिकार, बाल हिंसा, बालविवाहको अवस्था, चुनौतिका बारेमा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

भदाै ३० गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार