१० श्रावण २०८१, बिहीबार

१०४ औं वीपी जन्मजयन्ती : विविध कार्यक्रमसहित मनाइयो



धनगढी । नेपाली प्रजातान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको १०४ औंं जन्मजयन्ती शनिबार देशैभरी विविध कार्यक्रमसहित मनाइएको छ ।
वीपी जन्मजयन्तीका अवसरमा कैलालीमा विभिन्न स्थानमा वृक्षारोपण, अन्तरक्रिया, विचार गोष्ठी, फलफूल वितरण, साधुसन्तलाई कपडा वितरण लगायतका कार्यक्रम आयोजना गरिए ।
यस अवसरमा नेपाल तरुण दल धनगढी नगर समितिको आयोजनामा धनगढीस्थित लक्ष्मीनारायण मन्दिरमा रहेका साधुसन्तहरूलाई कपडा वितरण गरियो ।
सो अवसरमा सांसद पुष्करनाथ ओझा, नेपाली काँग्रेस कैलालीका सभापति नरनारायण शाह (मनु), पार्टी उपसभापति प्रकाश बम, महाधिवेशन प्रतिनिधि नारायणदत्त भट्ट, धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वड, उपमेयर सुशीला मिश्र भट्ट, तरुण दलका नगर अध्यक्ष भक्तबहादुर बिष्ट लगायतले साधुसन्तहरूलाई कपडा वितरण गरेका थिए ।
त्यस्तै, नेपाल विद्यार्थी संघ धनगढी नगर समितिको आयोजनामा धनगढी उपमहानगरपालिका वडा नम्बर ६, जालीस्थित जाली सामुदायिक उपभोक्ता वनमा वृक्षारोपण गरिएको छ । सो अवसरमा विभिन्न जातका पाँच सय बढी विरुवा रोपिएका थिए ।
वृक्षारोपण कार्यक्रमको नेपाली काँग्रेस कैलालीका सभापति शाहले विरुवा रोपेर उद्घाटन गरेका थिए ।
कार्यक्रममा नेविसंघका कार्यवाहक सभापति भेष बम, नेपाली काँग्रेसका विभिन्न भातृ संगठनका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो ।
त्यस्तै, नेपाली लेखक संघ कैलाली र सुदूरपश्चिमाञ्चल साहित्य समाजको सयुंक्त आयोजनामा १०४ औं वीपी जन्म र १५१ औं मोतिराम भट्ट जयन्ती एक समारोहबीच मनाइएको छ ।
कार्यक्रमको कैलाली बारका अध्यक्ष प्रेम चन्दले उद्घाटन गरेका थिए । साहित्य समाजका कार्यवाहक अध्यक्ष तीर्थराज पाण्डेयको अध्यक्षतामा भएको कार्यक्रममा लेखक संघका अध्यक्ष गणेश नेपालीले धन्यवाद ज्ञापन गरेका थिए ।
सो अवसरमा प्रभाकर भण्डारी, वेदप्रसाद जोशी, लक्ष्मणदत्त भट्ट, भूवन चन्द, फणिन्द्र साउंद, तीर्थराज भट्ट, कान्छा आउजी, रत्ना बिष्ट, सुधा चाड, जयदेव जोशी दार्चुले, हेमराज मिश्र लगायतले गीत तथा गजल प्रस्तुत गरेका थिए ।
कार्यक्रमका वक्ताहरूले फ्रायडवादी मनोविश्लेषण विधा नेपाली साहित्यमा भित्र्याई वीपी कोईरालाले नेपाली साहित्यमा यथार्थवादीधारको नेतृत्व गरेको र मोतिराम भट्टले गजल विधा नेपाली साहित्यमा भित्र्याएको चर्चा गरे ।
साहित्य समाजका सदस्य एनके जोशीद्वारा सञ्चालित कार्यक्रममा उपाध्यक्ष रूपा स्वाँरले स्वागत गरेकी थिइन् ।
उता, कैलालीको जोशीपुर गाउँपालिकामा पनि वीपी जयन्ती मनाइएको छ । कार्यक्रममा सांसद बुद्धीसागर चौधरी, जोशीपुर गाउँपालिकाका अध्यक्ष रामकृष्ण चौधरी, काँग्रेस नेता वीरबहादुर हमाल, काँग्रेसका क्षेत्रीय सभापति जीवन श्रेष्ठ, टीकाराम महतो लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
बंशीराम वडायकको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन रामअवतार कठरियाले गरेका थिए ।
वीपी जयन्तीको अवसरमा कैलालीको लम्कीमा नेपाली काँग्रेस क्षेत्र नम्बर २ ले लम्कीमा रहेको लालरत्न अस्पतालका विरामी र बल्चौरमा बस्दै आएका बृद्धबृद्धाहरूलाई फलफूल वितरण गरेको छ ।
कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य मानबहादुर महतो, नेता कमलबहादुर शाह, जनकबहादुर बम, दलविर साउँद, क्षेत्रीय सभापति भक्तबहादुर थापा, पूर्व क्षेत्रीय सभापति देवानन्द जैशी, नगर सभापति रामबहादुर बिष्ट तथा नगर तथा क्षेत्रीय समितिका पदाधिकारी र सदस्य लगायतको सहभागिता रहेको थियो ।
त्यस्तै, नेपाल विद्यार्थी संघले लम्कीचुहा नगरपालिका वडा नम्बर १ को एकता शिविरका ५० जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ ।
नेपाली काँग्रेस महासमिति सदस्य कमलबहादुर शाह, क्षेत्रीय सभापति भक्तबहादुर थापा, नगर सभापति रामबहादुर बिष्ट, लम्की बहुमुखी क्याम्पस स्ववियु सभापति ललित जैशी लगायतले शैक्षिक सामग्री वितरण गरेका थिए ।
वीपी जन्मजयन्तीका अवसरमा वीपी विचार राष्ट्रिय समाज क्षेत्र नम्बर १, ले टीकापुरमा कार्यक्रम आयोजना गरेको छ । कार्यक्रम उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा समाजका केन्द्रीय सदस्य गोविन्दराज जोशीले नेपाली कांग्रेसले वीपीको विचार भुल्दै गएको चर्चा गरे ।
उनले वीपी कोइरालाका पाँच प्रतिशत विचार मात्रै अनशरण गरिएमा काँग्रेस पार्टी, लोकतन्त्र र मुलुकको भलो हुने विचार व्यक्त गरे ।
कार्यक्रममा पूर्व राज्यमन्त्री चन्द्रसिंह भट्टराईले नेपाली कांग्रेसमा एक अर्काप्रति अविश्वास बढ्दै गएको बताए । नेता भट्टराईले संख्या मात्रै ठूलो रहेको र पटक पटक निर्वाचन हार्दै आएको अवस्थामा नेताहरूले आत्मआलोचना गर्ने बानी बसाल्न जरुरी रहेको बताए ।
समाजका अध्यक्ष गोरखबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य डाक्टर रणबहादुर रावल, फकिरसिंह कडायत, धर्मराज न्यौपाने, पूर्व महासमिति सदस्य जंगबहादुर साउँद, क्षेत्रीय सभापति भुवनेश्वर अधिकारी, महाधिवेशन प्रतिनिधि गंगादेवी चौधरी, जिल्ला सहसचिव चिरञ्जीवी खनाल, अधिवक्ता चन्द्रभुषणसिंह स्वाँर लगायतले वीपीको विचारका बारेमा मन्तव्य व्यक्त गरेका थिए ।
त्यसैगरी, कार्यक्रममा प्राध्यापकहरू फणिन्द्रराज रेग्मी, हर्कबहादुर भण्डारी, धर्मराज विष्ट, वीरेन्द्र बहुमुखी क्याम्पसका स्ववियु सभापति धनञ्जय रिमाल लगायतले मन्तव्य व्यक्त गरे । नेत्र रावलले सञ्चालन गरेको कार्यक्रममा स्वागत चुडामणि रेग्मीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार