१० श्रावण २०८१, बिहीबार

टीकापुरमा कृषि क्याम्पस खुल्ने



काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालय सभाको छैटौं बैठकले कैलालीको टीकापुर, बाँकेको खजुरा र दैलेखको दुल्लुमा कृषि कलेज (आंगिक) तथा धादिङको खनियावासमा कृषि विज्ञान केन्द्रस्थापना गरी सञ्चालन गर्ने निर्णय गरेको छ ।
बुधबार काठमाडौंमा बसेको सभाले आर्थिक वर्ष २०७४/०७५ का लागि प्रस्तुत एक अर्ब ५६ करोड चार लाख ७२ हजार बजेट तथा कार्यक्रम पारित गर्नुका साथै विश्विद्यालयको आर्थिक प्रशासन नियमावली, २०६९ मा चौाथौ संशोधन सम्बन्धी प्रस्ताव समेत पारित गरेको विश्वविद्यालयका सहायक प्रशासक दिनेश अधिकारीले जानकारी दिए ।
विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले कृषि तथा वन विज्ञानको अध्ययन, अध्यापन, अनुसन्धान र प्रसार राष्ट्रिय आवश्यकता एवं प्राथमिकताको विषय भएको बताए ।
कृषिको आधुनिकीकरण गर्दै ग्रामीण समुदायको सामाजिक तथा आर्थिकस्तर उठाउन कृषि, वन, पशु, विज्ञान जस्ता क्षेत्रसँग सम्बन्धित विषयको एकीकृत रूपले अध्ययन, अध्यापन, अनुसन्धान गराई मुलुकभित्रै उच्चस्तरको प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले यस विश्वविद्यालयको स्थापना विसं २०६७ असार ३ गते भएको हो ।
विश्वविद्यालयमा कृषि, पशु र वन गरी तीन संकाय रहेका छन् । सबै संकायमा गरी कूल एक हजार ८ सय ८३ विद्यार्थीहरू अध्ययनरत छन् ।
बैठकमा विश्वविद्यालयका सहकुलपति उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले मुलुकको कृषि क्षेत्रको विकासमा यस विश्वविद्यालयको महत्त्वपूर्ण योगदान रहेको चर्चा गर्दै विश्वविद्यालय स्थापनाको उद्देश्यअनुरूप यसले प्रदान गर्ने अध्ययन, अध्यापन, अनुसन्धान र प्रसारको कार्यलाई प्रभावकारी रूपमा अघि बढाउन आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार