१० श्रावण २०८१, बिहीबार

मानव बेचबिखन रोक्न जागरुकता आवश्यक



धनगढी । मानव बेचविखन तथा ओसारपसार विरुद्धको ११ औं राष्ट्रिय दिवस मंगलबार धनगढीमा प्रभातफेरी र कोणसभा सहित मनाइएको छ ।
‘अबको गन्तव्य, मानव बेचबिखनको अन्त्य’ नाराका साथ मंगलबार बिहान धनगढीको चौराहबाट शुरु भएको प्रभातफेरी धनगढी उपमहानगरपालिका पुगेर समापन भएको थियो ।
धनगढी चौराहामा कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले ब्यानर पढेर प्रभातफेरिको उद्घाटन गरेका थिए ।
प्रभातफेरिपछि आयोजित कोणसभामा प्रमुख जिल्ला अधिकारी रिजालले मानव तस्करहरूले नयाँनयाँ जुक्ति प्रयोग गरेर मानव ओसारपसार तथा बेचबिखन कार्यलाई निरन्तरता दिइरहेकाले रोकथामका लागि समाजका सबै पक्ष जागरुक हुन आग्रह गरे ।
प्रमुख जिल्ला अधिकारी रिजालले मानव बेचविखन तथा ओसारपसार जस्ता अमानवीय कार्य रोक्न विभिन्न निकायबाट प्रयास जारी रहे पनि मानव तस्करहरूका गतिविधिले निरन्तरता पाइरहेको चर्चा गरे । ‘मानव तस्करहरूले आफ्नो कार्यशैलीमा परिवर्तन गर्दै मानव तस्करीलाई निरन्तरता दिइरहेको पाइएको छ’ उनले पछिल्लो समयमा वैदेशिक रोजगारको प्रलोभनमा तथा विवाहको नाटक गरेर मानव बेचबिखन कार्यमा बृद्धि आइरहेको बताए ।
सो अवसरमा धनगढी उपमहानगरपालिकाका उपप्रमुख सुशीला मिश्र (भट्ट) ले मानव बेचबिखन विरुद्ध सून्य सहनशीलता नीति आवश्य रहेको बताइन् ।
कोणसभापछि मानव बेचबिखन विरुद्धको ऐक्यवद्धता पत्रमा हस्ताक्षर संकलन गरिएको थियो ।
कार्यक्रमको सञ्चालन महिला बालबालिका कार्यलयका सूचना अधिकारी पुजा काफ्लेले गरेकी थिइन् भने कार्यालय प्रमुख सन्ध्या सिंहले स्वागत गरेकी थिइन् ।
प्रभातफेरीमा कैलालीका स्थानीय विकास अधिकारी केशवप्रसाद विमली, सीमा सुरक्षा कार्यालय कैलालीका सशस्त्र प्रहरी नायव उपरीक्षक प्रेमबहादुर रावल लगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार