दैवी प्रकोपबाट बर्सेनि जनधनको ठूलो क्षति
धनगढी । प्रदेश नम्बर ७ मा बर्सेनि दैवी प्रकोपका विभिन्न घटनाबाट जनधनको ठूलो क्षति हुने गरेको छ । प्रदेश नम्बर ७ मा प्रमुख रूपमा बाढी र पहिरोका कारण जनधनको व्यापक क्षति हुने गरेको तथ्यांकहरूले देखाएका छन् ।
राष्ट्रिय आपत्कालीन सूचना केन्द्रका अनुसार प्रदेश नम्बर ७ मा बाढी, पहिरो, आगलागी, हावाहुरी, चट्याङका घटनामा बर्सेनि जनधनको क्षति हुने गरेको छ ।
केन्द्रको अनलाईन पोर्टलमा उल्लेख भएअनुसार चालू आर्थिक वर्ष २०७४/७५ को हालसम्मको अवधिमा दैवी प्रकोपका ३९ घटनामा छ जनाले ज्यान गुमाएका छन् । दुई जना हालसम्म वेपत्ता भएका छन् भने १५ जना गम्भीर घाइते भएका छन् ।
दैवी प्रकोपबाट चालू आर्थिक वर्षको हालसम्म ३८ लाख ६४ हजार पाँच सय रुपैयाँ मूल्य बराबरको धनमाल क्षति भएको छ ।
सो अवधिमा बाढी र पहिरोबाट प्रदेश नम्बर ७ का विभिन्न जिल्लामा दुई हजार सात सय ७३ परिवार पीडित भएका छन् । १७ घर पूर्ण रूपमा क्षति भएका छन् । दुई हजार पाँच सय ६१ घरमा आंशिक रूपमा क्षति पुगेका छन् ।
चालू आर्थिक वर्षको हालसम्ममा दैवी प्रकोपबाट प्रदेश नम्बर ७ को अछाम जिल्लामा सबैभन्दा बढी क्षति भएको छ । राष्ट्रिय आपत्कालीन सूचजना केन्द्रको अनलाईन पोर्टलका अनुसार अछाममा चालू आर्थिक वर्षको हालसम्म दैवी प्रकोपका १५ घटनामा सात लाख ६४ हजार पाँच सय रुपैयाँ मूल्य बराबरको क्षति भएको छ ।
त्यस्तै, कैलालीमा ६ वटा दैवी प्रकोपका घटनामा पाँच लाख, कञ्चनपुरमा तीन वटा घटनामा एक लाख ४० हजार र डडेल्धुरामा तीन वटा घटनामा एक लाख २० हजार रुपैयाँ मूल्य बराबरको धनमालको क्षति भएको छ ।
दैवी प्रकोपबाट कैलालीमा सबैभन्दा बढी परिवार पीडित भएका छन् । बाढीबाट कैलालीमा दुई हजार सात सय ३१ घरपरिवार प्रभावित भएका छन् । आपत्कालीन सूचना केन्द्रका अनुसार कैलालीमा बाढीबाट एक घर पूर्ण रूपमा क्षति भएको छ भने दुई हजार पाँच सय ५० घरमा आंशिक रूपमा क्षति भएको छ ।
आर्थिक वर्ष २०७३/७४ मा प्रदेश नम्बर ७ मा भएका ९५ दैवी प्रकोप घटनामा दुई करोड ८२ लाख ५४ हजार रुपैयाँ मूल्य बराबरको धनमाल क्षति भएको थियो ।
सो आर्थिक वर्षमा प्रदेश नम्बर ७ मा दैवी प्रकोपका विभिन्न घटनामा १८ जनाले ज्यान गुमाएका छन् । त्यस्तै, एक जना वेपत्ता भएका र ८५ जना घाइते भएका थिए । गत आर्थिक वर्षमा दैवी प्रकोपबाट प्रदेश नम्बर ७ मा छ सय ८६ परिवार प्रभावित भएको उल्लेख छ । दैवी प्रकोपबाट यस प्रदेशमा ३६ घर पूर्ण र १९ घर आंशिक क्षति भएको थियो ।
त्यस्तै, आर्थिक वर्ष २०७२/७३ मा दैवी प्रकोपका विभिन्न घटनामा प्रदेश नम्बर ७ मा ११ करोड ३९ लाख १० हजार रुपैयाँ मूल्य बराबरको क्षति पुगेको थियो । सो आर्थिक वर्षमा एक सय ४२ वटा दैवी प्रकोपका घटनामा ३६ जनाले ज्यान गुमाएका थिए । ६ जना वेपत्ता भएका थिए भने ६० जना घाइते भएका थिए ।
सो आर्थिक वर्ष २०७२/७३ मा दैवी प्रकोपबाट ३ सय ५२ परिवार प्रभावित भएका थिए भने एक सय २३ घर पूर्ण र एक सय १४ घरमा आंशिक क्षति पुगेको उल्लेख छ ।