२२ बैशाख २०८१, शनिबार

सात नम्बर प्रदेश १५ दिनभित्र लोडसेडिङ मुक्त हुन्छ : उर्जामन्त्री शाही



धनगढी । उर्जामन्त्री महेन्द्रबहादुर शाहीले सात नम्बर प्रदेश १५ दिनभित्र पूर्णरूपमा लोडसेडिङ मुक्त क्षेत्र बनाउने गरेर काम भइरहेको बताएका छन् ।
सात नम्बर प्रदशेमा विजुलीको समस्या छैन केही ट्रान्समिटर आवश्यक छन्, केही साधनहरू पुराना भएकाले काम गरिरहेका छन् ती सबै समस्या समाधान गरेर १५ दिनमा यो क्षेत्रलाई लोडसेडिङ मुक्त क्षेत्र बनाउछौं, मन्त्री शाहीले शनिबार धनगढीमा अयोजित पत्रकार सम्मेलनमा भने, ‘लोडसेडिङसंगै लो भोल्टेज झन्झट पनि सकिने छ ।’
एक प्रश्नको जवाफमा उनले दार्चुलाको चमेलिया जलविद्युत आयोजनालाई हिउँदामा विजुली वितरण गर्ने गरेर बढीमा एक महिनामा काम सक्न निर्देशन दिएको र दिनहुँ कार्यप्रगति मन्त्रालयमा दिन भनिएको बताए । ‘पश्चिम सेती आयोजनाको चिनियाँ कम्पनीलाई सम्पर्कमा ल्याउन खोजिरहेका छौं’, उनले भने, ‘सम्पर्कमा आएन भने सरकारले नै बनाउने वा अर्को लगानीकर्ता खोज्ने बारे छलफल अघि बढ्छ ।’
यसअघि कम्प्युटर एशोसियसन संघ नेपाल (क्यान) कैलालीको छैटौं जिल्ला अधिवेशनको उद्घाटन गर्दे मन्त्री शाहीले सूचना र प्रविधि बुझ्न सक्ने क्षमता भएको व्यक्ति वा संगठनले सफलता पाउने चर्चा गरे । संसारसंग नेपाललाई जोड्न गणतन्त्र स्थापनापछि हातहातमा मोबाइल, घरघरमा इन्टरनेट भन्ने नाराका साथ सरकार अघि बढ्को चर्चा गर्दे त्यो लक्ष्य प्राप्ती भएको दावी गरे । सम्भावित समस्या समाधान गर्न मद्दत पुगाउने भएकोले हरेक मान्छे । सूचना प्रविधिसंग जोडिन आवश्यक रहेको चर्चा पनि उनले गरे ।
क्यान कैलालीले सूचना प्रविधि केन्द्र स्थापना गरेर देशभरलाई सन्देश दिने काम गर्नु पर्ने सुझाव पनि उनले दिए । सूचना प्रविधिका लागि उर्जा अनिवार्य भएकोले उर्जा समस्या समाधान गर्नकै लागि रुचीका साथ आफूले उर्जा मन्त्रालयको जिम्मेवारी लिएको बताउँदै उनले आफ्नो कार्यकालमा उर्जाका क्षेत्रमा स्मरणीय खालका काम गर्ने दावी गरे ।
उर्जा संकटबाट मात्र होइन हरेक समस्या समाधान गर्न कम्तिमा ५० वर्षपछिको अवस्था सम्झेर काम गर्न जरुरी रहेको बताउँदै मन्त्री शाहीले नेपाललाई उर्जामा आत्मनिर्भर हुन नदिन भइरहेका षड्यन्त्रलाई आफू निस्तेज पार्न सफल हुने पनि बताए । विद्युत चुहावट रोक्न पनि विशेष पहल गरिहेको जानकारी पनि सो अवसरमा उनले दिए ।
क्यानका अध्यक्ष धिरेन्द्र बोगटीको अध्यक्षतामा भएको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जाेशी, जिल्ला खेलकूद विकास समितिका अध्यक्ष दीपक सिंह, विद्युत प्राधिकरणका क्षेत्रीय प्रमुख तारा शर्मा, क्यानका केन्द्रीय सदस्य टेकराज पनेरू लगायतले अधिवेशन सफलताको शुभकामना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार