१० श्रावण २०८१, बिहीबार

प्रधानमन्त्रीद्वारा महाकाली चारलेन पुल शिलान्यास : भने– ‘पश्चिम नेपालको विकास अभियान शुरु भयो’



धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार महाकाली नदीमा निर्माणाधीन चारलेन पुलको शिलान्यास गरेका छन् ।
नेपालको पश्चिमी नाका कञ्चनपुरको महाकाली नदीमा चार लेनको पुल निर्माण र दोधारा चाँदनीमा निर्माण हुने सुख्खा बन्दरगाहले पश्चिम नेपालको विकासको ढोका खुल्ने प्रधानमन्त्री देउवाले विश्वास व्यक्त गरे । उनले भने– ‘यी दुई परियोजना पुरा भएपछि पश्चिम नेपालको मात्रै नभएर समग्र मुलुकको आर्थिक समृद्धिमा ठूलो टेवा पुग्ने छ ।’
प्रधानमन्त्री देउवाले चारलेनको पुल तथा सुख्खा बन्दरगाहका कारण भारतका औद्योगिक शहरसंग सिधा सम्पर्क हुने भएकाले मुलुकको आर्थिक विकासमा कोशेढुंगा सावित हुने चर्चा गरे । प्रधानमन्त्रीले विश्वास व्यक्त गरे– ‘लामो समयको प्रतीक्षा सकिएको छ, अब सुदूरपश्चिमवाट विकास अभियान सुरु भएको छ ।’
प्रधानमन्त्रीले गौरीफन्टा सीमानाकाको स्तरोन्नती गर्ने कार्य पनि छिट्टै शुरु हुने बताए । उनले छिमेकी राष्ट्र भारतसँग भएको समझदारीअनुरूप पञ्चेश्वर परियोजना, सुख्खा बन्दरगाह र गौरीफन्टा नाको स्तरोन्नती कार्य कार्यान्वयनमा आउने विश्वास व्यक्त गरे ।
चालू आर्थिक वर्षमा यो पुल निर्माणका लागि एक अर्ब रुपैयाँको बजेट विनियोजन भएको जनाइएको छ । तीन अर्बको लागतमा निर्माण हुने सो चार लेनको पुलको लम्बाई आठ सय मिटर हुने छ । सो पुलको निर्माण कार्य तीन वषभित्र पुरा गर्ने लक्ष्य राखिएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागको सडक सुधार आयोजनाद्वारा सो पुल निर्माण भइरहेको छ । सो पुल निर्माणका लागि गत वर्ष महेन्द्रनगरमा योजना कार्यालय उद्घाटन भइसकेको छ ।
यसैबीच, प्रधानमन्त्री देउवाले आसन्न प्रदेश र संघको निर्वाचनमा सहभागी बन्न सबैमा आग्रह गरेका छन् । प्रधानमन्त्रीले निर्वाचनले राजनैतिक स्थायित्व र संविधान कार्यान्वयनसंगै समृद्धिको बाटोमा देश अघि बढ्ने भएकोले यसलाई सफल बनाउन सबैको सहयोग र सहभागिताका लागि आह्वान गरे ।
‘अहिले निर्वाचन नै प्रमुख राजनैतिक मुद्दा हो’ बिहीबार धनगढी विमानस्थलमा पत्रकारहरूसंगको कुराकानीमा प्रधानमन्त्रीले भने– ‘निर्वाचन पछि देशमा राजनैतिक मुद्दाको समापन हुने छ र मुलुक तीब्र गतिमा आर्थिक विकासतर्फ अघि बढ्ने छ ।’
पत्रकारहरूको एक जिज्ञासामा नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले आसन्न प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनमा अरु दलसंग चुनावी तालमेलका लागि छलफल भइरहेको बताए । उनले भने– ‘सबै दलसंग संवाद भइरहेको छ, आवश्यकताअनुसार चुनावी तालमेल हुने छ ।’

भदाै १६ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार