१० श्रावण २०८१, बिहीबार

यातायात व्यवसायीहरूको गुनासो– बसपार्कमाथि एकाधिकार लादियो



धनगढी । विभिन्न यातायात व्यावसायी संघसंस्थाले धनगढी उपमहानगरपालिकामा रहेको बसपार्कमाथि सुदूरपश्चिमाञ्चल बस व्यावसायी समितिले एकाधिकार गरिरहेको गुनासो गरेका छन् । यातायात व्यावसायी समितिहरूले सरकारी स्वामित्वको बसपार्कको सबैले उपयोग गर्न पाउनुपर्ने भए पनि सुदूरपश्चिमाञ्चल बस व्यावसायी समितिले एकलौटी रूपमा उपभोग गरिरहेको आरोप लगाएका छन् ।
धनगढीमा हाल सुदूरपश्चिमाञ्चल बस व्यावसायी समिति, कर्णाली रिभरसाइट यातायात, मालिका यातायात, कैलाली यातायात सहित चार वटा समितिका यात्रुबाहक सवारी साधन सञ्चालनमा छन् । तर, उपमहानगरपालिकाको वडा नम्बर ४ मा रहेको बसपार्कमा सुदूरपश्चिम यातायातमा आवद्ध यात्रुबाहक बस मात्र राखिएको छ । त्यस्तै, सो बसपार्कमा सुदूरपश्चिम यातायातको टिकट काउन्टर मात्रै रहेको छ ।
‘देशका अन्य स्थानमा रहेका बसपार्क तथा कैलाली जिल्लाका समेत अन्य स्थानमा रहेका बसपार्कमा सबै यातायात व्यावसायी समितिमा आवद्ध यात्रुबाहक सवारी साधन तथा टिकट काउन्टर राख्न पाउने व्यवस्था गरिएको छ’ कर्णाली रिभर यातायात समितिका उद्दार उपाध्यक्ष योगेश मल्लले भने– ‘तर, कैलालीको धनगढीमा रहेको बसपार्कमा भने सुदूरपश्चिम बस व्यवसायी समितिले एकलौटी ढंगले प्रयोग गरिरहेको छ ।’ उपाध्यक्ष मल्लले सबै यातायात व्यवसायी समितिले सो बसपार्कमा सबै यातायात व्यावसायी समितिका बस तथा काउन्टर राख्न पाउने व्यवस्था मिलाउनु पर्ने माग गरे ।
उनले कर्णाली रिभर यातायात समितिले सो बसपार्कको उपयोग गर्न नपाउँदा समस्या भएको बताए ।
कैलाली यातायात व्यावसायी समितिका महासचिव सिद्धराज पनेरूले आफूहरूले बसपार्क उपयोग गर्न नपाउँदा सडकमै गाडी राख्नुपर्ने बाध्यता रहेको बताए । महासचिव पनेरूले सडकमा गाडी राखेर सवारी बोक्नुपर्ने अवस्था रहेकोले बसपार्क सबैको साझा बनाउन सम्वद्ध निकायले ध्यान दिन आग्रह गरे ।
सो बसपार्कको ठेक्का सुदूरपश्चिम बस व्यवसायी समितिले नभई व्यक्तिले लिएका छन् । ठेकदार दामोदर कठायतले ७५ लाख रुपैयाँमा बसपार्कको ठेक्का लिएका छन् ।
मालिका यातायात वस व्यवसायी समितिका महासचिव दिलबहादुर खलौलाले बसपार्क सानो भएकाले त्यसको व्यवस्थापन गर्न पनि माग गरे ।
धनगढीमा सुदूरपश्चिम यातायातको पाँच सय ५८, कर्णाली रिभर यातायातको दुई सय ५०, मालिका यातायातको ३६ र कैलाली यातायातको एक सय ५० वटा यात्रुबाहक गाडी सञ्चालनमा रहेका छन् ।
बुधबार धनगढीमा रहेका तीन वटा यातायात व्यावसायी समितिमा आवद्ध व्यावसायीहरूले धनगढी उपमहानगरपालिका प्रमुख (मेयर) नृपबहादुर वडसंग विकल्पका लागि छलफल गरेका थिए ।
उनीहरूको गुनासो सुने पश्चात धनगढी उपमहानगरपालिकाका नगर प्रमुख वडले यातायात व्यावसायीहरू अन्यायमा परेको आफूले महशुस गरेको बताउँदै छिट्टै बसपार्कमा सबैको काउन्टर राख्ने व्यवस्था गरिने बताए । उनले कानुनत: बसपार्क सबैले प्रयोग गर्न पाउने व्यवस्था रहेकाले आफूले सोही अनुसार पहल गर्ने बताए ।
उनले धनगढी उपमहानगरपालिकाले बसपार्कलाई व्यवस्थापन गर्ने कार्यलाई अघि बढाईसकेको पनि बताए ।

भदाै १५ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार