१० श्रावण २०८१, बिहीबार

चितुवा नियन्त्रण गर्न प्रहरी परिचालन



बैतडी । बैतडीको तल्लोसोराडमा चितुवाको आक्रमणबाट एक जनाको ज्यान गएपछि नियन्त्रणका लागि प्रहरी परिचालन गरिएको छ ।
नरभक्षी चितुवाले लगातार मानिसमाथि आक्रमण गर्न थालेपछि हतियारसहित १७ जना प्रहरीको टोली प्रभावित क्षेत्रमा परिचालन भएको छ ।
शनिबार इलाका प्रहरी कार्यालयबाट गएको टोलीले आक्रमण गर्ने चितुवाको खोजी सुरु गरेको प्रहरी निरीक्षक कमल विष्टले जानकारी दिए । ‘चितुवाले मानवबस्तीमा पसेर आक्रमण गर्न थालेपछि हातहतियारसहित १७ जनाको प्रहरी टोली खटाइएको छ’ उनले भने । प्रहरी सहायक निरीक्षक दशरथ भट्टराईको नेतृत्वमा प्रहरी परिचालन गरिएको उनले बताए ।
प्रहरीले स्थानीय तहसँग समन्वय गरेर नरभक्षी चितुवा मार्नका लागि प्रयास गरिरहेको छ । गत बिहीबार बिहान आफ्नै मकैबारीमा घाँस काटिरहेका बेला चितुवाले मेलौली नगरपालिका–९, असुरकी ४२ वर्षीया कुन्धादेवी भट्टलाई आक्रमण गरेपछि चितुवा मार्न प्रहरी खटाइएको हो ।
चितुवाले मानव वस्तीमा आतंक मच्चाउन थालेपछि स्थानीयवासीले सुरक्षाको माग गरेका थिए । गत वर्ष भदौमा पनि चितुवाले लगातार तल्लासोराडको उदयदेवमा दुई बालिकाको ज्यान लिएपछि १५ जना प्रहरी हतियारसहित परिचालन गरिएपनि चितुवा मार्न सकिएको थिएन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार