१० श्रावण २०८१, बिहीबार

खेलाडीहरूलाई राष्ट्र निर्माणमा जुट्न आह्वान



धनगढी । युवा तथा खेलकुद मन्त्री राजेन्द्रबहादुर केसी (राजन) ले खेलाडीहरूलाई राष्ट्र निर्माणमा जुट्न आह्वान गरेका छन् ।
‘तपाई खेलाडीहरू खेलकुद क्षेत्रका साथै राष्ट्र निर्माणमा पनि जुट्नुहोस्’ मंगलबार धनगढीमा राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघको पाँचौं महाधिवेशन उद्घाटन गर्दै खेलकुद मन्त्री केसीले भने– ‘खेलाडीको सानो योगदानले पनि राष्ट्रनिर्माणमा ठूलो सन्देश दिने गर्दछ ।’ मन्त्री केसीले बाटोघाटो, पुलकल्भर्ट, सरसफाई लगायतका कार्यमा पनि खेलाडीहरूले योगदान दिनु जरुरी रहेको बताए । उनले भने– ‘अब राजनीतिक आन्दोलनले निष्कर्ष पाइसकेकोले सबै राष्ट्रको समुन्नतीका लागि एकजुट हुनुपर्ने बेला आइसकेको छ ।’
मन्त्री केसीले खेलकुद क्षेत्रको विकास तथा खेलकुदमार्फत विश्वसामु राष्ट्रको शीर उचा बनाउन खेलाडीहरूले सधैं तल्लीन हुनुपर्ने बताए ।
उनले देश संघीय संरचनामा प्रवेश गरिसकेकोले प्रदेश तथा स्थानीय तहमा सोही अनुरूपको खेलकुद क्षेत्रको संरचना निर्माण प्रक्रिया शुरु भएको बताए । उनले भने– ‘स्थानीय तह अनुरूपको खेलकुद विधेयक तयार भइसकेको छ ।’
उनले मुलुकमा यति धेरै खेलाडी भए पनि खेल मैदान, स्टेडियम तथा भवन जीर्ण हुने गरेकोप्रति खिन्नता व्यक्त गरे । ‘यति धेरै खेलाडीहरू छन्, तर प्राय: खेल मैदान झारपात र फोहोरले भरिएको छन्, भवन जीर्ण अवस्था भेटिन्छ, सौचालय दूर्गन्धले भरिएको हुन्छ’ उनले प्रश्न गरे– ‘खेलाडीमा हुने स्वच्छता, ईमान्दारिता र सक्रियता के यही हो ?’ मन्त्री केसीले खेलमैदान र भौतिक संरचनाको संरक्षण गर्नमा ध्यान दिन खेलाडी, पदाधिकारी तथा कर्मचारीहरूलाई आग्रह गरे ।
मन्त्री केसीले संस्थालाई सम्मानित र मर्यादित बनाउन खेलकुद कर्मचारीहरूको पनि ठुलो भुमिका रहेकाले यस विषयमा वहस र छलफल गर्न आग्रह गरे । ‘खेलकुद विश्वमै सम्मानित संस्था हो’ उनले भने– ‘यस्तो सम्मानित संस्थामा अनुशासनहिन कुनै कर्मचारी, पदाधिकारी वा खेलाडीले उन्मुक्ति पाउने छैनन् ।’
कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार बिष्टले कर्मचारी र व्यवस्थापन पक्ष बीच असमझदारी नभए पनि कर्मचारीहरूलाई सन्तुलित तरिकाले परिचालन गर्न नसक्दा खेलकुद क्षेत्रमा सोचेजति सुधार आउन नसकेको चर्चा गरे । उनले कर्मचारीको माग, सुझाव र सल्लाहलाई सम्बोधन गर्दै परिषद्ले काम गर्ने बताए । उनले राखेपले कर्मचारी बढुवा प्रक्रिया अघि बढाईसकेको बताए ।
कार्यक्रममा नेपाली काँग्रेस कैलालीका जिल्ला सभापति नरनारायण शाह (मनु) ले खेलकुद नीतिलाई मन्त्रालयले अक्षरस: कार्यान्वयन गर्न सकेमा खेलकुद क्षेत्रमा ठूलो सुधार हुने बताए । ‘कर्मचारीले आफ्नो हकको मात्र माग गर्छन्, तर संस्थाको हितमा ध्यान दिदैनन्’ उनले सेवासुविधा र भौतिक संरचना मात्र खोज्ने सोचले खेलकुदमा विकृति फैलिएको बताए ।
संघका केन्द्रीय अध्यक्ष रञ्जन थापाको अध्यक्षतामा भएको कार्यक्रममा सुदूरपश्चिम खेलकुद विकास समितिका अध्यक्ष दीपक साउँद, कृषि विकास बैंक क्षेत्रीय कार्यालयका प्रवन्धक ध्रुवचन्द्र गौतम लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
संघका उपाध्यक्ष आशाराम चौधरीले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव फरेन्द्र पौडेलले गरेका थिए ।
मंगलबार शुरु भएको महाधिवेशनले आज (बुधबार) नयाँ कार्यसमितिको चयन गर्ने छ । कर्मचारी संघमा एक सय ३२ जना महाधिवेशन प्रतिनिधि रहेका छन् ।

राखेपको ५४ औं वार्षिकोत्सव
राष्ट्रिय खेलकुद परिषद्को ५४ औं वार्षिकोत्सव मंगलबार विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
सो अवसरमा सुदूरपश्चिम क्षेत्रीय खेलकुद विकास समितिको आयोजनामा धनगढीको ट्राफिक चौराहदेखि दशरथ रंगशाला (कर्भडहल) सम्म प्रभातफेरीको आयोजना गरियो । प्रभातफेरीमा खेलकुद खेलकुद विकास समितिका पदाधिकारी, कर्मचारी, प्रशिक्षक तथा खेलाडीहरूको सहभागिता रहेको थियो ।
प्रभातफेरीपछि आयोजित कार्यक्रममा युवा तथा खेलकुद मन्त्री राजेन्द्रबहादुर केसी (राजन) ले खेलकुदलाई जनस्तरमा पुुर्‍याउन ठोस कार्यक्रम लागू गरिने बताए । ‘राष्ट्रिय खेलकुद विकास समिति स्थापनाको ५४ वर्ष भइसकेको छ, तर सोचेजतिको सुधार हुन सकेको छैन’ उनले भने ।
क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष दीपक साउँदको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्ट, सुप क्षेत्रीय खेलकुद विकास समितिका सदस्य तेजेन्द्र थापा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कैलाली जिल्ला खेलकुद विकास समितिका जिल्ला अध्यक्ष दीपक सिंहले स्वागत गरेको कार्यक्रमको सञ्चालन प्रशिक्षक मेगराज कठायतले गरेका थिए ।
यस्तै वार्षिकोत्सवको अवसरमा समितिले रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । रक्तदान कार्यक्रममा १० जनाले रक्तदान गरेको जनाइएको छ ।

भदाै १४ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार