१० श्रावण २०८१, बिहीबार

उर्जामन्त्री शाहीबाट चमेलिया जलविद्युत निरीक्षण



दार्चुला । अनुमान लागतभन्दा दोब्बर बजेट तथा लामो समय लगाएर निर्माण भएको दार्चुलास्थित चमेलिया जलविद्युत आयोजनाको सोमबार उर्जामन्त्री महेन्द्रबहादुर शाहीले निरीक्षण गरेका छन् ।
आयोजना निर्माणस्थल दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर १, बलाच पुगेका उर्जामन्त्री शाहीले आयोजना प्रमुख अजय दाहाल र चिनीया कम्पनीका प्रतिनिधिहरूसँग आयोजनाको पछिल्लो प्रगति विवरणबारे जानकारी लिएका थिए ।
स्थलगत निरीक्षणमा उर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहितको सहभागिता रहेको थियो ।
आयोजनाको निर्माण कार्य दुई महिना अघि लगभग पुरा भइसकेको जनाइएको छ । दुुई महिना अगाडि ड्याम र डिसेन्डिङ बेसिन परीक्षण गरेको आयोजनाल पाँच वटा गेटसमेत परीक्षण गरिसकेको जनाएको छ । आयोजना प्रमुख दाहालले हालै ड्यामको अधिकतम संचय क्षमताको समेत परीक्षण गरिएको उर्जामन्त्री शाहीलाई जानकारी दिए । आयोजना प्रमुख दाहालका अनुसार ८८ मिटर उचाइसम्म ड्यामको पानी संचय गर्ने क्षमताको परीक्षण र १ नम्बर टनेल बन्द गर्ने काम पूरा भएको बताए ।
अहिले आयोजनाले २ नम्बर टनेल बन्द गर्ने र ३ नम्बर टनेलको गेट निर्माण गर्ने काम गरिरहेको छ । त्यस्तै, पोलहरूको ड्राइटेन्स गरिएको तथा सेप्टेम्बर ३ बाट चमेलिया र अत्तरिया सबस्टेसन, पावर हाउसका मेसिन र लाइनहरूको परीक्षण गर्न बाँकी रहेको उनले बताए ।
आयोजना प्रमुख दाहालले यी सबै परीक्षणका साथै प्रसारण लाइनमा रहेका झण्डै तीन सय रुखको कटानपछि दशैं लगत्तै विद्युत प्रसारण परीक्षण गरिने बताए । प्रसारण लाइन क्षेत्रमा कटान गर्नु पर्ने एक हजार नौ सय रुखमध्ये हालसम्म एक हजार छ सय रुख काटिएको छ ।
सन् २०११ को डिसेम्बरमा निर्माण पुरा गर्ने लक्ष्यसहित सन् २००७ मा निर्माण थालिएको चमेलिया आयोजनाको सबै निर्माण कार्य ६ वर्ष ढिलोगरी आगामी डिसेम्बरमा पुरा हुँदैछ । ३० मेगाबाट विद्युत उत्पादन क्षमताको यो आयोजना सुदूरपश्चिमकै अहिलेसम्मको सबैभन्दा ठूलो आयोजना हो ।

भदाै १३ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार