१० श्रावण २०८१, बिहीबार

एचआइभी संक्रमितहरूद्वारा खाद्य सुरक्षाको माग



भदाै ९ गते (epaper)

बाजुरा । बाजुरा जिल्लाका एचआइभी संक्रमितहरूले खाद्य सुरक्षाको माग गर्दै राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी गरेका छन् ।
एचआइभी संक्रमितहरूले आफूहरूको बाँच्न पाउने अधिकारको ग्यारेन्टी गरिदिन राष्ट्रिय मानवअअिधकार आयोग क्षेत्रीय कार्यालय, धनगढीमा उजुरी दिएको संक्रमित महिला मीना विकले बताइन् ।
उनले मानवअधिकार आयोगको क्षेत्रीय कार्यालयमा प्रस्तुत गरेको उजुरीमा खाद्य सुरक्षाको ग्यारेन्टी गर्न सरकारको ध्यानाकर्षण गर्न माग गरिएको छ ।
उजुरीमा एचआइभी संक्रमितले सेवन गर्नुपर्ने एआरभी औषधिसंगै पौष्टिक आहारको उचित व्यवस्था हुनुपर्ने र एचआइभी संक्रमितहरूका लागि पोषण भत्ताको व्यवस्था हुनुपर्ने माग गरिएको छ ।
त्यस्तै, संक्रमितहरूले बालबालिकाको शिक्षा, गाँस, बास र कपासको ग्यारेन्टी गर्न र बाजुरा जिल्लामा सिडिफोर काउन्ट मेसिनको व्यवस्था गरिदिन माग गरिएको छ ।
त्यस्तै, एचआइभी संक्रमितहरूका लागि आयआर्जन र रोजगारमूलक कार्यक्रमको व्यवस्थाका लागि पहल गरिदिन मानवअधिकार आयोगसँग आग्रह गरेका छन् ।
उनीहरूले एचआइभी संक्रमितहरूको अवस्थाबारे जानकारी संकलन गर्न मानवअधिकार आयोगलाई स्थलगत अध्ययन गरिदिन पनि अनुरोध गरेका छन् ।
एचआइभी संक्रमित जला रावलले भनिन्– ‘राम्ररी खाना नपाएमा शरीरमा रगतको मात्रा कमी हुने र मृत्युको मुखमा पुग्ने भएकाले पौष्टिक आहारको व्यवस्था गर्न माग गरेका छौं ।’
राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालयका प्रमुख दीपक जंगध्वज कार्कीले एचआइभी संक्रमितहरूको अवस्था अध्ययन गरेर उनीहरूका समस्या तथा सवाल सम्बोधनका लागि केन्द्रीय तथा स्थानीय सरकारलाई सिफारिस गरिने बताए ।
उनले एचआइभी संक्रमितहरूले उठाएको बाच्न पाउने अधिकारबाट बञ्चितिकरण तथा खाद्य सुरक्षाको सवाल महत्त्वपूर्ण रहेको बताए ।
बाजुरा जिल्लामा एक सय पाँच जना एचआइभी संक्रमितहरू रहेको बाजुरा प्लस नामक संस्थाले जनाएको छ ।
एचआइभी संक्रमित अम्मर शाहले गत वर्ष तत्कालीन स्वास्थ्यमन्त्री गगन थापालाई आफूहरूको अवस्था तथा समस्याबारे जानकारी गराइएको बताए ।
गत वर्ष फियान नेपाल नामक संस्थाको पहलमा एचआइभी संक्रमितहरूको एक प्रतिनिधिमण्डलले तत्कालीन स्वास्थ्य मन्त्री थापालाई मागपत्र बुझाएको थियो । संस्थाका प्रमुख अशोक सिंहले बाजुरामा एचआइभी संक्रमितहरूको खाद्य सुरक्षाको अवस्था निकै कमजोर रहेको बताए ।
२०६९ माघसम्म स्वास्थ्य मन्त्रालय, बाल स्वास्थ्य महाशाखाले एचआइभी संक्रमितहरूलाई औषधिका साथै पौष्टिक आहार प्रदान गर्ने गरेको थियो । संक्रमित लक्ष्मी साउँदका अनुसार सरकारले सो सुविधा बन्द गरेपछि एआरटी सेवन गर्ने संक्रमितको स्वास्थ्य अवस्था कमजोर हुँदै गएको छ ।
औषधिसँग कुनै पोषण युक्त खानेकुरा नहुँदा उनीहरूमा पोषणको समस्या हुँदै आएको बाह्रविस स्वास्थ्य चौकीका ईञ्चार्ज कुलबहादुर रावलले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार