सशस्त्र प्रहरीको हत्या विरोधमा बन्द
कञ्चनपुर । सशस्त्र प्रहरी बलका जवान नरेन्द्र कुँवरको हत्याको विरोधमा स्थानीयले बिहीबार महेन्द्रनगर बजार बन्द गराएका छन् । प्रहरीमाथि अपराधी हावी भएको भन्दै स्थानीयले घटनाको विरोधस्वरूप बजार र यातायात बन्द गराएका हुन् ।
स्थानीयले बिहीबार बिहान १० बजेदेखि महेन्द्रनगरको भानु चोक, मदन चोकलगायतका विभिन्न चोक चौतारामा टायर बालेर यातायात र बजार बन्द गराएका छन् ।
टायर बालेर स्थानीयले बजार र यातायात बन्द गराएपछि महेन्द्रनगरदेखि विभिन्न स्थानका लागि जाने यातायातका साधन सञ्चालन हुन सकेका छैनन् ।
हत्याराको पहिचान गरी सार्वजनिक गर्न र हदैसम्मको सजाय दिलाउन माग गर्दै स्थानीय प्रदर्शनमा उत्रिएका हुन् । महेन्द्रगरका स्थानीय शंकर भट्टले पछिल्ला दिनमा प्रहरीले प्रशासनको लापरबाहीका कारण हत्याका घटना बढेको बताए ।
बिहानै प्रहरीको हत्या भएपछि तीजको खुसियालीमा रमाउनुपर्ने महेन्द्रनगर शोकमा डुबेको छ । राजस्व तथा भन्सार सुरक्षा गुल्म गड्डाचौकीमा कार्यरत कुँवरलाई अज्ञात समूहले घर जाने क्रममा बुधबार राति हत्या गरेको हो । हत्याराले कुँवरको साथमा रहेको दुई तोलाको सुनको सिग्रीसमेत लुटेर लगेका छन् ।
कञ्चनपुर प्रहरीका अनुसार कुँवरले ड्युटी सकेर घर जाने क्रममा राति महेन्द्रगरको न्यू संगम होटेल एन्ड लजमा नास्ता खाएका थिए । होटेलमा विवाद भएकोसमेत प्रहरीले जनाएको छ ।
प्रहरीले पाँचजना शंस्कापद व्यक्तिलाई पक्राउ गरेको छ । मृतक कुँवरकै साथी सशस्त्र प्रहरी बलका अर्का कर्मचारी भानु विष्ट, होटेल सञ्चालक तरुण अवस्थी, दुई युवक र एक बालकलाई पक्राउ गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ ।
युवती र बालकको नाम सार्वजनिक गरिएको छैन । कुँवरले चढेको म२प ६२३ नम्बरको मोटरसाइकल पनि नहर किनारमा सकुसल भेटिएको थियो । पीडित परिवारले दोषि सार्वजनिक नहुन्जेलसम्म लास नउठाउने जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रकाशबहादुर चन्दले घटनाको शुक्ष्म अनुसन्धान भइरहेको बताए ।