१० श्रावण २०८१, बिहीबार

बाढीपीडितलाई राहत र उद्दारमा कुनै कसर बाँकी नराखौं : प्रधानमन्त्री



धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपीडितलाई राहत र उद्दारमा कुनै कसर बाँकी नराख्ने बताएका छन् ।
‘बाढीबाट विस्थापित भएका पीडितहरू राहत नपाएर मर्नु हुँदैन्’ प्रधानमन्त्री देउवाले जनप्रतिनिधि, सुरक्षा निकायका उच्च अधिकारीलाई निर्देशन दिँदै भने, ‘राहत नपाएका पीडितहरूलाई यथाशिघ्र राहत वितरण गर्नुहोस् । तपाईहरूलाई आवश्यक पर्ने कुराहरू सरकारसंग माग गर्नुहोस् सरकार दिन तयार छ तर, एक पनि सर्वसाधारणले पीडा पाउनु हुँदैन् ।’ उनले विस्थापित परिवारहरूको जनधनको क्षतिको उचित राहत सरकारले उपलब्ध गराउने बताए । उनले बाढीपीडितहरूलाई नआत्तिन पनि आग्रह गरे ।
बिहीबार कैलालीको बाढी प्रभावित क्षेत्रको अवलोकन तथा भ्रमण गर्न टीकापुर पुगेका प्रधानमन्त्री देउवाले राहातको लागि तत्काल खाद्यान्न, कपडा र पालहरूको व्यवस्था गरेकाले, कसैले भोक्कै रहनु पर्ने अवस्था नरहेको बताए । बाढीबाट विस्थापित भएकाहरूलाई त्रिपाल हालेर बस्ने ठाउँ दिइने बताउँदै उनले बाढी पीडितको राहत र उद्दारमा सक्रिय सबैलाई धन्यवाद समेत व्यक्त गरे । देउवाले कुन क्षेत्रमा बाढीले कति प्रभाव पारेको छ त्यसको यथार्थ विवरण यथाशिघ्र तयार पार्न पनि निर्देशन दिए ।
हेलिकप्टरमा आएका प्रधानमन्त्रीले टीकापुर हवाई मैदानबाटै प्रभावित क्षेत्रको जानकारी लिएर फिर्ता भएका थिए । उनले हवाई मैदानमै पार्टी कार्यकर्ता, जनप्रतिनिधि र सुरक्षा निकायका प्रमुखसंग भेटेर बाढी प्रभावित क्षेत्रको जानकारी लिएका थिए । बाढीपीडितका तर्फबाट टीकापुर नगरपालिकाका मेयर तपेन्द्र रावलले प्रम देउवालाई टीकापुर, भजनी, जानकी गाउँपालिकामा भएको क्षतिबारे जानकारी दिएका थिए । मेयरले स्वास्थ्य समस्या देखिएकोले सबै वडामा स्वास्थ्यकर्मी परिचालन भएको जानकारी दिए ।
अस्थायी शिविरमा बसिरहेकालाई स्वास्थ्यकर्मी र औषधिको व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । अहिले पनि दुई हजार एक सय परिवार विस्थापित भएको जिल्ला प्रशासन कार्यालय कैलालीका निमित्त प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए ।
प्रम देउवाले प्रभावित क्षेत्रको सरोकारवालाहरूसंग जानकारी लिएपछि हेलिकप्टरबाट बाढी प्रभावित क्षेत्रको हवाई निरीक्षण गरेका थिए । प्रधानमन्त्री देउवाले नेपाली सेनाको हेलिकप्टर मार्फत कैलाली बाँके, बर्दिया, र दाङमा बाढीले प्रभाव पारेका क्षेत्रको निरीक्षण गरेका हुन् । प्रधानमन्त्री देउवासँगै सिंचाईं मन्त्री सञ्जयकुमार गौतम पनि आएका थिए ।
गृहमन्त्रालयको अनलाईन पोर्टल अनुसार यस कैलाली जिल्लामा सरकारले तीन सय ८२ त्रिपाल, ५० कम्बल, एक सय ४० झुल, १२ दशमलब ५ क्विन्टल चामल, एक सय ५० केजी दाल, एक हजार १४ केजी चिउरा, ३८ केजी भुजीया र एक सय प्याकेट विस्कुट वितरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार