१० श्रावण २०८१, बिहीबार

पुनर्वासमा हात्ती आतंक



कञ्चनपुर । कञ्चनपुर जिल्लाको पुनर्वासमा जंगली हात्तीको एक बथानले आतंक मच्याएको छ । सीमावर्ती भारतीय दुधवा नेसनल पार्कबाट आएका जंगली हात्तीले पुनर्वास नगरपालिका वडा नम्बर ६, सुकुम्बासी डाँडामा तीन घर भत्काएका छन् ।
स्थानीयका अनुसार जंगली हात्तीको बथानले ठूलो परिमाणमा अन्नबालीमा क्षति पुर्‍याएका छन् । मंगलबार मध्य राति आएका जंगली हात्तीले स्थानीय हरिकला कामी, पूर्णमाया विक र दिनेश विकको घर भत्काएका छन् । जंगली हात्तीको बथानले हरिकलाको घर भत्काउनुका साथै भाँडाकुँडा, अन्नपात तथा कपडामा पनि क्षति पुर्‍याएका छन् ।
त्यस्तै, पूर्णमायाको घर र पाँच कठ्ठामा लगाएको धानबाली र यमप्रसाद पनेरूको दश कठ्ठा, रेशमबहादुर गुरुङको दश कठ्ठा तथा मोहनकुमारी श्रेष्ठको दश कठ्ठामा लगाएको धानबाली तथा मकैबालीमा क्षति पुर्‍याएको छ ।
त्यस्तै, मीनबहादुर गुरुङको पाँच कठ्ठा तथा मनिषा जोशीको पाँच कठ्ठामा पाक्न लागेको मकैखेतीमा क्षति पुर्‍याएको छ ।
त्यस्तै, फूलमाया जैशी, लालवीर दुनुवार, कृष्णा महतरा र शुक्रबहादुर विकको धान तथा मकैबाली पनि हात्तीले नोक्सान गरेको छ ।
स्थानीयका अनुसार गत वर्ष पनि जंगली हात्तीको बथानले सयौं बिघा जमिनमा लगाइएको अन्नबाली नोक्सान गरेको थियो । पुनर्वासमा बर्सेनि जंगली हात्तीको आतंक हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार