१० श्रावण २०८१, बिहीबार

बाढीबाट बझाङमा व्यापक क्षति



बझाङ । बझाङको दुर्गाथली गाउँपालिका वडा नम्बर ५, गिर्कु र बाईकाट्ने गाउँमा आइतबार राति आएको बाढीले व्यापक क्षति पुर्‍याएको छ ।
गाउँको बीचमा रहेको खोलामा बाढी आउँदा एक आधुनिक घट्टसहित १२ वटा पानीघट्ट तथा चार भैसीगोठ बगेका छन् । स्थानीय सुरेन्द्र जप्रेलका अनुसार बाढीका कारण भूवनेश्वरी प्राथमिक विद्यालय भवन जोखिममा परेको छ । भिरालो डाँडाबाट गाउँमा बाढी पसेपछि ५० घरपरिवार विस्थापित हुने अवस्थामा पुगेका छन् । बाढीले गिर्कु र बाईकाट्ने गाउँमा सिंचाईको कुलो र सडक पनि बिग्रेको छ ।
त्यस्तै, छविस पाथीभेरा गाउँपालिका वडा नम्बर ७ लेखगाउँ खोरीमा पनि खोरीगाडमा बाढी आएर स्थानीय नहकुल बोहराको घरमा क्षति पुगेको छ ।
खोरीमा चारवटा गाईगोठ पुरिएका छन् । खोरीगाडमा आएको बाढीले अन्य पाँच भरमा पनि क्षति पुगेको स्थानीयले बताए ।
बझाङमा अविरल वर्षाका कारण केही दिनअघि खप्तडछान्ना गाउँपालिकामा एक जनाको ज्यान गएको थियो । खोलाले घर, भैसीगोठ पानीघट्ट, धान रोपेका खेत साथै २०/२५ घरहरूमा क्षति पुगेको जानकारी भएको जिल्ला प्रशासन कार्यालय जनाएको छ । अविरल वर्षाले पहिरो आएर अवरुद्ध भएको जयपृथ्वी राजमार्ग सोमबारवाट सुचारु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार