१० श्रावण २०८१, बिहीबार

सीमावर्ती भारतीय क्षेत्रमा १७ को मृत्यु



दार्चुला । भारतको उत्तराखण्डस्थित मलपामा भीषण वर्षाका कारण आएको बाढीपहिरोबाट कम्तिमा १७ जनाको मृत्यु भएको छ । यो प्राकृतिक विपत्तिमा ५ भारतीय सेनासहित कम्तिमा ११ जना बेपत्ता भएका छन् ।
दार्चुलाको सीमावर्ती बजार धारचुलाबाट झण्डै ८ किलोमिटर टाढा कैलश मानसरोवर मार्गनजिक मालपा क्षेत्रमा नेपाली समय अनुसार बिहान ३ बजे घटना भएको हो । दिउँसोसम्म १७ जनाको शव फेला परिसकेको छ । अझै बाढीपहिरोमा मानिसहरू पुरिएको हुनसक्ने अनुमान गरिएको छ ।
महाकाली नदी किनारको नेपाली भूमितर्फ घाइते अवस्थामा एक महिला फेला परेकी छन् । पहिरोमा पुरिएका सैनिक जेसिओ र २ जवानको भने सकुशल उद्धार गरिएको छ । मालपा खोलामा आएको बाढीले ३ वटा होटेल बगाएको छ । घटनामा दर्जनौ स्थानीयसहित २ जना जवान सेना घाइते भएका छन् ।
त्यस्तै, भारतको पिथौरागढदेखि एक सय ४५ किलोमटिर दूरीमा रहेको महाकाली नदी किनारमा रहेको भारतीय सुरक्षाको क्याम्पमा समेत पहिरो खसेको भारतीय अनलाइन पत्रिका दैनिक जारणले लेखेको छ । उक्त क्षेत्रका सयौं घर विस्थापित हुनुका साथै हजारौं स्थानीयको विचल्ली भएको छ ।
त्यस्तै, मांगती र सीमखोलाको मोटरेबल पुल समेत खोलाले बगाएको छ । भारतीय सेनाको ३ ट्रक सामानसहित ४ वटा गाडीसहित सेनाका खच्चरहरू समेत बगाएको छ । त्यस्तै, सीमावर्ती बजार धारचुलादेखि ८ किलोमिटरमा रहेको ऐलागाड राजमार्ग अबरुद्ध हुनाको साथै पांगला–मालपा सडकखण्ड अन्तर्गत विभिन्न ठाउँमा पहिरो गएकाले आवतजावत बन्द भएको छ ।
मानसरोवर जाने मार्गको ५० मिटर भन्दा बढी खण्ड बाढीले बगाएको छ । उद्धारकार्य जारी रहेको छ । महाकाली नदीमा पानीको बहाव खताराको सूचक भन्दा माथि पुगेकाले खतराको संकेत गरिएको छ ।
यसअघि सन् १९९८ अगस्ट १७ को राति भीषण बाढी पहिरोले ६० जना कैलाश मानसरोवर दर्शनार्थी, आइटीबीपी पुलिस जवानसहित २ सय ६० जनाको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार