४ जेष्ठ २०८१, शुक्रबार

बाढीको ताण्डव : कैलालीमा एक बालिकाको मृत्यु, पूर्वी तथा दक्षिणी क्षेत्र डुबानको चपेटामा



धनगढी । तीन दिनदेखिको लगातारको वर्षाबाट कैलालीका पूर्वी, मध्य तथा दक्षिणी क्षेत्र अत्यधिक प्रभावित भएको छ । बाढीमा डुबेर कैलालीमा आइतबार दिउँसो एक बालिकाको मृत्यु भएको छ । भजनीमा एक जना वेपत्ता भएका छन् । बाढीका कारण कैलालीको भजनी, टीकापुर र लम्कीचुहा नगरपालिका तथा जोशीपुर, जानकी गाउँपालिका लगायतका क्षेत्र अत्यधिक डुबानको चपेटामा परेका छन् ।
टीकापुर इलाका प्रहरी कार्यालयका अनुसार टीकापुर नगरपालिका वडा नम्बर ९, खक्रौलाका लाजुराम चौधरीकी सात वर्षीया सिर्जनाको आइतबार दिउँसो डुबेर मृत्यु भएको छ ।
घरायसी सामान किनमेलका लागि खक्रौला बजार जाने क्रममा कल्भर्ट पार गर्दैगर्दा बालिका सिर्जना चिप्लिएर नालामा खसेको प्रहरीले जनाएको छ । उनको शव आधा घन्टापछि बरामद भएको थियो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी अर्जुन चन्द ठकुरीका अनुसार भजनी नगरपालिकाको गन्जवामा एक जना पुरुष नदीमा डुबेर वेपत्ता भएका छन् ।
पथरैया नदीमा नुहाउन गएका ५५ वर्षीय मानबहादुर गुरुङ आइतबार दिउँसोदेखि डुबेर बेपत्ता भएका छन् । उनको खोजी कार्य भइरहेको एसपी चन्द ठकुरीले जानकारी दिए ।
बाढीबाट कैलालीमा सबैभन्दा बढी भजनी नगरपालिका प्रभावित भएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार भजनीमा तीन हजार बढी घरहरू डुबानमा परेका छन् ।
त्यस्तै, टीकापुर नगरपालिकामा पाँच सय बढी घर डुवानमा परेका छन् । जानकी गाउँपालिका तथा जोशीपुर गाउँपालिकामा सयौं घर डुबानमा परेका छन् ।
जिल्ला प्रशासन कार्यालय कैलालीका निमित्त प्रमुख जिल्ला अधिकारी मोहन जोशीका अनुसार भजनी नगरपालिकाको वडा नम्बर २, ३ र ८ का चार सय जनालाई उद्दार गरी हुलाकी राजमार्गको अग्लो ठाउँमा सारिएको छ ।
बाढीपीडित परिवारलाई भजनी नगरपालिका, नेपाल रेडक्रस र नेपाल प्रहरीको सक्रियतामा त्रिपाल तथा चिउरा, पानी, चाउचाउ वितरण गरिएको जनाइएको छ ।
इलाका प्रहरी भजनी कार्यालयका इञ्चार्ज प्रहरी निरीक्षक नेत्र बोहराका अनुसार वर्षा नथामिएकोले बाढी पीडितहरूलाई आइतबार राति सडकमा सुरक्षित बासको व्यवस्था मिलाइएको छ ।
प्रहरी निरीक्षक बोहराले भजनीमा पाँच हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको बताए । भजनीमा बाढीबाट हजारौं मानिस प्रभावित भएपछि आइतबारदेखि नै विभिन्न संघसंस्था राहत सामग्रीसहित त्यहाँ पुग्ने क्रम जारी रहेको बताइएको छ ।
स्थानीयले भने अहिलेसम्म बाढीपीडितलाई कुनै राहत वितरण नभएको गुनासो गरेका छन् । भजनीका काँडा, सोनाफाँटा, वनडुवा, दैलेखिटोल, भजनी नगरपालिका वडा नम्बर ३ र ८ बढी प्रभावित भएका छन् । काँडा नदीको भँगालो फुटेर अत्याधिक मात्रामा बालीनालीमा क्षति भएको छ ।
भजनी थापापुरका विजयराज श्रेष्ठका अनुसार नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी टोली परिचलन भएको छ । त्यस्तै, नेपाली काँग्रेस क्षेत्र नम्बर ३ ले बाढी पीडितको उद्दारका लागि कार्यकर्ता परिचालन गरेको छ । बाढी पीडितलाई सुरक्षित स्थानमा सार्न खटिएका काँग्रेसका क्षेत्रीय सभापति जीवन श्रेष्ठले हुलाकी सडकमा सारिएका हजारौं बाढीपीडितलाई रातिको समयमा खानेपानी पुर्‍याउन तथा सुरक्षित ढंगले रात बिताउन समस्या भएको बताए ।
जिल्ला प्रहरी कार्यालय, कैलालीका सञ्चार शाखाका प्रहरी सहायक निरीक्षक अर्जुन चौहानका अनुसार कैलालीमा बाढीका कारण भौतिक क्षति बढी भएको छ । उनका अनुसार बाढी प्रभावित क्षेत्रमा उद्धार टोलीहरू परिचालित भइसकेका छन् ।
शनिबार साँझदेखि परेको अविरल वर्षापछि कैलालीको कर्णाली, पथरैया, कुलरिया, कान्द्रा, मोहना, काँडा लगायतका नदीमा बाढी आएपछि आसपासका गाउँवस्ती डुबानमा पर्ने क्रम जारी छ ।
टीकापुर नगरपालिकाका अधिकांश स्थान डुवानमा परेका छन् । डुवानका कारण टीकापुरको ब्लक नम्बर १०, ११, १३, १४, १७, १८, १९, २०, २१ र ब्लक नम्बर बीसको केही भाग डुबानमा परेका छन् ।
बाढीका कारण टीकापुर अस्पताल क्षेत्र डुबानमा परेको छ । त्यस्तै, वडा नम्बर २ का विभिन्न ठाउँ र वडा नम्बर ५ को साइपुर, सिम्रेनी, वडा नम्बर ६ को प्रसेनी, भर्तापुर र वडा नम्बर ७ को ढुंगानाटोल, बैदी लगायतका ठाउँ जलमग्न भएका स्थानीयले बताएका छन् ।
प्रहरीले बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार टोली परिचालन गरिएकोले मानवीय क्षति हुन नपाएको बताएको छ । बाढीका कारण टीकापुरका अधिकांस क्षेत्र जलमग्न भएपछि सम्पूर्ण विद्यालय बन्द भएका छन् । प्रहरीले वर्षा जारी रहेकोले सुरक्षित स्थानमा बस्न नागरिकलाई अपिल गरेको छ । प्रहरीले सूचना आदान प्रदानको माध्यम मोवाइल फोनलाई सुरक्षित राख्न, अतिरञ्जीत सूचना नदिन र सुरक्षित स्थानतर्फ ओत लागेर बस्न नागरिकलाई आग्रह गरेको छ ।
वर्षा मापन केन्द्र कर्णाली चिसापानीमा आइतबारसम्म ११३.३ मिलीमिटर वर्षा मापन भएको छ । कर्णाली चिसापानीमा पानीको वहाव घटेको छ । वर्षा मापन केन्द्र चिसापानीकी गेजरिडर पार्वती गुरुङका अनुसार मध्यान्ह १२ बजे ८.९७ मिटर पुगेको कर्णालीको पानीको वहाव दिउँसो २ बजे घटेर ८.९० मिटर पुगेको छ ।
कर्णालीमा १० मिटरमाथि पानीको वहाव भएपछि तटीय क्षेत्रका लागि खतरा मानिन्छ । जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय अत्तरियामा भने २७.१६ मिलिमिटर वर्षा मापन भएको कार्यालयले जानकारी दिएको छ ।
यसैबीच, वर्षाले टीकापुर र भजनी क्षेत्रमा असर गरेपछि विभिन्न संघ/संस्थाहरू राहत वितरणका लागि त्यहाँ पुगेका छन् ।
आइतबारनै राहत लिएर भजनीमा फायाको टोली परिचालन भएको छ । फायाले म्याट्रेस १०० थान, चिउरा २०० केजी, चाउचाउ ३०० पाकेट, त्रिपाल ५० थान, हाईजिन किट १०० सेट, पानी शुद्धिकरण गर्ने ट्यावलेट दुई कार्टुन भजनी नगरपालिकालाई हस्तान्तरण गरेको फाया नेपालका अध्यक्ष शेरबहादुर बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार