२० बैशाख २०८१, बिहीबार

जिसस कैलालीमा एमाले फोरमबीच तालमेल, बाजुरामा काँग्रेसको प्यानल निर्विरोध




धनगढी । 
जिल्ला समन्वय समिति कैलालीमा नेकपा (एमाले) र नेपाल लोकतान्त्रिक फोरमको संयुक्त प्यानल निर्विरोध विजय भएको छ । मुख्य निर्वाचन अधिकृत धनसिंह महराका अनुसार दुई दलको संयुक्त प्यानल बाहेक कुनै पनि दलबाट उम्मेदवारी नपरेपछि निर्विरोध विजय भएको हुन् ।

जिल्ला समन्वय समिति प्रमुखमा सूर्यबहादुर थापा, उपप्रमुखमा सुन्दरीदेवी थारू रहेका छन् । त्यस्तै, खुला सदस्यहरूमा लल्ते साउँद, टेकबहादुर बुढा, बिष्णुप्रसाद डंगौरा निर्विरोध विजय चयन भएका छन् । त्यस्तै महिला सदस्यहरूमा देवी भण्डारी, मीना चौधरी, राजकुमारी महतो र दलित महिला सदस्यमा मालती सार्की विक रहेकी छन् । विष्णुप्रसाद डंगौरा, मीना चौधरी र राजकुमारी महतो नेपाल लोकतान्त्रिक फोरमबाट उम्मेदवारी दिएका थिए ।

प्रमुख निर्विरोध भएका थापा लम्कीचुहा नगरपालिका–१ का सदस्य हुन् भने उपप्रमुखका चौधरी गौरीगंगा नगरपालिका–५ की महिला सदस्य हुन् । नेकपा एमाले कैलालीको १३ वटा स्थानीय तहमध्ये ७ स्थानीय तहमा प्रमुख तथा ६ स्थानीय तहमा उपप्रमुख जितेको थियो भने नेपाल लोकतान्त्रिक फोरमले एक स्थानीय तहमा जितेको छ ।

उता, बाजुरा जिल्ला समन्वय समिति संयोजकमा नेपाली काँग्रेसका उम्मेदवार नरेन्द्र रोकाया निर्विरोध निर्वाचित भएका छन् । जिसस निर्वाचनका लागि नेकपा एमालेका तर्फबाट उम्मेदवारी नपरेपछि काँग्रेसका रोकाया संयोजकमा निर्विरोध निर्वाचित भएको जनाइएको छ । रोकाया नेपाली कांग्रेस बाजुराका जिल्ला सहसचिव हुन् ।
समितिको उपसंयोजकमा सुनिता सुनार निर्विरोध भएका छन् । त्यस्तै, दलित सदस्यमा धनबहादुर सार्की, खुला सदस्यमा दलवीर बुढाथापा, मोहनसिंह कार्की, जयबहादुर साउँद तथा महिला सदस्यमा पार्वती शाही, धनी थापा र दलित महिला सदस्यमा अषाढी मिजार निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले बताएको छ ।
बाजुराका नौ वटा स्थानीय तहमध्ये काँग्रेसले ६ स्थानीय तहमा प्रमुख/अध्यक्ष र ५ मा उपप्रमुख/उपाध्यक्ष जितेको छ ।
त्यस्तै, एमालेले तीन स्थानीय तहमा अध्यक्ष तथा चारमा उपाध्यक्ष जितेको छ । मुख्य निर्वाचन अधिकृत हेमबहादुर सेनले निर्विरोध निर्वाचित पदाधिकारीको शनिबार औपचारिक घोषणा गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार