५ जेष्ठ २०८१, शनिबार

अञ्चल अस्पतालको फार्मेसी राति अझैं खुल्दैन



धनगढी । जनशक्ति अभाव भन्दै धनगढीस्थित सेती अञ्चल अस्पतालको फार्मेसी अझैं पनि रातिको समयमा खुल्ने गरेको छैन । विरामीलाई सहज र सुलभ मूल्यमा औषधि उपलब्ध गराउने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको सो फार्मेसी चौबीसै घन्टा खुल्नु पर्नेमा अहिले पनि रातिको ८ बजेदेखि बिहान ७ बजेसम्म बन्द हुने गरेको छ ।
अञ्चल अस्पताल विकास समितिले गत असार २८ गते फार्मेसी सञ्चालनलाई प्रभावकारी बनाउन जनशक्ति थप्ने निर्णय गरेको थियो । तर एक महिना पुग्न लाग्दा पनि अझैं आवश्यक कर्मचारीको व्यवस्था भएको छैन ।
अस्पताल विकास समितिले असार २८ गते कर्मचारी थप गर्ने निर्णय गरे पनि विविध कारणले कार्यान्वयन हुनसकेको छैन । विकास समिति स्रोतका अनुसार समितिका अध्यक्ष रिता बम भण्डारी वैदेशिक भ्रमण रहेका र अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर साजन केसी र निमित्त मेडिकल सुपरिटेण्डेण्ट डाक्टर अशोक श्रीपाईली काठमाडौं गएकाले फार्मेसीका लागि आवश्यक जनशक्ति व्यवस्था हुन सकेको छैन ।
सामाजिक स्वास्थ्य विकास समिति (स्वास्थ्य विमा) कार्यक्रमका जिल्ला प्रवन्धक नरेश चौधरीले अस्पताल विकास समितिलाई फार्मेसी चौविसै घण्टा सञ्चालनमा ल्याउन आग्रह पटकपटक आग्रह गरिएको बताए ।
उनले रातिको समयमा अस्पतालको फार्मेसी बन्द हुँदा स्वास्थ्य विमा गरेका सेवाग्राहीले पनि निकै समस्या भोग्नु परेको बताए ।
अस्पतालको फार्मेसी सञ्चालनमा ल्याउने क्रममा तीन जना कर्मचारी नियूक्त भएका थिए । तीमध्ये एक जना कर्मचारी वैदेशिक रोजगारीमा गएपछि अहिले फार्मेसीमा दुई जना कर्मचारी मात्र रहेका छन् ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर केसीले कर्मचारी अभावका कारण रातिको समयमा फार्मेसी बन्द हुने गरेको बताए । अनुमोदन दैनिकसंग टेलिफोनमा कुरा गर्दौ मेडिकल सुपरिटेन्डेन्ट डाक्टर केसीले फार्मेसीको अवस्थाबारे बुझ्ने प्रयास गरिरहेको बताए ।
एक महिनाअघि अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डाक्टर श्रीपाईलीले एक हप्ताभित्रै कर्मचारी थप गरी चौविसै घण्टा सञ्चालन ल्याउने बताएका थिए ।
अस्पतालमा उपचारका लागि आउने बिरामीलाई सर्वसुलभ र सहज रूपमा औषधि उपलब्ध गराउने उद्देश्यले गत जेठदेखि सो फार्मेसी सञ्चालनमा ल्याइएको हो । तर, रातिको समयमा फार्मेसी बन्द हुने गरेकोले समस्या भोग्नु परेको बिरामी तथा तिनका कुरुवाले जनाएका छन् ।
अस्पतालमा उपचारका लागि भर्ना भएका बिरामी तथा तिनका आफन्तले रातिको समयमा अस्पतालको फार्मेसी बन्द हुने गरेका कारण निजी क्लिनिकबाट महँगोमा औषधि किन्नु परेको गुनासो गरे । अञ्चल अस्पतालले सञ्चालनमा ल्याएको फार्मेसीबाट विरामीहरूले निजी फार्मेसीको तुलनामा धेरै सस्तोमा औषधि पाइरहे पनि रातिको समयमा बन्द हुने गरेकोले निजी फार्मेसीबाट महँगो मूल्यमा औषधि किन्नु पर्ने बाध्यता रहेको छ ।
विरामीहरूलाई सरकारी फार्मेसीले निजी फार्मेसीको तुलनामा सात गुणासम्म सस्तोमा औषधि उपलब्ध गराउने गरेको छ । सरकारी अस्पताल आफैंले फार्मेसी सञ्चालन गर्दा निजी फार्मेसीले औषधि उपकरणमा दिने मूल्यभन्दा २० देखि ४० प्रतिशत कममा बिरामीले औषधि पाउने गरेका छन् । अञ्चल अस्पतालको फार्मेसीमा उपलब्ध औषधिको बजार मूल्यभन्दा निकै सस्तोमा बिक्री गर्ने गरेको छ ।
सर्वसाधारणहरूले भने निजी फार्मेसीहरूले सरकारी फार्मेसीमा बस्ने कर्मचारीलाई प्रलोभनमा पारेर रातिको समयमा बन्द गराउन गरेको आरोप लगाएका छन् ।
अस्पतालको फार्मेसीले सस्तो र सर्वसुलभ तरिकाले औषधि विक्री गर्न लागेपछि निजी क्लिनिकको व्यापारमा घाटा भएकाले अस्पतालको फार्मेसी रातिको समयमा निजी क्लिनिकहरुले बन्द गराउने गरेको उनीहरूको आरोप छ ।
फार्मेसी सञ्चालनका लागि सरकारले १५ लाख रुपैयाँ अनुदान, सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिको १० लाख र अस्पताल विकास समितिबाट २१ लाख रुपैयाँ प्रदान गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार