५ जेष्ठ २०८१, शनिबार

अत्तरियामा बृहत सरसफाई अभियान : ‘मुलुक स्वच्छ बनाउन स्वच्छ दिमाग चाहिन्छ’ धुर्मुस



धनगढी । ‘मानिसको सोच र दिमागलाई सफाई गर्न सके मुलुक चाँडै सफा बन्छ भन्ने आशा बढेको छ’ चर्चित हाँस्य कलाकार सीताराम कट्टेल (धुर्मस)ले आइतबार कैलालीको अत्तरियामा बृहत् सरसफाई अभियान अघि बढाउँदै भने– ‘फोहोर दिमागले मुलुक स्वच्छ र स्वस्थ्य बन्न सक्दैन ।’
बैंक अफ काठमाण्डूले ‘सामाजिक उत्तरदायित्व’ बहन गर्ने क्रममा ‘हाम्रो गाउँ, सफा बनाआंै स्वस्थ र स्वच्छ हाम्रो ठाउँ’ नारासहित आइतबार अत्तरियामा बृहत सरसफाई अभियान अघि बढाएको छ ।
सरसफाई अभियानको नेतृत्व गरिरहेको कलाकार धुर्मुसले भने– ‘वास्तवमा मानिसको दिमागमा पुरानो फोहोरको डंगुर रहँदासम्म मुलुक स्वच्छ बन्न सम्भव हुँदैन ।’ उनले वातावरण सरसफाई अभियानसंगै मान्छेको दिमाग सफाई पहल पनि अघि बढाइरहेको बताए ।
पछिल्लो समय रामेछाप, सिन्धुपाल्चोक र काभ्रेका नगर, गाउँवस्तीमा सरसफाई अभियान सञ्चालन गरेर चौथो परियोजना ‘नमुना नेपाल’ अभियानमा जुटेका कलाकार धुर्मुस बैंक अफ काठमाण्डूले पश्चिम नेपालबाट सञ्चालन गरेको सरसफाई अभियानको नेतृत्व गरिरहेका छन् ।
उनले नयाँ शैलीमा सरसफाई अभियान अघि बढाउने जुक्ति फुरेको बताए । उनले भने– ‘पछिल्ला सरसफाई कार्यक्रममा स्थानीयको सद्भाव र सहयोग कम पाइएको महसुस भयो । त्यसैले गाउँबस्ती सरसफाई भन्दा पनि मानिसको सोच र दिमागलाई सफा पार्नुपर्ने सोच बढ्यो ।’
सो अवसरमा कलाकार कुञ्जनाले रामेछाप, सिन्धुपाल्चोक र काभ्रेमा सरसफाई कार्यक्रम सञ्चालन गरिरहँदा स्थानीयले खासै सहयोग नगरेको अनुभव सुनाइन् । भनिन्– ‘मानिसहरू बाहिरी शरीरमा मात्र नुहाउँदा रहेछन्, दिमाग चाही उस्तै फोहोरले भरिएको रहेछ ।’ उनले राजनीतिकर्मीको दिमाग सफा गर्न सकिएमा सडकमा टायर बाल्ने जस्ता प्रदूषित कार्य बन्द हुने बताइन् ।
कार्यक्रममा कलाकार धुर्मुसले आफू सरसफाई कार्यक्रमसंगै आफ्नो चौथो परियोजना ‘नमुना नेपाल अभियान’का लागि सहयोगको अपिल गर्न सुदूरपश्चिम पुगेको बताए ।
आइतबार कैलालीको अत्तरियाबाट शुरु भएको सरसफाई अभियान आज (सोमबार) टीकापुरमा सञ्चालन हुने छ ।
त्यस्तै, भोली (मंगलबार) बाँकेको कोहलपुर, बुधबार दाङको तुल्सीपुर र बिहीबार नवलपरासीको वर्दघाटमा कार्यक्रम सञ्चालन हुने जनाइएको छ । सरसफाईका लागि आवश्यक औजार तथा अन्य सामग्री बैंक अफ काठमाण्डूले उपलब्ध गराएको छ ।
कलाकार धुर्मुससंगै पल्पसा डंगोल (चम्सुरी) तथा सुरवीर पण्डित (दाह्रीबा) पनि सो अभियानमा संलग्न रहेका छन् ।
अत्तरियामा आइतबार एक घण्टा सरसफाई कार्यक्रम सञ्चालन भएको थियो । सरसफाई कार्यक्रम लगत्तै धुर्मुस, चम्सुरी र दाह्रीबाले सरसफाई सम्बन्धी सचेतनामूलक र मनोरञ्जनात्मक कार्यक्रम प्रदर्शन गरेका थिए ।
कार्यक्रममा बैंक अफ काठमाण्डूका अधिकृत गणेश लम्सालले स्थानीय जनतालाई आफ्नो गाउँनगर सधैं सफासुग्घर राख्न उत्प्रेरित गर्ने उद्देश्यले देशभरी नै यो अभियान सञ्चालन गरिएको बताए ।
सरसफाई अभियानसँगै बैंकले कलाकारहरूमार्फत महिला तथा किसानलाई बैंकमा बचतका लागि सहभागिता बढाउन उत्प्रेरित गरिने उनले बताए ।
सरसफाई अभियानका सहभागीहरूलाई सरसफाईसंगै बैंकका सेवासुविधाबारे पनि जानकारी गराइएको थियो ।
अधिकृत लम्सालले सो अवसरमा बैंक अफ काठमाण्डूले लागू गरेका महिला तथा किसान लक्षित कार्यक्रम, बैंकले प्रदान गर्दै आएका सेवासुविधाबारे जानकारी गराएका थिए ।
सरसफाई कार्यक्रममा स्थानीय जनता, व्यापारी, समाजसेवी, राजनीतिकर्मी, पत्रकार, आमा समूह, कृषक समूह, संघसंस्था, सुरक्षाकर्मी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार