२ जेष्ठ २०८१, बुधबार

छाडा पशुचौपाया नियन्त्रण प्रयास : गाईगोरुमा ट्याग लगाइँदै



लम्की । कैलालीको लम्कीचुहा नगरपालिका, बल्चौरस्थित कैलाश धाममा राखिएका पशुचौपायामा ट्याग लगाउन शुरु गरिएको छ ।
नगरपालिकाभित्र रहेका छाडा पशुचौपाया नियन्त्रणका क्रममा कैलाशधाम, कामधेनु गौशाला र गौ संरक्षण केन्द्रले जिम्मेवारी लिएपछि पशुसेवा कार्यालय, चुहाको सहयोगमा गाईगोरुको गणना र पहिचानको लागि कानमा ट्याग लगाउन शुरु गरिएको छ ।
लम्कीचुहा नगरपालिकाका प्रमुख महादेव बजगाईंले छाडा पशुचौपाया नियन्त्रणका लागि नगरपालिकाको पहिलो बैठकबाट निर्णय गरिएको बताए ।
विश्व हिन्दू एकता परिषद् नेपाल, कैलाशधाम तथा नगरपालिकाको सहयोग बल्चौरस्थित दुई बिघा जमिनमा घेरबार गरी छाडा पशुचौपाया नियन्त्रण प्रयास अघि बढाइएको छ । साथै लम्की पशुसेवा कार्यालयले लम्कीचुहा नगरपालिकाको सहयोगमा आइतबार ५० हजार रुपैयाँ बराबरको औषधि गौशालालाई हस्तान्तरण गरेको थियो ।
लम्कीचुहा नगरपालिकामा छाडा छोडिएका गाइगोरुहरूलाई नियन्त्रण गर्ने कार्य शुरु भएपछि बजार क्षेत्रमा दिनहु देखिने पशुचौपायाको संख्यामा कमी आइरहेको छ ।
बजार क्षेत्रका छाडा पशुचौपाया नियन्त्रण गर्न र बल्चौरमा निर्माण गरिएको गौ संरक्षण केन्द्रमा राखिएका गाईगोरुको रेखदेखको लागि नगरपालिकाले तीन जना हेरालुको समेत व्यवस्था गरेको जनाएको छ ।
नगर प्रमुख बजगाईंले छाडा पशुचौपाया गौ संरक्षण केन्द्रमा राख्ने र गौशाला व्यवस्थापन गर्ने काम भइरहेको बताए ।
संस्थाका अध्यक्ष लक्ष्मीराम रिमालले हाल गौशालामा छ सयको हाराहारीमा गाईगोरु रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार