२ जेष्ठ २०८१, बुधबार

कैलालीमा अत्याधिक वर्षा, कर्णाली, पथरैया नदीमा बाढीको सतह खतरा नजिक



टीकापुर । बिहीबार साझबाट भएको अविरल वर्षाले कैलालीमा बाढी र डुवानको समस्या देखिएको छ । कर्णाली नदीमा बाढीको सतह खतरा भन्दा माथि पुगेको छ भने पथरैया नदीबाट बाढी पसेपछि टीकापुर नगरपालिकाको वडानम्बर ६ को भर्तापुर गाउँका ५२ घर विस्थापित भएका छन् । टीकापुर नगरपालिकाको वडा नम्बर ६ का वडाध्यक्ष बलिराम चौधरीले थथरैया नदीको सतह बढेर पानी भर्तापुर गाउँका ५२ घरका मानिसहरू कोही उचो ठाउँ रहेको भगवानपुरतिर र केही भर्तापुर प्राविमा सरेका जानकारी गराए ।
जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय अत्तरियाका अवजर्वर बृजलाल चौधरीका अनुसार पछिल्लो १२ घण्टामा चिसापानीमा २०८.८ मिलिमिटर पानी परेको छ भने धनगढीमा ९४.३ मिलिमिटर वर्षा भएको छ । कर्णाली नदीमा पानीको सतह खतराभन्दा माथि पुगेको छ । कर्णाली नदीको सतहमा बाढी ९ मिटर पुग्नुलाई खतरा मानिन्छ भने अहिले १० मिटर पुगेकाले तल्लो तटका मानिसहरूलाई सचेत गराएको छ ।
कैलालीको पश्चिम भन्दा पूर्वी क्षेत्रमा बढी पानी परेकाले यहाँका कर्णाली र पथरैया नदीमा बाढीको सतहले खतराको तह नाघेको हो । यसले गर्दा कर्णाली नदी आसपासका दुर्गौली, टीकापुर, नारायणपुर, धनसिंहपुर क्षेत्रमा डुवानको समस्या देखिन थालेको छ (तस्बिरः महेन्द्र भण्डारी)।
भजनीबाट पत्रकार जयबहादुर बुढाले दिएको जानकारी अनुसार काँडा र कान्द्रा नदीमा पनि बाढीको सतह माथिल्लो तहमा पुगीसकेको छ । कैलालीको पश्चिम क्षेत्रमा पूर्वको तुलनामा पानी कम परेकाले मोहनामा भने बाढीको खतरा कम छ ।
टीकापुरमा भने निकास नहुँदा गतवर्ष जस्तै डुवानको समस्या देखिएको छ । बजारभित्रका पानी निकास हुने कुलाहरू अतिक्रमण र पाटिदै गएको र क्याम्पस रोडमा बसेको नयाँ बजारमा ढल पाटिएकाले टीकापुर नगरपालिका वडा नम्बर–१ का ब्लक नम्बर बी, १४, १७, १८, १९ नम्बरमा डुवान देखिएको छ । यहाँका पक्की सडकमाथि बाढी बगिरहेको छ ।
हरेक वर्ष डुवानको समस्या देखिएको टीकापुरमा सतह ढलको योजना बनाउन नगरपालिकाका प्राविधिकहरूले यति बेलै योजना बनाउनु पर्ने ब्लक नम्बर १९ का वासिन्दा सुरतबहादुर कुँवरले बताए ।
त्यस्तै, बिहीबार राति अबिरल वर्षाका कारण घोडाघोडी नगरपालिका वडा नम्बर १० स्थित घुम्नीभाकल र खल्ला गाउँ तथा पहलमानपुर बजार कान्द्रा नदीमा बाढीका कारण डुबानमा परेको छ ।
इअनुमोदन सहकर्मी प्रकाश मिश्रका अनुसार घुम्नीभाकल गाउँको पुरै चार सय घरपरिवार र खल्ला गाउँका स्थानीय पूर्णरूपमा विस्तावित भएका छन् भने पहलमानपुर बजार पनि डुबानमा परेको छ ।
उनका अनुसार गाउँलेको खाद्यन्न, पशुपंक्षी, ब्रोइलबर फर्मका कुखुरा बाढीले बगाएको छ ।
अहिले घटना स्थलमा घोडाघोडी नगरपालिकाका उपप्रमुख प्रेमकुरमारी थापा र वडाध्यक्ष भीमबहादुर बम आएका छन् । उनीहरूले स्थानीयको राहतका लागि पहल भइरहेको बताएका छन् ।

कान्द्रा नदीमा २०६४ असोज ४ गते आएको बाढीले घुम्नीभाकलस्तिथ राजमार्ग नै बगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार