२३ बैशाख २०८१, आईतवार

महाकाली अस्पतालमा सेवा सुधारको प्रयास



कञ्चनपुर । कञ्चनपुर सदरमुकाम महेन्द्रनगरस्थित महाकाली अञ्चल अस्पतालमा स्वास्थ्य उपचार सेवामा सुधारका लागि प्रयास शुरु भएको छ ।
अस्पतालको सेवा सुधारका लागि एक करोड १० लाख रुपैयाँ लागका विभिन्न उपकरण जडान कार्य भइरहेको जनाइएको छ ।
सो अस्पतालमा डिजिटल एक्सरे, सी आर्म, फुटलर काउन्टर मेसिन, डेन्टल सेट अफ चेयर लगायतका दुई दर्जन उपकरण जडानको कार्य भइरहेको अस्पताल विकास समितिका अध्यक्ष भोजराज बोहराले बताए । ‘केही मेसिन जडानको कार्य पूरा भएकोछ’ उनले भने– ‘केही मेसिन जडान गर्दैछौं ।’
अध्यक्ष बोहराले उपकरण जडानपछि अस्पतालले दिने सेवासुविधामा सहजता आउने बताए । उपकरण जडान गरिए पनि सघन उपचार कक्षको सेवा भने सेवाग्राहीले पूर्ण रुपमा पाउन सकेका छैनन् । अध्यक्ष बोहराले विशेषज्ञ चिकित्सक र सघन कक्ष सञ्चालन गर्ने जनशक्तिको अभावमा सघन कक्षको सेवा प्रभावकारी रुपमा दिन नसकेको बताए ।
सघन कक्ष सञ्चालनका लागि एक फिजिसियन चिकित्सक, चार मेडिकल अफिसर र छ जना दक्ष तालिम प्राप्त नर्स लगायतका जनशक्ति आवश्यक रहेको उनले बताए ।
२० जनाभन्दा बढी विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको महाकाली अञ्चल अस्पतालमा अहिले तीनजना चिकित्सकले मात्र सेवा दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार