१० श्रावण २०८१, बिहीबार

‘समुन्नत शहर निर्माणका लागि गुरुयोजना आवश्यक’



धनगढी । धनगढी उपमहानगरपालिकालाई व्यवस्थित, सुन्दर, सभ्य, समुन्नत र समृद्ध बनाउनका लागि नगर गुरुयोजना बनाएर काम गर्न विज्ञ तथा उद्योगी व्यावसायीहरूले सुझाव दिएका छन् ।
बिहीबार कैलाली उद्योग वाणिज्य संघले धनगढीमा आयोजना गरेको एक कार्यक्रमका सहभागीहरूले विषयगत विज्ञहरूसंग छलफल गरी काम गर्न पनि आग्रह गरे ।
धनगढी उपमहानगरपालिका तथा अन्य स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरूलाई बधाई दिन आयोजित कार्यक्रममा संघका तर्फबाट समृद्ध धनगढी शहर तथा प्रदेश नम्बर ७ को समग्र आर्थिक समृद्धिका लागि अल्पकालीन तथा दीर्घकालीन रूपमा सम्पादन गर्नुपर्ने योजनाहरूबारे पनि ध्यानाकर्षण गरियो ।
संघका तर्फबाट गौरीफन्टा नाकालाई अन्तर्राष्ट्रिय नाकाका रूपमा स्तरोन्नती, प्रदर्शनी स्थलको निर्माण, बहुउद्देश्यी सभागृह, धनगढी विमानस्थलको स्तरोन्नती, नगर सरसफाई तथा छाडा पशुचौपायाको तत्काल व्यवस्थापनमा ध्यान दिन आग्रह गरिएको छ ।
त्यस्तै, सडकको स्तर सुधार, व्यावसायिक करको उचित व्यवस्थापन, धार्मिक तथा पर्यटकीय स्थलको संरक्षण र व्यवस्थापन, ऐलानी सरकारी जग्गा अतिक्रमण नियन्त्रण, ठेला व्यावसायको उचित व्यवस्थापन, ढल तथा पानी निकास र सघन सहरी विकास कार्यक्रमको यथासिघ्र व्यवस्थापनमा ध्यान दिन आग्रह गरिएको छ ।
कार्यक्रममा धनगढी उपमहानगरपालिका प्रमुख (मेयर) नृपबहादुर वडले विषयगत विज्ञहरूसंग निरन्तर छलफल जारी रहेको चर्चा गरे ।
उनले एसियाली विकास बैंकको परियोजना र सघन शहरी विकास कार्यक्रम सहज रूपमा पूरा गर्न सकिएमा धनगढी शहरको कायापलट हुने विश्वास व्यक्त गरे ।
उपमहानगरपालिका प्रमुख वडले भने– ‘यो कार्यमा सबै उद्योगी, व्यावसायी, राजनीतिक दल, संघसंस्था, आम नागरिक सहित सबै सरोकारवालाको साथ र सहकार्य आवश्यक रहेको छ ।’ उनले विभिन्न पक्षबाट फैलाइएका अफवाह र भ्रममा नपर्न पनि सबैमा आग्रह गरे ।
प्रमुख वडले तत्कालका लागि नगरको सरसफाई र छाडा पशुचौपाया व्यवस्थापन सबैभन्दा ठूलो समस्या र चुनौति रहेको चर्चा गरे । भने– ‘छाडा पशुचौपाया व्यवस्थापनका लागि समिति गठन भइरहेको छ । नगरभित्र व्यवस्थापन गर्न सकिने छाडा पशुचौपायालाई नगरभित्रै र हुननसक्नेलाई अन्यत्र व्यवस्थापन गर्ने योजना बनाएका छौं ।’
उनले नगरलाई स्वच्छ र सफा राख्न व्यावसायीहरूको सहयोगका लागि आग्रह गरे । ‘तपाईं व्यावसायी साथीहरू आजैदेखि फोहोरमैला एउटा कन्टेनरमा राख्ने र साँझ सडकको एक ठाउँमा संकलन गर्नुहोस्’ उनले व्यवसायीहरूसंग आग्रह गरे– ‘तपाईहरूले यत्ति मात्रै गरिदिनु भयो भने पनि धनगढीको आधा फोहोर व्यवस्थापन हुने छ ।’ उनले फोहोरमैला बोक्ने गाडी गइसकेपछि सडकमा जहातही फोहोर फाल्ने प्रवृत्तिले पनि नगर प्रदूषित बनेको गुनासो गरे ।
कार्यक्रममा गौरीगंगा नगरपालिकाका प्रमुख भीमबहादुर देउवाले छाडा पशुचौपाया सबै स्थानीय तहको साझा समस्या भएको बताए । छाडा पशुचौपाया व्यवस्थापनका लागि गौरीगंगा नगरपालिकाले पनि योजना तयार गरिसकेको बताउँदै उनले ‘घरमा पालेका गाईभैसीहरू सडकमा छोड्ने व्यक्तिलाई नगरपालिका र पशुसेवा कार्यालयले प्रदान गर्ने सेवा सुविधा कटौती गर्ने निर्णय गरिएको बताए ।
कार्यक्रममा धनगढी उपमहानगरपालिकाकी उपप्रमुख सुशीला मिश्र भट्टले उपमहानगरपालिकालाई स्वच्छ, सफा र सुन्दर राख्न प्लाष्टिकरहित धनगढी बनाउने बारे छलफल गरिरहेको बताए । ‘यदि धनगढीलाई प्लाष्टिकरहित बनाउन सकियो भने यसले पर्यावरणलाई जोगाउने र नालीहरू जाम हुने समस्या पनि हट्नेछ’ उनले भनिन् ।
कार्यक्रममा कैलाली बहुमुखी क्याम्पस प्रमुख प्राध्यापक सुरेन्द्र चन्दले धनगढी विमानस्थल र गौरीफण्टा नाकाको स्तरोन्नतीका लागि पहल गर्नुपर्ने सुझाव दिए ।
कार्यक्रम कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष शंकर बोगटीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा वरिष्ठ उपाध्यक्ष गजराज पाण्डेयले स्वागत गरेका थिए भने कार्यक्रमको संघका महासचिव रूपेश स्वाँरले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार