१० श्रावण २०८१, बिहीबार

कैलालीमा शिक्षण सिकाईमा सुधार हुँदै



धनगढी । कैलालीमा सामुदायिक विद्यालयहरूमा शिक्षण सिकाई उपलब्धीमा क्रमश: सुधार हुँदै आएको छ । जिल्ला शिक्षा कार्यालय, कैलालीको पछिल्ला चार वर्षको तथ्यांकले जिल्लामा सिकाई उपलब्धीमा क्रमिक सुधार आइरहेको देखाएको छ ।
कैलालीमा शैक्षिक सत्र २०७० मा शिक्षण सिकाई उपलब्धी ४२ दशमलव आठ प्रतिशत रहेकोमा शैक्षिक सत्र २०७१ मा ४३ दशमलव तीन प्रतिशत पुगेको थियो ।
त्यस्तै, शैक्षिक सत्र २०७१ को तुलनामा शैक्षिक सत्र २०७२ मा शून्य दशमलव २६ ले बृद्धि भई ४३ दशमलव ५६ प्रतिशत पुगेको थियो । तर, शैक्षिक सत्र २०७२ को तुलनामा शैक्षिक सत्र २०७३ मा भने शिक्षण सिकाई उपलब्धीमा ठूलो सुधार आएको तथ्यांकले देखाएको छ । शैक्षिक सत्र २०७३ मा कैलालीमा सामुदायिक विद्यालयको शिक्षण सिकाई उपलब्धी एक दशमलव ८७ प्रतिशतले बृद्धि भई ४५ दशमलव ४३ प्रतिशत पुगेको थियो ।
जिल्ला शिक्षा कार्यालयले शैक्षिक सत्र २०७४ मा कैलालीमा शिक्षण सिकाई उपलब्धी चारदेखि पाँच प्रतिशतले बृद्धि हुने अपेक्षा लिएको छ ।
चार वर्षको अवधिमा प्राथमिक र निम्न माध्यमिक तहको शिक्षण सिकाई उपलब्धी सुधार हुँदै गएको छ, तर माध्यमिक तहमा भने घटबढ हुने गरेको देखिएको छ । शैक्षिक सत्र अनुसार प्राथमिक तहमा शिक्षण सिकाई उपलब्धी सबैभन्दा राम्रो देखिएको छ भने माध्यमिक तहको अवस्था तुलनात्मक रूपमा कमजोर देखिएको छ ।
कैलालीमा शैक्षिक सत्र २०७० मा प्राथमिक तहको शिक्षण सिकाई ४५ दशमलव चार, २०७१ मा ४५ दशमलव नौ, २०७२ मा ४६ दशमलव दुई र २०७३ मा ४७ दशमलव ८४ रहेको छ ।
त्यस्तै, निम्न माध्यमिक तहमा सिकाई उपलब्धी शैक्षिक सत्र २०७० र ०७१ मा ३९ दशमलव नौ, २०७२ मा ४१ दशमलव ७२ र २०७३ मा ४७ दशमलव ३२ प्रतिशत रहेको छ ।
माध्यमिक तहमा भने शैक्षिक सत्र २०७० मा ३९ दशमलव दुई प्रतिशत शिक्षण सिकाई उपलब्धी रहेको थियो । शैक्षिक सत्र २०७१ मा एक दशमलव दुई प्रतिशतले शिक्षण सिकाई उपलब्धी बृद्धि भई ४० दशमलव चार प्रतिशत पुगेको थियो ।
त्यस्तै, शैक्षिक सत्र २०७० को तुलनामा २०७१ मा बढेको शैक्षिक उपलब्धी २०७२ मा आउँदा शून्य दशमलव ८४ प्रतिशतले घटेर ३९ दशमलव ५६ प्रतिशतमा झरेको थियो । शैक्षिक सत्र २०७२ को तुलनामा २०७३ मा सिकाई उपलब्धी एक दशमलव ५७ प्रतिशतले बृद्धि भई ४१ दशमलव १३ प्रतिशत पुगेको छ ।
सरकारले सामुदायिक विद्यालयमा शिक्षण सिकाई उपलब्धीमा सुधार ल्याउन बर्सेनि ठूलो धनराशी खर्च गर्ने गरेको छ । जिल्ला शिक्षा अधिकारी मानसिंह बिष्टले सरकारले सामुदायिक विद्यालयमा शिक्षण सिकाई उपलब्धी सुधारका लागि बर्सेनि ठूलो धनराशी लगानी गरे पनि अपेक्षा गरेअनुसार उपलब्धी प्राप्त हुन नसकेको स्वीकार गरे ।
जिल्ला शिक्षा कार्यालय कैलालीले जिल्लामा सामुदायिक विद्यालयमा शिक्षण सिकाई उपलब्धी सुधार्न ‘ड्रप आउट’ घटाउने, विद्यार्थीमैत्री वातावरण विद्यालय बनाउने, विद्यार्थीको विद्यालयमा बसाई व्यवस्थापनलाई सहज बनाउने, लाईब्रेरी व्यवस्थापनका लागि फिक्सिङ र किताब खरिद अनुदान, विद्यालयमा विद्यार्थीलार्य नि:शुल्क मनोपरामर्श, शिक्षकको क्षमता अभिवृद्धिका लागि तालिम, गरिब विद्यार्थीका लागि नि:शुल्क शिक्षण सामग्री वितरण लगायतका कार्यक्रम गर्दै आएको जिल्ला शिक्षा अधिकारी विष्टले बताए ।
जिल्लामा विद्यालय निरन्तर सञ्चालन नहुनु, अझैं पनि कतिपय विद्यार्थीमा द्वन्द्वकालको प्रभाव बाँकी रहनु, विद्यालयभित्र दलगत राजनीतिक हस्तक्षेप बढी हुनु लगायतका कारण सामुदायिक विद्यालयको शिक्षण सिकाई उपलब्धी खासै हुन नसकेको उनले बताए ।
प्रदेश नम्बर ७ का अन्य आठ जिल्ला र राष्ट्रिय शिक्षण सिकाई उपलब्धीको तुलनामा कैलालीमा शिक्षण सिकाई राम्रो रहेको क्षेत्रीय शिक्षा निर्देशनालयका शिक्षा निर्देशक लालजंग चौहानले बताए ।
उनले कैलाली जिल्लामा शिक्षाको अवस्था सुधार्न सकेमा समग्र ७ नम्बर प्रदेशको अन्य जिल्लाको शिक्षामा पनि सुधार गर्न सकिने बताए । देश संघीय संरचनामा गएसंगै शिक्षाको संरचना पनि स्थानीय तहमा गएकाले कैलाली जिल्लाका जनप्रतिनिधीहरूले शिक्षामा राम्रो काम गरे समग्र ७ नम्बर प्रदेशमै शिक्षा परिवर्तन गर्न सकिने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार