२२ बैशाख २०८१, शनिबार

जनताको मन जित्ने गरी काम गर्नुस्– उपाध्यक्ष रावल



धनगढी । नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले एमालेका तर्फबाट नवनिर्वाचित जनप्रतिनिधिहरूलाई जनताको मन जित्ने गरी काम गर्न आह्वान गरेका छन् ।
एमालेले आयोजना गरेको प्रदेश नम्बर ७ मा एमालेका तर्फबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूका लागि ‘स्थानीय तहको शासन सञ्चालन तथा व्यवस्थापन’ सम्बन्धी प्रशिक्षण कार्यक्रमको आइतबार समापन गर्दै उपाध्यक्ष रावलले विकास निर्माणका प्रभावकारी योजना बनाएर जनताको मन जित्ने गरी काम गर्न आह्वान गरे ।
उनले ‘विगतमा स्थानीय निकायमा जनप्रतिनिधिहरू नहुँदा विकास निर्माणले गति लिन नसकेको’ चर्चा गरे । उनले जनताले विश्वास गरेर एमालेलाई चुनावमा पहिलो पार्टी बनाएकाले जनप्रतिनिधिहरूले आफ्नो नगर तथा गाउँपालिकामा उत्कृष्ट कार्य गर्न आग्रह गरे ।
उनले भने– ‘जनताले एमालेमाथि जसरी विश्वास गरेका छन्, तपाईहरूले पनि त्यसरी नै नयाँ दृष्टिकोणबाट जनताको पक्षमा काम गरेर देखाउनुहोस् ।’
उपाध्यक्ष रावलले संविधानले स्थानीय तहलाई प्रदान गरेका अधिकारको इमान्दारीपूर्वक उपयोग गर्न पनि आग्रह गरे ।
उपाध्यक्ष रावलले दुई नम्बर प्रदेशको स्थानीय निर्वाचन तथा प्रदेश र संघीय संसदको निर्वाचन नभएसम्म एमालेले संविधान संशोधनलाई स्वीकार नगर्ने दोहोर्‍याए ।
कार्यक्रममा प्रदेश नम्बर ७ का विभिन्न स्थानीय तहमा एमालेबाट निर्वाचित ३९ जना प्रमुख/अध्यक्ष र ४२ जना उपप्रमुख/उपाध्यक्षको सहभागिता रहेको थियो ।
कार्यक्रम समापनका अवसरमा साँफेबगर नगरपालिकाका मेयर कुलबहादुर कुँवर, भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र बिष्ट, अमरगढी नगरपालिकाका मेयर विपिन ओझा, जयपृथ्वी नगरपालिकाका मेयर वीरेन्द्र खड्का तथा घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरी र गौमुल गाउँपालिकाका अध्यक्ष हरि रोकाया लगायतले आ–आफ्ना अनुभव सुनाएका थिए ।
समापन कार्यक्रममा एमालेका केन्द्रीय सचिव प्रदीप ज्ञवाली, वैकल्पिक पोलिटब्यूरो सदस्य कर्णबहादुर थापा, केन्द्रीय सदस्य गरिमा शाह, रामकुमार ज्ञवाली, कैलालीका जिल्ला अध्यक्ष दीर्घ सोडारी लगायतले बोलेका थिए ।
सहभागीलाई नेकपा (एमाले) बुद्धिजीवी परिषदका केन्द्रीय अध्यक्ष दिनेश देवकोटा, अधिवक्ता टिकाराम भट्टराई, संविधानविद् डाक्टर चन्द्रकान्त ज्ञवाली र प्राध्यापक विधान आचार्यलगायतले प्रशिक्षण दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार