२३ बैशाख २०८१, आईतवार

३५ औं विपि स्मृति दिवस : विभिन्न कार्यक्रमसहित मनाइयो



धनगढी । नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ३५ औं स्मृति दिवस शुक्रबार कैलाली सहित देशभरी विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
कैलालीमा विपि स्मृति दिवसका अवसरमा विभिन्न ठाउँमा वृक्षारोपण, रक्तदान, प्रवचन लगायतका कार्यक्रम आयोजना भएका थिए ।
यस क्रममा नेपाल विद्यार्थी संघ, कैलाली बहुमुखी क्याम्पस ईकाईले रक्तदान तथा नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान कार्यक्रम गरेको छ ।
कार्यक्रमको धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले उद्घाटन गरेका थिए ।
रक्तदान कार्यक्रममा ७१ जनाले रक्तदान गरेको जनाइएको छ ।
नेविसंघ क्याम्पस ईकाई सभापति गुरुदेव केसी (सुमन) को अध्यक्षतामा भएको कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख वड, उपप्रमुख सुशीला मिश्र भट्ट, र १९ सै वडाका वडाध्यक्षहरूलाई बधाई तथा सम्मान गरिएको थियो ।
कार्यक्रममा कैलाली बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष घनबहादुर शाह, क्याम्पस प्रमुख प्राध्यापक सुरेन्द्र चन्द, प्राध्यापक डाक्टर हेमराज पन्त लगायतको सहभागिता रहेको थियो ।
उता, टीकापुरमा दिवसको अवसरमा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता र शुभेच्छुकले वृहत बृक्षारोपण गरेका छन् । त्यस्तै, टीकापुर अस्पतालमा बिरामीहरूलाई फलफूल वितरण गरिएको छ ।
नेपाली कांग्रेसका समर्थकहरूले विपीको चिन्तन अहिले पनि उत्तिकै महत्त्व रहेको भन्दै विपि विचारलाई जनता माझ लैजाने अवसरको दिनको रूपमा मनाएका छन् । कैलालीका ६ वटै निर्वाचन क्षेत्रमा विभिन्न कार्यक्रम भएका छन् ।
नेपाली कांग्रेस क्षेत्र नम्बर १ ले पथरैयास्थित जातीय संग्राहलयमा वृक्षारोपण गरेको छ । नेपाली कांग्रेस कैलालीका सहसचिव चिरञ्जीवी खनालको प्रमुख आतिथ्यमा वृक्षारोपण कार्यक्रम भएको थियो । सो अवसरमा टिक र लिप्टीसका गरी डेढ सय बिरुवा रोपिएको क्षेत्रीय सदस्य गोविन्द बिष्टले जानकारी गराए ।
यसैगरी स्मृति दिवसको अवसरमा विपि विचार समाज टीकापुरले टीकापुर अस्पतालमा फलफूल वितरण गरेको छ । अस्पतालमा भर्ना भएका बिरामीलाई नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले फलफूल वितरण गरेका थिए ।
विपि विचार समाज टीकापुरका अध्यक्ष गोरखबहादुर खड्का, अछाम जिल्लाका पूर्व कोषाध्यक्ष पद्मबहादुर रावल, कैलाली क्षेत्र नम्बर १ कैलालीका सभापति भुवनेश्वर, लोगबहादुर खड्का लगायतले फलफूल वितरण गरेका थिए ।
त्यस्तै, नेपाल विद्यार्थी संघ र स्वतन्त्र विद्यार्थी यूनियनले संयुक्त रूपमा कार्यक्रम गरेका छन् ।
वीरेनद्र विद्या मन्दिर र टीकापुर बहुमुखी क्याम्पसका विद्यार्थीहरूले वृक्षारोपण गरेका थिए । सो अवसरमा स्ववियु सभापति धनन्जय रिमाल, नगर कार्यपालिका सदस्य रमेश विक लगायतको सहभागिता रहेको थियो ।
त्यस्तै, घोडाघोडी नगरपालिकामा नेपाली क्रान्ति विषयक् विचार गोष्ठी भएको छ । गोष्ठीको काँग्रेसका महासमिति सदस्य रीता चौधरीले उद्घाटन गरेकी थिइन् । कार्यक्रम नेपाली कांग्रेस क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति खेमराज चौधरीको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा महासमिति सदस्य भीम बडुवाल, महाधिवेशन प्रतिनिति नरसिंह सार्की, कलावती सार्की, जिल्ला सदस्य जगनारायण चौधरी, दुर्गाप्रसाद ओझा, भवकेसर बम लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
क्षेत्रीय सदस्य रामदुलार चौधरीले स्वागत गरेको कार्यक्रमको क्षेत्रीय सचिव लाहुराम चौधरीले सञ्चालन गरेका थिए ।
कैलालीमा सञ्चालित मिडिया तथा पत्रकार स्वतन्त्र बन्न नसकेको नागरिक समाजका प्रतिनिधिहरूले बताएका छन् । उनीहरूले जिल्लामा सञ्चालित मिडिया पक्ष वा विपक्षमा लाग्ने गरेको गुनासो गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार