६ कार्तिक २०८१, मंगलवार

एक सातादेखि अँध्यारोमा मार्तडी



बाजुरा । बाजुराको सदरमुकाम मार्तडी एक सातादेखि विद्युत सेवाबिहीन बनेको छ । त्रिवेणी साना जलविद्युत केन्द्रको नहर भत्किनुका साथै प्यानेष्टिक पाइप फुटेपछि एक सातादेखि विद्युत सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ । सो साना जलविद्युत केन्द्र त्रिवेणी सहकारी संस्थाको स्वामित्वमा सञ्चालन हँुदै आएको छ ।
स्थानीयका अनुसार मार्तडीमा विद्युत सेवा अनियमित हुन लागेको तीन साता भइसकेको छ । एक सातादेखि भने पूर्ण रूपमा ठप्प भएको छ ।
उनीहरूका अनुसार बाहुली गाडको बाढीले हरेक वर्षायाममा सो साना जलविद्युत केन्द्रको बाँध भत्काउने र नहरमा क्षति पुर्‍याउने गर्दै आएको छ । विगतमा बाँध तथा नहर बाढीले क्षति पुर्‍याउँदा स्थानीयले मर्मत गर्दै आए पनि यस पटक चासो दिएका छैनन् ।
त्रिवेणी साना जलविद्युत केन्द्रले १५ सय बढी परिवारलाई विद्युत सेवा पुर्‍याइरहेको छ । सो जलविद्युत निर्माण भएको तीन दशक वितिसकेको छ । सो जलविद्युत आयोजना दुई सय किलोवाट विद्युत उत्पादन क्षमताको रहेको छ ।
त्रिवेणी साना जलविद्युत केन्द्रका निमित्त कार्यालय प्रमुख गगन अयडीले अस्थायी संरचना बनाएर तत्कालका लागि विद्युत सेवा पुन:सञ्चालनको प्रयास भइरहेको बताए ।
बाँध निर्माणको जिम्मेवारी विजयराज पण्डितलाई दिइएको उनले बताए । पाँच लाख रुपैयाँ लागतमा असार १० गतेभित्र बाँध निर्माण कार्य पुरा गर्नेगरी सम्झौता भए पनि अझैं बनेको छैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार