१० श्रावण २०८१, बिहीबार

सर्पदंश उपचार केन्द्रमा बिरामीको चाप



कञ्चनपुर । नेपाली सेनाको सहयोगमा सञ्चालित कञ्चनपुरको अर्जुनीमा रहेको सर्पदंश उपचार केन्द्रमा बिरामीको चाप बढ्दै गएको छ ।
वर्षायाम शुरु भएसँगै सर्पदंशका बिरामीको संख्यामा वृद्धि भएको केन्द्रले जनाएको छ । हाल दैनिक तीनदेखि सात जना सर्पदंशका बिरामी उपचारका लागि आउने गरेको केन्द्रका प्राविधिक सुवेदार दीपेन्द्रबहादुर कार्कीले बताए ।
उनका अनुसार वैशाखदेखि असार मसान्तसम्म गरी तीन महिनाको अवधिमै एक सय ५० जना बिरामीको उपचार गरिएको छ । साउन महिनाको दुई दिनको अवधिमै पाँच जना सर्पदंशका बिरामीको उपचार गरिएको सुवेदार कार्कीले बताए ।
गत वर्ष बैशाखदेखि असार मसान्तसम्म केन्द्रमा सर्पदंशका पाँच सय सात जना बिरामीको उपचार गरिएको थियो । नेपाली सेनाको प्राविधिक सहयोगमा समुदायद्वारा सो केन्द्र सञ्चालनमा रहेको छ ।
सर्पदंश भएका बिरामीलाई नि:शुल्क उपचारका लागि जनस्वास्थ्य कार्यालयले एन्टी स्नेक भेनम औषधि उपलब्ध गराउँदै आएको छ । केन्द्रमा अक्सिजन सिलिन्डरको अभाव हुँदा बिरामीले सास्ती खेप्नु पर्ने अवस्था रहेको केन्द्र सञ्चालन समितिका कोषाध्यक्ष कालु सिंह ठगुन्नाले बताए ।
उपचार केन्द्रमा बेदकोट नगरपालिका, कृष्णपुर नगरपालिका, भीमदत्त नगरपालिका, शुक्लाफाँटा नगरपालिका, देखतभूलीलगायत क्षेत्रका बासिन्दाले सेवा लिदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार