६ कार्तिक २०८१, मंगलवार

महिलाले बढी मतदान गरे



डोटी । डोटीमा पुरुषभन्दा महिला मतदाताले मतदान गरेको पाइएको छ । गत असार १४ गतेको निर्वाचनमा डोटीमा पुरुषभन्दा १४ हजार सात सय ६१ बढी महिला मतदाताले मतदान गरेको पाइएको छ ।
जिल्लामा एक लाख एक हजार १६ मतदाता रहेकोमा ७१ हजार आठ सय ९८ जनाले मतदान गरेका थिए । मतदान गर्नेमा ४३ हजार दुई सय ९७ अर्थात् ६० दशमलव २२ प्रतिशत महिला रहेका थिए ।
मतदान गर्ने पुरुषको संख्या २८ हजार पाँच सय ३६ अर्थात् ३९ दशमलव २२ प्रतिशत रहेको जिल्ला निर्वाचन कार्यालय डोटीले जनाएको छ ।
निर्वाचनमा सबैभन्दा बढी जोरायल गाउँपालिकामा ७५.०३ प्रतिशत मतदान भएको थियो । सो गाउँपालिकामा ११ हजार एक सय ४५ मतदातामध्ये आठ हजार तीन सय ६२ जनाले मतदान गरेका थिए । ६ वडा रहेको सो गाउँपालिकामा चार हजार ४७ पुरुष र चार हजार तीन सय १५ महिलाले मतदान गरेका थिए ।
त्यस्तै, दिपायल सिलगढी नगरपालिकामा सबै भन्दा कम ६७ दबमलव ८१ प्रतिशत मत खसेको थियो । जिल्ला सदरमुकाम समेत रहेको सो नगरपालिकामा १५ हजार एक सय पाँच मतदातामध्ये १० हजार दुई सय ४३ मत खसेको थियो ।
जिल्लाकै सबैभन्दा सानो स्थानीय तह बडीकेदार गाउँपालिकामा ७२ दशमलव ५६ प्रतिशतले मतदान गरेका थिए । सो गाउँपालिकामा सात हजार पांच सय ९९ मतदाता रहेकोमा पाँच हजार पाँच सय १४ ले मतदान गरेका थिए ।
त्यस्तै, शिखर नगरपालिकामा ६९.७४ ले मतदान गरेका थिए । जिल्लाकै सबैभन्दा बढी १७ हजार एक सय १६ मतदाता रहेका सो नगरपालिकामा एक हजार नौ सय ३७ ले मतदान गरेका थिए ।
सो यस नगरपालिकामा चार हजार तीन सय ५० पुरुष र सात हजार चार सय ९९ महिलाले मतदान गरेका थिए ।
बोगटान गाउँपालिकाका आठ हजार चार सय २८ मतदातामध्ये ६ हजार एक सय १५ अर्थात् ७१.५६ प्रतिशतले मतदान गरेका थिए । सो गाउँपालिकामा दुई हजार सात सय ८३ पुरुष र तीन हजार तीन सय ३२ महिलाले मतदान गरेका थिए ।
त्यस्तै आदर्श गाउँपालिकामा ७० दशमलव ५१ प्रतिशत मतदान भएको थियो । सो गाउँपालिकामा ११ हजार चार सय १६ मतदातामध्ये आठ हजार ४९ ले मतदान गरेका थिए । केआईसिंह गाउँपालिकामा १० हजार एक सय ७६ मतदातामध्ये दुई हजार ६ सय १० पुरुष र चार हजार आठ सय २५ महिलाले मतदान गरेका थिए ।
त्यस्तै, पूर्वीचौकी गाउँपालिकामा ७१.५१ प्रतिशत मत खसेको थियो । ११ हजार एक सय तीन मतदातामध्ये दुई हजार आठ सय १८ पुरुष र पाँच हजार एक सय २५ महिलाले मतदान गरेका थिए ।
सायल गाउँपालिकामा दुई हजार पाँच सय ३४ पुरुष र तीन हजार सात सय ६९ महिलाले मतदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार