८ जेष्ठ २०८१, मंगलवार

सहजपुर–बोगटान सडक : कालोपत्रे गर्ने कार्य अझैं शुरु भएन



धनगढी । साढे दुई दशकअघि ट्रयाक खोलिएको सहजपुर–बोगटान सडकको कालोपत्रे गर्ने कार्य अझैं शुरु भएको छैन । चालू आर्थिक वर्षमा कालोपत्रे कार्य शुरु गर्ने भनिए पनि अहिलेसम्म काम शुरु नै भएको छैन । चालू आर्थिक वर्ष सकिन एक दिनमात्र बाँकी छ ।
सो सडकको २०४९ सालमा ट्रयाक खोलिएको थियो । बहुचर्चित सो सडक कालोपत्रे कार्यका लागि चालू आर्थिक वर्षमा सडक सुधार परियोजना (रिप) लाई जिम्मेवारी दिइएको जनाइएको छ ।
रिप प्रोजेक्टमार्फत सहजपुर बोगटान सडकमा नाली, कल्र्भट तथा पुल निर्माण र कालोपत्रेको लागि सम्पूर्ण मापदण्ड पूरा गरी कालोपत्रे गर्ने जिम्मेवारी दिइएको सडक डिभिजन कार्यालय कञ्चनपुरका डिभिजन प्रमुख विनोद मौवारले जानकारी दिए ।
परियोजनासंग सम्झौता भए पनि ठेक्का कम्पनीका लागि टेण्डर प्रक्रिया अघि बढ्न सकेको छैन । परियोजनाले आन्तरिक तयारी गर्नमै ढिलाई गरेका कारण कालोपत्रेको काम अघि बढ्न नसकेको डिभिजन प्रमुख मौवारले बताए । उनले भने– ‘कालोपत्रेको काम अघि बढ्न अझै दुई महिना लाग्छ ।’
सो सडकको कालोपत्रे, नाली, पुल तथा कल्भर्ट निर्माणका लागि कति लागत लाग्छ भन्ने पनि इष्टिमेट हुनसकेको छैन । डिभिजन प्रमुख मौवारले परियोजनाले सो सडक कालोपत्रको लागत ईष्टिमेट तयार गरिरहेको बताए । सो सडकको कालोपत्रे कार्य आर्थिक वर्ष २०७४/०७५ भित्र सम्पन्न हुने उनले बताए । उनले विस्तृत आयोजना रिपोर्ट (डिपिआर) पूरा भएसंगै टेन्डर र कन्सल्टेन्सी तोक्ने काम अघि बढाइने बताए ।
सहजपुरदेखि डोटीको विपिनगरसंग जोडिएको सहजपुर बोगटान सडकको ट्रयाक खोलिएको २५ वर्ष पुगेको छ । सडक स्तरोन्नति नभएकाले सहजरूपमा सवारीका साधनहरू नचलेका कारण एकातिर स्थानीय उत्पादित बस्तुले बजार पाएको छैन भने त्यस्तै स्थानीयहरूलाई आवागमनमा समस्या परेको छ । ट्रयाक खोलिएपछि स्थानीयले आफ्नै सक्रियतामा सडकमा सामान्य रूपमा मर्मत गरे पनि सडकको दिगो समाधानको लागि पहल हुन नसकेको छैन ।
सडक अवस्था नाजुक हुँदा निगाली गाविमा पाइने सुन्तला, आँप, अदुवा, तरकारी बोक्न अहिले हप्तामा तीन दिन गाडी पुग्ने गरेको छ । तर, बिरामी पर्दा भने निकै सास्ती हुने गरेको छ । ‘मान्छे बिरामी हुँदा धनगढी लैजानुु पर्ने हुन्छ’ युथ मिसन नेपाल फर एग्रिकल्चरका अध्यक्ष करन साउँदले भने– ‘तर निगालीसम्म एम्बुलेन्सलाई समयमै पुग्नै गाह्रो छ ।’ कतिपयले त समयमै अस्पताल पुर्‍याउन नसक्दा बाटोमै ज्यान गुमाउनु परेको उनले सुनाए । कर्णालीदेखि डडेल्धुराको तेले लेक तथा डोटीको जोरायलसम्मलाई बोगटान क्षेत्रको रूपमा लिइदै आएको छ ।
‘सडकको ट्रयाक खोलेको २४ वर्ष बढी भयो, तर स्तरोन्नति हुन सकेको छैन’ उनले भने– ‘गाडीमा आउन–जान पनि धेरै समय लाग्ने भएका कारण स्थानीयहरूको बजारसम्म पहुँच पुग्दैन ।’ सडक कलोपत्रे भन्दा पनि सामान्य रूपमा ग्राभेल भए पनि यहाँका जनतालाई आवतजावतमा सजिलो हुने उनले बताए ।
त्यसै पनि साँघुरो सडक, त्यसमा पनि धुलो र खराब बाटोमा सवारी साधनहरूलाई यात्रु बोक्न पनि गाह्रो हुने गरेको छ । सहजपुरदेखि विपिनगरसम्म जाने सवारी साधानहरूले क्षमता भन्दा बढी यात्रुहरू बोक्ने गरेका छन् । कच्ची र जोखिम सडकमा यात्रुहरू जोखिमयूक्त यात्रा गर्न बाँध्य हुने गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार