१० श्रावण २०८१, बिहीबार

अवरुद्ध जयपृथ्वी राजमार्ग, खुल्ने ठेगान छैन



बझाङ । बझाङलाई अरु जिल्लासंग जोड्ने एकमात्र जयपृथ्वी राजमार्गमा चार दिनदेखि अवरुद्ध सडक यातायात अझैं सञ्चालनमा आएको छैन ।
आइतबारदेखि परेको अविरल वर्षाका कारण मंगलबार राति राजमार्गका विभिन्न भागमा पहिरो गएपछि सडक यातायात अवरुद्ध भएको छ ।
जयपृथ्वी राजमार्गको तमैल बजार नजिक जाल्याबगरमा निकै ठूलो पहिरो खसेको बताइएको छ । त्यस्तै, तमैल बजारभन्दा माथि माल्ला लाग्ने भिर गएको पहिरोका कारण पुरै सडक भासिएको छ ।
बझाङ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दका अनुसार तमैल र माल्या लाग्ने भीरका साथै मटेला, देउरा, बगडगाउँ आदि ठाउँमा पहिरो गएका छ । थुप्रै ठाउँमा माथिबाट बगेको पहिरोले सडक पुरिएका छन् । ठाउँठाउँमा गएको पहिरोका कारण बझाङबाट बाहिर जिल्लातर्फ जाने र बाहिरी जिल्लाबाट बझाङ भित्रिने यात्रुबाहक तथा मालबाहक गाडीहरू ठाउँठाउँमा थन्किएका छन् ।
सो सडक अवरुद्ध भएपछि बझाङबाट काठमाडौं, धनगढी, महेन्द्रनगर, डडेल्धुरासहित अन्य जिल्लाका लागि छुट्ने यात्रुबाहक बस तथा अन्य सवारी साधन बसपार्क, तमैल बजारमा नै थन्किएका छन् ।
चार दिनदेखि सडक यातायात अवरुद्ध भएपछि बिरामीहरूलाई मान्छेद्वारा बोकाएर गाडीसम्म पुर्‍याउने प्रयास भइरहेको स्थानीयले बताए । त्यस्तै, यात्रुहरू एक दिन हिडेर गाडी भएको ठाउँसम्म पुग्ने प्रयास गरिरहेका छन् ।
ठाउँठाउँमा गएको पहिरोका कारण जिल्लाको आन्तरिक सडक यातायात सञ्जाल पनि नराम्ररी प्रभावित भएको छ । अविरल वर्षाका कारण निकै ठाउँमा गएको पहिरोका कारण सडक बिग्रेकाले प्राय:जसो शाखा सडक पनि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्लाको चैनपुर, मयाना, छविस मेल्लेख, सुर्मा दौलीचौर, विजगडा बुंगल, चैनपुर तल्कोट र खप्तड छान्ना लगायतका शाखा सडकहरू पनि चार दिनदेखि अवरुद्ध भएका छन् ।
कर्णाली रिभर यातायातको ६७३५ नम्बरको बसका चालक रणबहादुर धामीले धनगढी, महेन्द्रनगर र नेपालगञ्जबाट औषधी, खाद्यान्न तथा दैनिक उपभोग्य सामान बोकेका गाडीहरू बैतडीको खोड्पेदेखि बझाङको भाडेबजारसम्म विभिन्न ठाउँमा रोकिएका बताए ।
चार दिनसम्म बाहिरबाट खाद्यान्न लगायतका दैनिक उपभोग्य वस्तु आउन नसकेपछि बजारमा सामानको अभाव हुन थालेको उपभोक्ताहरू बताउँछन् ।
जिल्ला प्रहरी कार्यालय, बझाङले लगातार वर्षा भइरहेको र पहिरो पन्छाउन कठिनाई भइरहेको जनाएको छ । बझाङका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले केही ठाउँमा सडक नै भासिएकोले सडक यातायात पुन: सञ्चालन गर्न केही समय लाग्नसक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार