१० श्रावण २०८१, बिहीबार

नवनिर्वाचित जनप्रतिनिधिद्वारा सपथ ग्रहण तथा पद वहाली



धनगढी । धनगढी उपमहानगरपालिकाका नवनिर्वाचित प्रमुख (मेयर), उपप्रमुख (उपमेयर), वडाध्यक्ष तथा सदस्यहरूले सोमबार पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।
सोमबार नै उपमहानगरपालिका प्रमुख तथा उपप्रमुखले पद वहाली गरेका छन् । त्यस्तै, सबै १९ वडाका अध्यक्षहरूले आ–आफ्ना वडा कार्यालयमा पद वहाली गरे ।
धनगढीमा आयोजित एक कार्यक्रममा मुख्य निर्वाचन अधिकृत धनसिंह महराले प्रमुख, उपप्रमुख तथा वडाध्यक्षहरूलाई सपथ ग्रहण गराए । लगत्तै उपमहानगरपालिका प्रमुख वडले वडा सदस्यहरूलाई सपथ ग्रहण गराए ।
दुई बजे मुख्य निर्वाचन अधिकृत धनसिंह महराबाट सपथ ग्रहण तथा प्रमाणपत्र लिइसकेपछि चार बजे उनले धनगढी उपमहानगरपालिकाको कार्यालयमा पदभार ग्रहण गरेका हुन् ।
यसैबीच, धनगढी उपमहानगरपालिकाले धनगढीलाई प्रदेश नम्बर ७ को राजधानी बनाउन आवश्यक पहल गर्ने निर्णय गरेको छ ।
नवनिर्वाचित उपमहानगरपालिका प्रमुख, उपप्रमुख तथा वडाध्यक्षहरूको उपस्थितिमा उपमहानगरपालिकाले नगरभित्रका सरकारी तथा सार्वजनिक ऐलानीपर्ती जमिन तथा खोलानालामा भएको अतिक्रमण कडाईका साथ हटाउने निर्णय गरेको छ ।

धनगढी उपमहानगरपालिकाको यथासिघ्र नगर पाश्र्वचित्र बनाउने पनि निर्णय गरिएको छ । 
पद वहालीपछि नवनिर्वाचित प्रमुख वडले धनगढीलाई प्रदेश नम्बर ७ को राजधानी बनाउन सम्पूर्ण पहल गरिने दृढता व्यक्त गरे । 

निर्णयमा भनिएको छ– ‘उपमहानगरपालिकाभित्र रहेका सरकारी, सार्वजनिक ऐलानी जग्गा तथा खोलानाला किनाराका जग्गामा विभिन्न व्यक्ति तथा संस्थाले पर्खाल तथा अन्य संरचनाहरू निर्माणका साथै खेतीयोग्य जमिनका रूपमा प्रयोग गरी अतिक्रमण भएको र सो को सार्वजनिक उपयोगमा समस्या देखिएको, खोलानालाको भाग साघुँरिदै जाँदा डुबान तथा कटानको समस्या दिनानुदिन बढ्दै गएको हुँदा त्यस्ता सरकारी वा सार्वजनिक ऐलानीपर्ती जमिनको अतिक्रमण हटाई त्यस्ता जग्गाको संरक्षण गर्नुपर्ने स्थानीय तह सेवा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी आदेश–२०७४ को नियम ९ (३३) अनुसार सरकारी वा सार्वजनिक, ऐलानीपर्ती जमिनको अतिक्रमण हटाउने’ निर्णय गरिएको छ ।’
त्यस्तै, उपमहानगरपालिकाले गरिब, आदिवासी जनजाति, थारू, रानाथारू, मुक्त कमैया, हलिया, दलित, पिछडिएको वर्ग, अपाङ्गता भएका व्यक्ति तथा अनाथ असहाय बालबालिकाका लागि विशेष छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।
धनगढीलाई स्वच्छ, सफा सुन्दर (क्लिन ग्रीन सिटी) नगर बनाउने अभियान सञ्चालन गर्ने निर्णयका साथै भ्रष्टाचार विरुद्ध सून्य सहनशीलता कायम गर्दै आर्थिक सुशासन तथा पारदर्शीता कायम गर्न नागरिक गुनासोका लागि टोल फ्री नम्बरको व्यवस्था गर्ने निर्णय गरिएको छ ।
त्यस्तै, नेपाल सरकारबाट वस्ती विकास शहरी योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत निर्माण मापदण्ड २०७२ लागू हुनुपूर्व निर्माण भएका भवनहरूको सम्बन्धमा साविक धनगढी नगरपालिका र पछि समावेश भएका वडाहरूको घरनक्सा पास नभएका, पहिलो तल्ला नक्सा पास भएका, तर माथिल्लो तला पास नभएका भवनहरूको मापदण्डअनुसार भएका भए नक्सा पास गरी अभिलेखीकरण गर्नका लागि ०७४ साउन १ देखि ०७५ असार मसान्तसम्म म्याद दिने तथा नगर क्षेत्रभित्र व्यवस्थित वैज्ञानिक प्रणालीका आधारमा हाउस नम्बरिङ गर्ने समेत निर्णय गरिएको छ ।
त्यस्तै, धनगढी उपमहानगरपालिकाको यथासिघ्र नगर पाश्र्वचित्र बनाउने पनि निर्णय गरिएको छ ।
पद वहालीपछि नवनिर्वाचित प्रमुख वडले धनगढीलाई प्रदेश नम्बर ७ को राजधानी बनाउन सम्पूर्ण पहल गरिने दृढता व्यक्त गरे ।  उनले धनगढीलाई स्मार्ट सिटी बनाउने प्रक्रिया द्रुत गतिमा अघि बढाइने बताए । प्रमुख वडले धनगढीलाई महानगरपालिका बनाउन पहल गरिने, बृद्धबृद्धा भत्ता वितरण प्रणाली सहज बनाउने, उपमहानगरपालिकाका गतिविधिलाई डिजिटल सूचना वोर्डमार्फत सार्वजनिक गर्ने व्यवस्था मिलाइने बताए ।
उनले धनगढी विमानस्थललाई क्षेत्रीय स्तरको विमानस्थलमा स्तरोन्नती गर्न आवश्यक पहल गरिने र एकीकृत सम्पत्ति कर पुनरावलोकन गरी वैज्ञानिक कर प्रणाली लागू गर्ने तथा छाडा गाईवस्तु नियन्त्रण तथा व्यवस्थापन कार्य तत्काल अघि बढाइने बताए ।
त्यस्तै, नवनिर्वाचित उपप्रमुख मिश्रले महिला, दलित, आदिवासी जनजाति, अल्पसंख्यक, विपन्न लगायतका सीमान्तकृत वर्ग समुदायको आर्थिक उत्थानका लागि विशेष विकास योजना लागू गर्न आफू कटिबद्ध रहेको बताइन् ।
उनले २० वर्षसम्म जनप्रतिनिधिबिहीन रहेको धनगढी उपमहानगरपालिकाका बासिन्दाका आकांक्षा तथा चाहनाको सम्बोधनका लागि आफूहरू प्रतिवद्ध रहेको बताइन् । ‘हामी जनतालाई मुस्कानसहितको सेवा प्रदान गर्न प्रतिवद्ध छौं’ उनले दृढता व्यक्त गरिन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार