५ जेष्ठ २०८१, शनिबार

प्रदेश ७ मा नेकपा (एमाले) पहिलो पार्टी, कुन कुन पार्टीले कहाँ कहाँ जिते (सूचिसहित)



धनगढी । प्रदेश नम्बर ७ मा नेकपा एमाले पहिलो पार्टी बनेको छ । कञ्चनपुरको पुनर्बास नगरपालिका जितेसँगै प्रदेश नम्बर ७ मा ३९ तहमा विजयी हुदै नेकपा एमाले पहिलो पार्टी बनेको हो । पुनर्वास नगरपालिकामा एमालेबाट मेयरका उम्मेदवार जीवनराज थापाले ६०७२ र उपमेयरका उम्मेदवार शारदा विष्टले ६५८८ मत पाई विजयी भएका छन् ।
प्रदेश नम्बर ७ मा पहिलो पार्टी को बन्ने भन्नेमा एमाले र काँग्रेस बीच टक्कर थियो । यसअघि ३८÷३८ वटा स्थानीय तहमा जितेर बराबरी अबस्थामा रहेकोमा पुनर्बास नगरपालिका निर्णायक बनेको हो ।


प्रदेश नम्बर ७ मा एमालेले ३९, काँग्रेसले ३८, माओवादी १० र फोरम १ स्थानीय तहमा विजयी भएका छन् । सुदूरपश्चिममा काँग्रेस सभापति शेरबहादुर देउवाको विशेष पकड रहेको भनिए पनि उनले आफ्नो वर्चश्व देखाउन सकेनन् । यसैगरी प्रदेश नम्बर ७ मा ६० प्रतिशत तह (५३) जित्ने दावी गरेको नेकपा एमालेले उसको पकड क्षेत्र अछाम, बाजुरा, दार्चुलामा अपेक्षित नतिजा ल्याउन नसकेपछि ३९ तह (४४ प्रतिशत) मै सिमित हुनु परेको छ ।
२०७० को संविधान सभाको दोस्रो निर्वाचनमा प्रदेश ७ का २१ निर्वाचन क्षेत्र मध्ये एमालेले बझांग र अछामका २÷२, दार्चुला र बाजुराका १÷१ निर्वाचन क्षेत्र जितेको थियो । यसै गरी बैतडी, डोटी कैलालीमा १ ÷१ गरी ९ क्षेत्र जितेको थियो । नेपाली कागे्रसले कंचनपुरमा ४, कैलालीमा २, डडेल्धुरा, बैतडी र डोटीमा १ ÷१ गरी ९ क्षेत्र जितेको थियो ।
कागे्रस र एमालेले ९÷९ क्षेत्र जितेको यस प्रदेशमा फोरम लोकतान्त्रिकले कैलालीमा २ र माओवादीले कैलालीमा १ क्षेत्र जितेको थियो ।


एमाले र कागे्रसको प्रतिश्पर्धा भैरहदा संविधान सभामा १ सिटमा सिमित माओवादी केन्द्रले १० तह जितेर तेस्रो भएको छ भने लोकतान्त्रिक फोरम १ तहमा सिमित भएको छ ।
प्रदेश ७ मा सबैभन्दा बढी तह जितेर पनि एमाले नेतृत्व खुशी छैन । आफ्नो पकड क्षेत्र मानेको अछाम बाजुरा दार्चुलामा अनपेक्षित हार व्यहोरेको छ भने धनगढी उपमहानगरमा जित्ने अवस्था पार्टी चौथो स्थानमा झरेको छ ।
नेपाली कागे्रसले एमालेको पकड क्षेत्रमा धेरै स्थानीय तह जितेको र प्रदेश नम्बर ७ को एकमात्र उपमहानगरपालिकामा विजय प्राप्त गरेकोमा खुशी छ भने कञ्चनपुरमा अनपेक्षित हार व्यहोरेकोमा दुखी छ । कागे्रसले अछाम, बाजुरा, डडेल्धुरा र दार्चुलामा एक्लै जिल्ला समन्वय समिति बनाउदैछ भने एमालेले डोटी, बझांग र कञ्चनपुरमा एक्लै जिल्ला समन्वय समिति बनाउदैछ । एमालेले कैलालीका १३ मध्ये ७ तह जितेपनि ७ प्रमुख र ६ उपप्रमुख गरी १३ पद मात्र पुगेपछि १ मतले बहुमत पुग्नबाट रोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार