१० श्रावण २०८१, बिहीबार

दलहरूद्वारा शान्तिपूर्ण ढंगले निर्वाचन भएकोमा कृतज्ञता व्यक्त



धनगढी । दोस्रो चरणको स्थानीय तह निर्वाचन शान्तिपूर्ण ढंगले सम्पन्न भएकोमा राजनीतिक दलहरूले मतदातासहित सबैमा कृतज्ञता व्यक्त गरेका छन् ।
कैलालीमा क्रियाशील राजनीतिक दलहरूले निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न भएकोमा तथा आम मतदाताले उत्साहपूर्ण ढंगबाट निर्वाचनमा सहभागि भएकोमा आभार व्यक्त गरेका छन् ।
नेपाली कांग्रेस कैलालीले आइतबार प्रेस विज्ञप्ति जारी गरी जिल्लाका सबै १३ स्थानीय तहमा नवनिर्वाचित जनप्रतिनिधिमा बधाई एवं शुभकामना व्यक्त गरेको छ ।
का“ग्रेस कैलालीका सभापति नरनारायण शाह ‘मनु’ द्वारा जारी विज्ञप्तिमा निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष, तथा स्वच्छ ढंगले सम्पन्न गराउन अहम् भूमिका निर्वाह गरेकोमा राजनीतिक दल तथा उम्मेदवारहरू, आम मतदाता, कर्मचारी, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी, सञ्चारकर्मी तथा सञ्चार क्षेत्र, उद्योगी, व्यापारी, शिक्षक, विद्यार्थी, बुद्धिजीवी सबैमा कृतज्ञता व्यक्त गरिएको छ ।
‘नेपालको संविधान–२०७२ लागू भएपछि पहिलो पटक भएको स्थानीय तह निर्वाचनबाट केन्द्रमा रहेको शासकीय अधिकार जनतासम्म ल्याउने प्रक्रिया शुरु भएको छ’ विज्ञप्तिमा उल्लेख छ– ‘यससंगै नेपाली जनतालाई रैतीबाट नागरिक बनाउन तथा शासक बनाउन सात दशकभन्दा बढि समयदेखि पटकपटक गर्दै आएको जनक्रान्ति, सशस्त्र तथा निःशस्त्र आन्दोलन, संघर्षका प्रतिफलहरू संस्थागत हुने क्रम शुरु भएको छ ।
विज्ञप्तिमा ‘संविधानले स्थानीय तहलाई सरकारका रूपमा स्थापित गरेको र वास्तविक रूपमा अधिकारसम्पन्न बनाएको’ उल्लेख गर्दै अगाडि भनिएको छ– ‘दुई दशकपछि भएको स्थानीय तह निर्वाचनसंगै निकै चुनौति र अवसर सिर्जना भएका छन् ।’

एमाले उम्मेदवारद्वारा जिम्मेवार भएर भूमिका निर्वाह गर्ने प्रतिवद्धता
नेकपा (एमाले)का तर्फबाट धनगढी उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार दुर्गाप्रसाद जोशीले नवनिर्वाचित जनप्रतिनिधिहरूलाई नगरलाई समृद्धितर्फ डो¥याउन साथ र सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
‘नवनिर्वाचित जनप्रतिनिधिहरूलाई उपमहानगरलाई समृद्धितर्फ अघि बढाउन आवश्यक पर्ने योजना निर्माणमा एमालेले सकारात्मक भूमिका निर्वाह गर्ने छ’ आइतबार धनगढीमा मतदातालाई धन्यवाद दिन आयोजित कार्यक्रममा उनले भने– ‘निर्वाचनसम्म हामी एकअर्काका प्रतिस्पर्धी थियौं, अब नगरको समृद्धिका लागि काँधमा काँध मिलाएर काम गर्ने छौं ।’
उनले भारतसंग सीमा जोडिएको गौरीफण्टा नाकाको स्तरोन्नती, धनगढी विमानस्थललाई क्षेत्रीय स्तरको विमानस्थल बनाउने काममा आफ्नो पार्टीको सहयोग रहने बताए ।
उनले स्थानीय तहको निर्वाचनमा एमालेले अघि सारेको राष्ट्रियता, आर्थिक विकास, समृद्धि तथा विकासका लागि बौद्धिक क्रान्तिको पक्षमा मतदान गर्ने मतदाताप्रति आभार प्रकट गरे ।
चुनावमा पराजित हुनुको पछाडि आफूहरूको ठूलो गल्ती रहेको उनले स्वीकार गर्दै ‘धनगढी उपमहानगरपालिकामा पराजित हुनुको कारणबारे पार्टीले केही दिनमै आन्तरिक समीक्षा गर्ने’ बताए ।

 

पूर्वाधार विकासमा प्राथमिकता– घोडाघोडी नगरप्रमुख

घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीले नगरको विकासका लागि पूर्वाधार विकासमा ध्यान दिने बताएका छन् ।
उनले बाटोघाटो, शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत र सञ्चारको विकासका साथै रोजगारी सिर्जना गर्न गुरुयोजना तयार पारिने बताए ।
उनले स्थानीय तहको विकासका लागि विनियोजित बजेट सम्बन्धित शीर्षकमा नै खर्च गरिन् बताए ।
उनले सरोकारवाला निकायसँग छलफल गरी सुखड बजार व्यवस्थापन गर्ने मार्गचित्र तयार गरिने बताए ।

 

कांग्रेस उम्मेदवारद्वारा बधाई
घोडाघोडी नगरपालिकामा नेपाली कांग्रेसका तर्फबाट प्रमुख पदका उम्मेदवार रीता चौधरीले नवनिर्वाचित जनप्रतिनिधिहरूलाई बधाई तथा शुभकामना व्यक्त गरेकी छन् ।
आइतबार सुखडमा आयोजित पत्रकार सम्मेलनमा उनले निर्वाचित जनप्रतिनिधिलाई राम्रो कामका लागि सहयोग गर्ने बताइन् ।
उनले नगरका मतदाताले आफू र आफ्नो पार्टीका उम्मेदवारलाई दिएको मतको सम्मान गरेको बताइन् ।
पत्रकार सम्मेलनमा उपमेयर पदका उम्मेदवार हेमबहादुर बमले आफू सधैंभरी नगरबासीको सुख समृद्धिका लागि खटिरहने बताए ।

महिलाको अवस्थामा सुधार ल्याउन कटिवद्ध– महिला जनप्रतिनिधि
कैलालीका स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधिहरूले महिलाको अवस्थामा सुधारका लागि आफूहरू प्रतिवद्ध रहेको दोहो¥याएका छन् ।
जिल्लाका सबै १३ वटा स्थानीय तहमा निर्वाचित उपप्रमुख, महिला सदस्य, दलित महिला सदस्यहरूले महिलाका मुद्दालाई उच्च प्राथमिकतामा राख्ने बताए ।
ओरेक नेपालद्वारा आइतबार धनगढीमा आयोजित ‘स्थानीय तह निर्वाचन–२०७४ मा विजय महिला जनप्रतिनिधिलाई शुभकामना तथा सम्मान’ कार्यक्रममा उनीहरूले महिलामाथि हुने कुनै पनि प्रकारका हिंसा तथा भेदभावविरुद्ध एकजुट भएर लाग्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा धनगढी उपमहानगरपालिकाका नवनिर्वाचित उपप्रमुख सुशीला मिश्र भट्टले स्थानीय तह निर्वाचनले शासनमा महिला प्रतिनिधित्व उल्लेख्य रूपमा बढाएको चर्चा गरिन् ।
महिला जनप्रतिनिधिहरूले महिला हिंसा, चेलिबेटी वेचविखन जस्ता समस्याको निराकरणका लागि कटिवद्ध भएर काम गर्ने बताए ।
स्वतन्त्र उम्मेदवार हमालद्वारा मतदातामा आभार
धनगढी उपमहानगरपालिकामा प्रमुख पदमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले आफूलाई मतदाताले विजेताको निकटतम प्रतिस्पर्धी बनाएकोमा आभार व्यक्त गरेका छन् ।
आइतबार धनगढीमा आयोजित एक कार्यक्रममा हमालले उपमहानगरपालिकाका विजयी जनप्रतिनिधिलाई बधाई दिँदै जनताका पक्षमा काम गर्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार