४ जेष्ठ २०८१, शुक्रबार

धनगढी उपमहानगरपालिकामा काँग्रेस विजयी



धनगढी । प्रदेश नम्बर ७ को एक मात्र उपमहानगरपालिका धनगढीमा नेपाली काँग्रेस विजयी भएको छ ।
उपमहानगरपालिका प्रमुख (मेयर) नेपाली काँग्रेसका उम्मेदवार नृपबहादुर वडले निकटतम प्रतिद्वन्द्वीलाई करिब २८ सय मतले पछाडि पार्दै विजयी भए ।
उपप्रमुख (उपमेयर) मा पनि काँग्रेसकै सुशीला मिश्र भट्टले निटकतम प्रतिद्वन्द्वीलाई ४८ सय बढी मतले पराजित गर्दै विजयी भइन् ।
शनिबार बिहान सार्वजनिक भएको अन्तिम मतगणना परिणाम अनुसार निर्वाचित मेयर वडले १४ हजार तीन सय २४ मत प्राप्त गरे ।
उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार गोपाल हमालले ११ हजार ५ सय २७ मत प्राप्त गरे । त्यस्तै, माओवादी केन्द्रका रामसमझ रानाले १० हजार २ सय ९ मत सहित तेस्रो स्थानमा रहे भने एमालेका दुर्गाप्रसाद जोशीले नौ हजार नौ सय ४६ मत प्राप्त गरे ।
उपमेयरमा निर्वाचित मिश्रले १७ हजार चार सय ८ मत प्राप्त गरिन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका रुकमणि देवकोटाले १२ हजार सात सय ६३ प्राप्त गरिन् । माओवादी केन्द्रबाट उममेयरका उम्मेदवार शान्ति अधिकारी क्षेत्रीले १० हजार दुई सय ५२ मत प्राप्त गरिन् ।
धनगढी उपमहानगरपालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै कैलालीका १३ वटै स्थानीय तहको निर्वाचन सकिएको छ ।
जिल्ला निर्वाचन कार्यालय, कैलालीका अनुसार जिल्लामा नेकपा (एमाले) ले पाँच नगरपालिका र दुई गाउँपालिकामा गरी सात तहमा विजय प्राप्त गरेको छ ।
त्यस्तै, काँग्रेसले एक उपमहानगरपालिका र दुई गाउँपालिका गरी तीन तहमा विजय प्राप्त गरेको छ ।
माओवादी केन्द्रले एक नगरपालिका तथा एक गाउँपालिकामा गरी दुई तहमा र लोकतान्त्रिक फोरमले एक गाउँपालिका जितेको छ ।

विजयी र्‍याली
धनगढी उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख तथा झण्डै दुई तिहाई वडासहित नेपाली काँग्रेस विजयी भएपछि शनिबार धनगढीमा विशाल विजय र्‍याली निस्केको छ ।
मतगणनास्थलबाट बाजागाजा, नाचगान, चर्को नारासहित निस्केको विजय र्‍याली धनगढी चोक, मुख्य धनगढी बजारहुँदै ट्राफिक चौराह पगि समापन भएको थियो ।
र्‍यालीमा नवनिर्वाचित मेयर वड, उपमेयर मिश्र, सांसद पुष्करनाथ ओझा, सांसद प्यारेलाल राना, नेपाली काँग्रेसका नेताहरू, नवनिर्वाचित वडाध्यक्ष तथा वडा सदस्य, र निकै ठूलो संख्यामा कार्यकर्ता र समर्थकको सहभागिता रहेको थियो ।
बिहान करिब ११ बजेतिरबाट शुरु भएको विजयी र्‍यालीमा सहभागी हुन उपमहानगरपालिकाका सबै १९ वडाबाट स्व:स्फूर्त ढंगले हजारौंको संख्यामा समर्थकको ओइरो लागेको थियो ।
नवनिर्वाचित मेयर वडलाई २१ किलोको फूलको माला समेत पहिर्‍याइएको थियो ।
विजयी र्‍यालीमा सम्बोधन गर्दै साँसद ओझाले निर्वाचनका क्रममा मतदातासमक्ष प्रस्तुत प्रतिवद्धतापत्र अनुसार निर्वाचित जनप्रतिनिधिहरूले काम गर्ने विश्वास व्यक्त गरे ।
सांसद ओझाले धनगढीको द्रुत आर्थिक विकासका लागि व्यवस्थित ढंगबाट काम गर्न आग्रह गरे ।

पाँच वर्षभित्र अधिकांस समस्या सम्बोधन गर्छौ– मेयर वड

विजयी र्‍यालीमा नवनिर्वाचित प्रमुख (मेयर) वडले आगी पाँच वर्षभित्र उपमहानगरपालिकाका अधिकांस समस्या समाधान हुने ढंगबाट काम गरिने दोहोर्‍याए ।
उनले मत माग्ने क्रममा जनतासामु गरिएका प्रतिवद्धता पुरा गर्नेमा आफू सधैं सजग रहेको बताए । उनले उपमहानगरपालिकाभित्रका प्रमुख समस्याको छिटो सम्बोधनका लागि आफूहरू प्रयत्नशील रहने बताए । उनले भने– धनगढी उपमहानगरपालिकाका धेरै वस्ती डुबान र नदी कटानका समस्याबाट पीडित छन् । हरेक वर्ष दोहोरिने यस्ता समस्याको सम्बोधनका लागि योजनावद्ध ढंगबाट काम गर्नेछौं ।
उनले जनताको चाहना, भावना र आकांक्षा अनुसार आर्थिक, सामाजिक विकास कार्यलाई अघि बढाइने बताए । नवनिर्वाचित मेयर वडले सम्पूर्ण उपमहानगरबासी मतदातालाई धन्यवाद दिँदै आफूमाथि देखाएको विश्वासमा अलिकति पनि कमी हुन नदिने दृढता व्यक्त गरे ।

योजनावद्ध ढंगले विकास गछौं– उपमेयर मिश्र

विजयी र्‍यालीमा नवनिर्वाचि उपमेयर सुशीला मिश्र भट्टले महिला, दलित, आदिवासी जनजाति, अल्पसंख्यक, विपन्न लगायतका सीमान्तकृत वर्ग समुदायको आर्थिक उत्थानका लागि विशेष विकासका योजना लागू गर्न आफू कटिबद्ध रहेको बताइन् ।
उपमेयर मिश्रले जनताका चाहना र आवश्यकतालाई दृष्टिगत गरी तथा विज्ञहरूको साथ लिएर काम गरिने बताइन् ।

 

करिब दुई तिहाई वडामा काँग्रेस
धनगढी उपमहानगरपालिकाका कबिर दुई तिहाई वडामा नेपाली काँग्रेसविजयी भएको छ । शनिबार सकिएको मतगणना अनुसार धनगढी उपमहानगरपालिकाको १२ वटा वडामा नेपाली काँग्रेस विजयी भएको ।
त्यस्तै, पाँच वटा वडामा माओवादी केन्द्रले जीत हात पारेको छ भने एमालेको भागमा दुई वटा परेका छन् ।
शनिबार सार्वजनिक भएको चार वडाको मतगणना परिणाम अनुसार नेपाली काँग्रेसले थप तीन वडा र माओवादी केन्द्रले थप एक वडामा विजयी हासिल गरेको छ ।
धनगढी उपमहागनरपालिकाको वडा नम्बर ९ मा नेपाली काँग्रेसका प्रेमबहादुर भण्डारीले चार सय ६५ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिस्पर्धी एमालेका नविनसिंह कोलीले चार सय २६ मत प्राप्त गरे ।
त्यस्तै, महिला सदस्यमा काँग्रेसका धौली कडायतले चार सय ४८, दलित महिला सदस्यमा शारदा कुमारी ताम्राकारले चार सय ७२ तथा खुला सदस्यमा लाहानु चौधरी र दिनेश चौधरीले क्रमश: तीन सय ८६ र तीन सय ६८ मत ल्याएर विजयी भए ।
वडा नम्बर १० को वडाध्यक्षमा नेपाली काँग्रेसका राजेन्दर राना विजयी भए । उनले चार सय ३५ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी एमालेका शिवकुमार रानाले तीन सय ८६ मत ल्याएका थिए ।
त्यस्तै, महिला सदस्यमा नेपाली काँग्रेसकी लक्ष्मीदेवी रानाले चार सय ३, खुल्ला सदस्यमा गीता पन्त र अम्मरसिंह रानाले चार सय १६ र चार सय २ मत ल्याएर विजयी भए ।
वडा नम्बर ११ मा माओवादी केन्द्रका गंगाराम राना विजयी भए । महिला सदस्यमा पनि माओवादी केन्द्रकी खगेश्वरी देवी जोशी विजयी भइन् भने दलित महिला सदस्यमा नेकपा एमालेकी चित्रा चौधरी र खुला सदस्यमा नेपाली काँग्रेसका बंशीराना थारू र उत्तमराज जोशी विजयी भए ।
वडा नम्बर १२ मा नेपाली काँग्रेसका गणेशप्रसाद जोशी एक हजार तीन सय एक मतसहित वडाध्यक्षमा निर्वाचित भए ।
उनको निकटतम प्रतिस्पर्धी एमालेका जयबहादुर रोकायाले एक हजार ७९ मत ल्याएका थिए ।
त्यस्तै, महिला सदस्यमा काँग्रेसका रिश्नीदेवी चौधरी, दलित महिला समस्यामा रीता सुनार तथा खुला सदस्यमा विर्खबहादुर सिंह र केशरबहादुर विष्ट विजयी भए ।

 

सम्बन्धित समाचार

धनगढी उपमहानगरमा काँग्रेस विजयी

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार