२ जेष्ठ २०८१, बुधबार

दूधेबालक बोकेर साइकलमा तरकारी बेच्दै



धनगढी । राजकुमारी चौधरी (२६) को हरेक दिन बिहान दुई/तीन घण्टा साइकलको पछाडि दूधे बच्ची र तरकारी राखेर घरघर डुल्दै बित्ने गरेको छ । उनी साइकलमा तरकारी सँगै १० महिने दूधे बच्ची राखेर घरघरमा गई तरकारी बेचेर जिविकोपार्जन गरी उदाहरणीय समेत बनेकी छन् ।

साइकलमा तरकारी सँगै दुधे बच्ची राखेर तरकारी बेच्दै गरेकी राजकुमारी । तस्बिर : दीपक ओली, धनगढी ।

धनगढी उपमहानगरपालिका–८, धनगढी गाउँमा बसोबास भएकी राजकुमारीले जिविकोपार्जनका लागि साइकलको पछाडि तरकारीसँगै दूधे बच्ची राखेर घरघर डुलेर तरकारी बेच्नु आफ्नो बाध्यता भएको बताइन् ।
‘सम्पत्तिको नाममा दुई कोठे कच्ची घर मात्र छ’ राजकुमारीले भनिन्– ‘साझबिहान हातमुख जोर्न र बच्चाको शिक्षादिक्षाका लागि भनेर हरेक दिन बिहान साइकलमा तरकारीसँगै दूधे बच्ची डोर्‍याउँदै घरघरमा गएर तरकारी बेच्ने काम थालेकी हुँ ।’ उनले यसरी तरकारी बेच्न थालेको दुई वर्ष हुन थाल्यो ।
धनगढीको एलएन चोकमा साइकलमा दूधे बच्ची राखेर तरकारी बेच्दै गरेको अवस्थामा भेटिएकी राजकुमारीले घरमा आफूसहित चार जनाको परिवार रहेको बताइन् । राजकुमारीका श्रीमान धनगढीको एक हार्डवयर पसलमा काम गर्छन् भने १० वर्षीय छोरा नीजि स्कूलमा एक कक्षामा अध्ययन गर्छन् ।
श्रीमानको तलबले छोरा पढाउन र घरखर्च धान्न समस्या भएपछि आफूले हरेक बिहान साइकलमा तरकारी राखेर घरघरमा गएर बेच्ने काम थालेको राजकुमारीको भनाई छ ।
‘साझपख हाटबजारबाट आलु, टमाटर, खुर्सानी, भिण्डी, करेला, बोडी, लौका लगायतका तरकारी खरिद गरी ल्याउने र भोलिपल्ट बिहानै साइकलमा त्यही तरकारीसँगै दूधे छोरी राखेर घरघर डुलेर बेच्ने गर्छु,‘ राजकुमारीले भनिन्– ‘खेतीपाती गर्न जमिन छैन् । श्रीमानको काम गरेको तलबले खान पुग्दैन् । त्यहि भएर साइकलमा दूधे छोरीसँगै तरकारी बेच्ने काम थालेकी हुँ ।’
बिहान प्राय:जसो सबैलाई तरकारी चाहिएको हुन्छ । बिहानै घरआँगनमा ताजा तरकारी पाएपछि त झन् खुशी हुँदै किन्ने गरेको राजकुमारी बताइन् । उनले हरेक दिन बिहान दुई/तीन घण्टा घरघरमा गएर तरकारी बेचेर मासिक ७/८ हजारसम्म बचत हुने गरेको बताइन् ।
‘म बिहानै साइकलमा तरकारी सँगै बच्ची राखेर घरघर डुलेर तरकारी बेच्छु । श्रीमानले खाना बनाएर आफूले खाई काममा जान्छन्,‘ उनले भनिन्– ‘म तरकारी बेचेर आएपछि खाना खाएर घर र बालबच्चाको सरसफाई गरेर त्यसपछि छोराछोरी खेलाउँदै आराम गर्ने गर्छु ।’ राजकुमारीले श्रीमानको सल्लाहमै घरघरमा गएर तरकारी बेच्ने काम थालेको बताइन् ।
घरमा बच्ची हेर्ने कोहि छैन् । बच्चीलाई पनि बेलाबेला स्तनपान गरिराख्नुपर्ने भएकोले जस्तोसुकै मौसममा पनि साइकलमा तरकारी सँगै बच्चीलाई डोर्‍याएर लिनुपर्ने बाध्यता हो । सुरु सुरुमा आफू र बच्चीलाई असजिलो हुने गरेको भए पनि आजकाल भने बानी परेर कुनै असजिलो महसुस हुँदैन् राजकुमारीले भनिन् ।
घरमा खाली अरुका कुरा काँटेर बस्नु भन्दा घरखर्च टार्न भनेर यसरी तरकारी बेच्न थालेकी हुँ । साइकलमा घरघरमा गएर तरकारी बेच्न थालेपछि आफ्नो दैनिक जीवनयापन पनि सहज हुँदै गएको राजकुमारीले बताइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार