४ जेष्ठ २०८१, शुक्रबार

धनगढीमा मतगणना जारी : काँग्रेसको अग्रता कायमै



धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाको बिहीबार पनि मतगणना जारी रहेको छ । बिहीबार रातिसम्मको मतगणना नतिजा अनुसार नेपाली काँग्रेसले मेयर तथा उपमेयर दुवैमा अग्रता कायमै गरेको छ ।
पछिल्लो मतगणना परिणाम अनुसार धनगढी उपमहानगरपालिका प्रमुखमा कांग्रेसका उम्मेदवार नृपबहादुर वडले १० हजार चार सय ५६ मतका साथ अग्रता लिएका छन् । उनलाई स्वतन्त्र उम्मेदवार गोपाल हमालले पच्छ्याई रहेका छन् । हमालले नौ हजार पाँच सय ५० मत प्राप्त गरेका छन् ।
त्यस्तै, एमालेका दुर्गाप्रसाद जोशीले सात हजार पाँच सय ३८ र माओवादी केन्द्रका रामसमझ रानाले सात हजार २५ प्राप्त गरेका छन् ।
उपप्रमुख पदका उम्मेदवार कांग्रेसका सुशीला मिश्र भट्ट १३ हजार ५७ का साथ प्रतिपस्र्धी भन्दा तीन हजार बढी मतले अगाडि रहेकी छन् ।
उपमेयर पदका एमालेका उम्मेदवार रूक्मणी देवकोटाले नौ हजार सात सय २३ र माओवादी केन्द्रका उम्मेदवार शान्ति अधिकारी क्षेत्रीले सात हजार दुई सय ८० मत प्राप्त गरेका छन् ।
बिहीबार वडा नम्बर पाँच र बुधबार राति वडा नम्बर ६ र १४ को अन्तिम नतिजा सार्वजनिक भएको छ ।
वडा नम्बर पाँचमा नेपाली काँग्रेसको पुरै टिम विजयी भएको छ । काँग्रेसका उम्मेदवार हिरासिंह पातली वडाध्यक्षमा निर्वाचित भए । उनले एक हजार दुई सय ५१ मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका धिमलाल जोशीले नौ सय तीन मत प्राप्त गरे ।
त्यस्तै, महिला सदस्यमा यशोदा भण्डारी, दलित महिला सदस्यमा मायादेवी विश्वकर्मा र खुला सदस्यमा बब्लुकुमार चौधरी र भूमिराज जोशी विजयी भए ।
वडा नम्बर ६ मा नेकपा माओवादी केन्द्र टिम सहित विजयी भएको छ । वडा नम्बर छ मा माओवादीका उम्मेदवार भागीराम चौधरी आठ सय ७६ मत सहित विजयी भए ।
त्यस्तै, महिला सदस्यमा भावना चौधरी, दलित महिला सदस्यमा धर्मीदेवी सार्की र खुला सदस्यमा महेन्द्रबहादुर थापामगर तथा खुशीराम चौधरी विजयी भए ।
वडा नम्बर १४ मा एमाले उम्मेदवार रामबजारी थारूले एक हजार तीन सय ६२ मतसहित विजयी भए ।
त्यस्तै, महिला सदस्यमा देवी भण्डारी, दलित महिला सदस्यमा खगिमायादेवी विश्वकर्मा र खुला सदस्यमा रामबहादुर नेपाली तथा डम्मरबहादुर थापा विजयी भए ।
बिहीबारसम्म धनगढी उपमहानगरपालिका ११ वटा वडाको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ । सार्वजनिक भएको मतपरिणाम अनुसार नेपाली काँग्रेसले ६ वडा, नेकपा एमालेले २ वडा र नेकपा माओवादी केन्द्रले तीन वडा जितेका छन् ।
बिहीबार वडा नम्बर ७, ८ र ९ मा मतगणना भइरहेको छ । तीनै वडामा नेपाली कांग्रेसका वडाध्यक्षसहितमा उम्मेदवारहरूले अग्रता लिइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार