४ जेष्ठ २०८१, शुक्रबार

जनआकांक्षा अनुसारका कार्य गर्न जनप्रतिनिधिलाई चुनौति



धनगढी । १५ वर्षपछि स्थानीय तहको निर्वाचनबाट जनप्रतनिधिहरू छानिएपछि उनीहरूबाट स्थानीय स्तरमा विकास हुने आम नागरिकको अपेक्षा छ । संविधानले पनि स्थानीय तहलाई अत्याधिक अधिकार दिए पनि कानूनको अभाव, प्रदेश सभा गठनको अनिश्चय र सीमित श्रोतको भरमा नागरिकका सबै अपेक्षा पूरा हुनेमा आशंका गरिएको छ । सञ्चार प्रतिष्ठान नेपालको आयोजनामा धनगढीमा भइरहेको स्थानीय सरकार र मिडिया क्षमता अभिवृद्धि सम्बन्धी तालिमको दोस्रो दिन स्थानीय तह सञ्चालनका चुनौति र उपाय विषयक् प्यानल छलफलका सहभागीले यस्तो कुरा बताएका हुन् ।
सूचना र प्रविधिको विकासले संसारको कुरा सबैले थाहा पाएका नागरिकका आंकाक्षाहरू पनि बढ्दै गएकाले कसरी पुरा गर्ने भन्ने चुनौति जनप्रतिनिधिमा थपिएको छ, प्राध्यापक डा. हेमराज पन्तले भने, ‘प्रदेश सरकार नबन्नु, संरचनाले मुक्त रूप नलिनु र ऐन, नीति नबन्नुले जनप्रतिनिधिलाई काम गर्न समस्या देखिन्छ ।’
कार्यक्रममा कैलाली बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख सुरेन्द्र चन्दले जनप्रतिनिधिले काम गर्दा आफूले पुरा गर्न सक्ने वा नसक्ने प्रष्ट जवाफ दिनुपर्ने बताउँदै, विगतका राजनीतिक दलहरूले झुटा आश्वासन बाढ्दा राज्यप्रतिको विश्वास घटेको बताए ।
नव निर्वाचित जनप्रतिनिधिहरूले सबै पक्षसँग सहकार्य गर्दै आ–आफ्नो गाउँपालिका र वडाको विकास गर्ने सोच बनाएको बताए ।
जोशीपुर गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष रामकृष्ण चौधरीले स्थानीय तहलाई अधिकार धेरै आएको र सबै पक्षको सल्लाहमा भौतिक पूर्वाधार, सामाजिक सांस्कृतिक क्षेत्रको विकासमा जोड दिने बताए । उनले जनप्रतिनिधिलाई नीतिगत र सैद्धान्तिक ज्ञान नभएकाले क्षमता अभिवृद्धिको कार्यक्रम सञ्चालन गर्न जरुरी भएको बताए ।
कार्यक्रममा जोशीपुरकी नवनिर्वाचित उपाध्यक्ष गीता कठरियाले आफूले चिराकी र भलमन्सालाई गाउँसभामा समेटने र घरेलु हिंसा न्यूनीकरण गर्न र महिला सशक्तिकरणका कार्यक्रमलाई प्रभावकारी ढंगले अघि बढाउने बताइन् ।
कार्यक्रममा धनगढी उपमहानगरपालिका–१, का वडाध्यक्ष सन्तोष मुडभरी, १८ का वडाध्यक्ष मुरारी अधिकारी, १९ का वडाध्यक्ष तिलुराम चौधरीले सर्वपक्षीय भेलाबाट योजनाहरूको प्राथमिकीकरण गरी कार्यान्वयन गरिने बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष धर्मेन्द्र झाले सहजीकरण गरिरहेका छन् । मंगलबारदेखि शुरु भएको तालिम आज (बिहीबार) समापन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार