१८ बैशाख २०८१, मंगलवार

धनगढीमा काँग्रेसको अग्रता कायमै



धनगढी । धनगढी उपमहानगरपालिकामा नेपाली काँग्रेसले अग्रता कायमै गरेको छ । सोमबार साँझसम्मको मतगणना नतिजाअनुसार काँग्रेसका मेयर पदका उम्मेदवार नृपबहादुर ओडले ४२११ मत प्राप्त गरेर अग्रस्थानमा रहेका छन् ।
उनलाई स्वतन्त्र उम्मेदवार गोपाल हमालले ३९९० मत सहित पच्छ्याई रहेका छन् ।
त्यस्तै, उपमेयरमा पनि काँग्रेसका सुशीला मिश्र भट्टले ४९७३ मत सहित पहिलो स्थानमा रहेका छन् ।
एमालेका उम्मेदवार दूर्गाप्रसाद जोशीले ३३०९ मत तथा उपमेयरका उम्मेदवार रुकमिणी देवकोटाले ४२१६ मत प्राप्त गरेका छन् ।
त्यस्तै, मेयर पदका माओवादी केन्द्रका उम्मेदवार रामसमझ रानाले २०१८ तथा उपमेयर पदका उम्मेदवार शान्ति अधिकारी क्षेत्रीले २७३० मत प्राप्त गरेका छन् ।
वडा नम्बर २ र १७ मा काँग्रेस विजयी
उपमहानगरपालिकाको वडा नम्बर २ र १७ मा नेपाली काँग्रेसको पुरै टिम विजयी भएको छ ।
वडा नम्बर २ मा काँग्रेसका नरबहादुर बम वडाध्यक्षमा निर्वाचित भएका छन् । त्यस्तै, सदस्यमा मानबहादुर सिंह, मानबहादुर चौधरी, महिला वडा सदस्यमा रत्ना बिष्ट र दलित महिला सदस्यमा मीना रैका विजयी भएका छन् ।
वडा नम्बर १७ मा काँग्रेसका माधव राना वडाध्यक्षमा निर्वाचित भएका छन् ।
१८ घन्टापछि पुन: मतगणना
मुचुल्का विवादमा आइतबार साँझदेखि स्थगित भएको धनगढी उपमहानगरपालिकाको मतगणना सोमबार दिउँसो २ बजेदेखि शुरु भएको छ ।
सर्वदलीय बैठकमा सहमति जुटेपछि कैलालीको धनगढी उपमहानगरपालिकामा मतगणना सोमबार २ बजेदेखि सुरु भएको हो ।
सहमतिपत्रमा मुख्य निर्वाचन अधिकृति धनसिंह महरा, प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, प्रमुख सेनानी टेकबहादुर चन्द, सशस्त्र प्रहरीका उपरीक्षक गणेश संग्रौला, प्रहरी उपरीक्षक अर्जुन चन्दसँगै प्रमुख दल नेपाली कांग्रेसका पूर्ण कुँवर, एमालेका दुर्गाप्रसाद जोशी, माओवादी केन्द्रका रमेशसिंह धामीलगायतले हस्ताक्षर गरेर ६ बुँदे सहमति गरेका छन् ।
‘क्षेत्रीय निर्वाचन कार्यालयबाट मतदान अधिकृतहरूलाई उपलब्ध गराइएका सिलका नम्बरहरू तथा मतदान केन्द्रमा मतपेटिकामा सिल लगाउदा उम्मेदवार र उम्मेदवारका मतदान प्रतिनिधिलाई उपलब्ध गराइएका सिल नम्बरहरू मिलाई मिलेमा मात्र उम्मेदवार वा जिनको प्रतिनिधिको रोहवरमा मतपेटिका खोली मतगणना गर्ने’ सहमति भएको पहिलो बुँदामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार