१८ बैशाख २०८१, मंगलवार

कैलालीमा एमाले ४ काग्रेस र फोरम १/१ तहमा विजयी



धनगढीे । कैलालीका १३ स्थानीय मध्ये छ तहको परिणाम घोषणा भएको छ । परिणाम आएका छ मध्ये नेकपा एमाले चार, नेपाली कांग्रेस र लोकतान्त्रिक फोरमले १/१ स्थानमा जीत हासिल गरेका छन ।
सोमवार साँझ घोषणा भएको परिणाम अनुसार एमालेले गोदावरी नगरपालिका र गौरीगंगा नगरपालिकामा मेयर र उपमेयर जितेको छ । गोदावरीमा एमालेका उम्मेदवार हरिसिंह साँउदले नौ हजार आठ सय ७० मत पाएर विजयी भएको निर्वाचन अधिकृत मोहन मरासिनीले वताउनुभयो ।
उहाँका अनुसार प्रतिद्धन्द्धी नेपाली कांगेसका विरेन्द्र भट्टले आठ हजार चार सय ५७ मत पाउनु भएको छ । उपमेयरमा एमालेकै रत्ना कठायतले १० हजार २५ मत पाएर विजयी हुनुभयो भने प्रतिद्धन्द्धी काग्रेसका उम्मेदवार भगवती पाठकले आठ हजार नौ सय ७२ मत पाउनुभयो । गोदावरीमा नेकपा माओवादी केन्द्र तेस्रो भएको छ । सो नगरपालिकामा छ वडा एमालेले,पाँच काग्रेस र एक माओवादीले जितेका छन ।
निर्वाचन अधिकृत माहेनराज जोशीका अनुसार गौरीगंगामा एमालेका उम्मेदवार भीम देउवाले पाँच हजार आठ सय ९१ मत पाएर विजयी मेयर पदमा विजयी हुनुभएको छ । उहाँका प्रतिद्धन्द्धी नेकपा माओवादी केन्द्रका देवीदत्त कँडेलले पाँच हजार आठ सय ३० मत पाउनुभयो । यस्तै उपमेयरमा एमालेकै अञ्चला चौधरीले छ हजार एक सय ६३ मत पाउनुभयो । उहाँका प्रतिद्धन्दी करुणा चौधरीले पाँच हजार तीन सय ५३ मत पाउनुभयो । गौरीगंगामा नेपाली कांग्रेसले तेस्रो भएको छ ।
एमालेले यसअघि चुरे र मोहन्याल गाउँपालिका जितेको थियो । लोकतान्त्रिक फोरमले सोमवार विहान जानकीनगर गाउँपालिका र काँग्रेसले यसअघि नै जोशीपुर गाउँपालिका जितिसकेको छ ।
मतगणना भइरहेका सात तहमा नेपाली कांग्रेस धनगढी उपमहानगरपालिका र वर्दगोरिया गाउँपालिकामा अगाडि छ । एमाले टीकापुर र लम्कीचुँहा नगरपालिकामा अग्रता कायम गरिहरको छ । भने नेकपा माओवादी केन्द्रले घोडाघोडी नगरपालिका र कैलारी गाउँपालिकामा अग्रता लिइरहेको छ । लोकतान्त्रिक फोरमले भने भजनी नगरपालिकामा मात्र अग्रता कायम राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार