१० श्रावण २०८१, बिहीबार

सुरक्षा प्रबन्ध कडा बनाइएको छ– क्षेत्रीय प्रशासक



डोटी । सुदूरपश्चिमका क्षेत्रीय प्रशासक शिशिरकुमार ढुंगानाले दोस्रो चरणको स्थानीय तह निर्वाचनमा प्रदेश नम्बर ७ का सबै मतदान केन्द्रमा बम डिस्पोजल टोली सहितको सुरक्षा व्यवस्था मिलाइएको बताएका छन् ।
स्थानीय तहको निर्वाचनमा शान्ति सुरक्षाको बस्तु स्थितिका बारेमा जानकारी गराउन सोमबार डोटीको दिपायलमा गरिएको पत्रकार सम्मेलनमा क्षेत्रीय प्रशासक ढुंगानाले भने– ‘मतदान, मतपेटिका ढुवानी, मतगणना र विजय उत्सवलाई समेत ध्यानमा राखेर हामीले सुरक्षा योजना वनाएका छौं ।’
उनले निर्वाचनका वेला हुन सक्ने अप्रिय घटनालाई दृष्टिगत गरी प्रत्येक मतदान केन्द्रमा एक बम डिस्पोजल टोलीको व्यवस्था गरिएको जानकारी दिए । उनले भने– ‘७ नम्बर प्रदेशमा ९० बम डिस्पोजल टोली, एक माईन डिटेक्टिभ वाहन र नेपाली सेनाको रेञ्जर फोर्स पनि तयारी अवस्थामा छ ।’
उनले निर्वाचन सुरक्षाका कारण सोमबार बिहानैदेखि अन्तर्राष्ट्रिय सीमानामा ७२ घण्टाका लागि बन्द गरिएको बताए । उनले भने– ‘आन्तरिक (प्रदेश र प्रदेशबीचको सीमाना) सीमाना पनि सील गर्नका लागि प्रदेश नम्बर ६ को सुरक्षा संयन्त्रसंग छलफल भइरहेको छ ।’
क्षेत्रीय प्रशासक ढुंगानाले निर्वाचनका लागि तीन तहको सुरक्षा व्यवस्था मिलाइएको बताए । विगतका अनुभव र सुरक्षा अवस्थालाई ध्यान दिँदै प्रदेश नम्बर ७ का तीन सय १८ मतदान केन्द्रहरूलाई अति संवेदनशील र तीन सय ३७ केन्द्रलाई संवेदनशीलको सूचीमा राखेर सुरक्षा व्यवस्था मिलाएको ढुंगानाले बताए ।
उनले प्रत्येक मतदान केन्द्रमा नेपाली प्रहरी र म्यादी समेतको २० जनाको टोली हुने तथा सशस्त्र प्रहरी पनि परिचालन गरिने जानकारी दिए ।
एक उपमहानगरपालिका, ३३ नगरपालिका र ५४ गाउँपालिका गरी ७ नं. प्रदेशमा रहेका ८८ स्थानीयको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्नका लागि २२ हजार सात सय पाँच सुरक्षाकर्मी परिचालन गरिएको ढुङ्गानाले जानकारी दिए ।
पा“च हजार एक सय नेपाली सेना, आठ हजार दुुई सय ७८ नेपाल प्रहरी, छ हजार चार सय ७० म्यादी प्रहरी र दुुई हजार छ सय ८८ साथै एक सय २० जना राष्ट्रिय अनुसन्धानका सुरक्षाकर्मी सुदूरपश्चिममा परिचालन गरिएको प्रशासक ढुंगानाले जानकारी दिए ।
सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै नेपाली सेनाको सुदूरपश्चिम पृतना मुख्यालय दिपायलमा हेलिकप्टर पनि तयारी अवस्थामा राखिएको बताउँदै ढंगानाले हेलिकप्टरलाई जटिल अवस्थामा र संवेदनशील केन्द्रवाट मतपेटिका ढुवानीका लागि प्रयोग गरिने उल्लेख गरे ।
प्रशासक ढुंगानाले मतदान स्थलदेखि मतदातको घर–घरसम्मको सुरक्षा व्यवस्था मिलाएको बताए । ८८ स्थानीयतहको चुनाव सम्पन्न गर्नका लागि एक हजार एक सय ९ मतदान स्थल र एक हजार सात सय ८१ मतदान केन्द्रमा मतदान हुनेछ । यस प्रदेशमा १३ लाख नौ हजार पाँच सय ४६ मतदाता रहेका छन् ।
मतगणनाका लागि प्रत्येक स्थानीय तहमा दुई टोली बनाइएको र चार दिनभित्र सवै स्थानीय तहको परिणाम घोषणा भइसक्ने पनि उनले बताए । निर्वाचनका क्रममा अवान्छित क्रियाकलापहरू हुन सक्नेतर्फ मध्यनजर गर्दै हालसम्म १६ जनालाई नियन्त्रणमा लिइएको ढुङ्गानाले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार