१० श्रावण २०८१, बिहीबार

स्थानीय निर्वाचन–२०७४ : मौन अवधि शुरु



धनगढी । बुधबार हुन लागेको दोस्रो चरणको स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै आइतबार राति १२ बजेदेखि मौन अवधी शुरु भएको छ । मतदान हुने दिनभन्दा ७२ घन्टा अघिको अवधिलाई चुनावमा भाग लिएका दल, उम्मेदवारहरूले कुनै किसिमको चुनावी प्रचारप्रसारका कार्यक्रम गर्न रोक लगाउने गरिन्छ ।
क्षेत्रीय निर्वाचन कार्यालय, धनगढीले मौन अवधीको समयमा फेसवुक, ट्विटर लगायतका सामाजिक सञ्जाल तथा कुनै अन्य माध्यमबाट कुनै पनि दल वा उम्मेदवारको प्रचारप्रसार गर्न रोक लगाइएको बताएको छ ।
स्थानीय तह निर्वाचन आचारसंहितामा मौन अवधिको समयमा कोही पनि दल तथा उम्मेदवारले प्रचारप्रसार गर्न र मत माग्न नहुने, मौन अवधि शुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको तीन सय मिटर वरिपरी राखिएका आप्mना निर्वाचन चिन्ह तथा प्रचारप्रसार सामग्री हटाएको हुनुपर्ने, एसएमएस, फेसवुक, भाइवर जस्ता विद्युतीय सञ्चार माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने, उम्मेदवार वा राजनीतिक दलको निर्वाचन चिन्हअंकित पहिरन, टोपी, स्टीकर, लोगो, झोला, ट्याटुजस्ता सांकेतिक सामग्रीको प्रयोग गर्न, बिक्री गर्न वा प्रदर्शन गर्न वा गराउन नहुने, उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने उल्लेख छ ।
निर्वाचन कार्यालय धनगढीका निर्वाचन अधिकृत मोहनराज अर्यालले २०७० सालको संविधान सभा निर्वाचनमा पनि सामाजिक सञ्जाल लगायतका विद्युतीय सामग्रीबाट प्रचारप्रसारमा रोक लगाएको भए पनि पूर्ण पालना नभएकोले यस पटक कार्यालयले प्रभावकारी अनुगमन गर्ने बताए ।
कार्यालयका अनुसार आचारसंहिता विपरित मौन अवधिमा कुनै पनि दल वा उम्मेदवारले त्यस्ता किसिमका प्रचारप्रसारका क्रियाकलाप गरेको पाइएकामा तत्काल रोक लगाइने छ ।
निर्वाचनको मौन अवधिको पालना नगरी निर्वाचन आचार संहिताविपरीत कुनै पनि किसिमले निर्वाचनको प्रचारप्रसार गरिएको पाइएमा त्यस्ता दल, संस्था, उम्मेदवार र व्यक्तिहरूमाथि निर्वाचन आयोग ऐन २०७३ बमोजिम हदैसम्मको कारबाही हुने कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार