१० श्रावण २०८१, बिहीबार

सरकारले जनतालाई ढाँटिरहेको छ– नेपाल



धनगढी । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले वर्तमान गठवन्धन सरकारले जनतालाई ढाँटिरहेको आरोप लगाएका छन् ।
‘वर्तमान गठबन्धन सरकार बचनमा अड्न नसक्ने खालको छ’ आइतबार धनगढीमा पत्रकारहरूसंगको भेटघाटमा बरिष्ठ नेता नेपाललले भने– यो सरकार या त जान्दैन अथवा जानेर पनि बुझ पचाउ“छ वा जनतालाई ढाँटिरहेको छ ।
उनले शेरबहादुर देउवाले प्रधानमन्त्री भएलगत्तै चार वटै प्रदेशको स्थानीय तहको निर्वाचन एउटै समयमा हुने बताए पनि पछि दुई नम्बर प्रदेशको मिति सारेको बताए ।
उनले राजपालाई सहमतिमा ल्याउन दुई नम्बर प्रदेशको निर्वाचनको मिति सारिएको भनिए पनि सरकारले उनीहरूसंग सल्लाह नै नगरेको बताए ।
नेता नेपालले सरकारको यस्तै चालले आगामी माघ ७ भित्र प्रदेश र केन्द्रको चुनाव हुनेमा विश्वास गर्न नसकिने बताए ।
उनले एमाले बाहेक अरु कुनै पनि दलसंग भिजन नभएको दाबी गरे । ‘सत्तारुढ दलहरूसंग न त कुनै भिजन छ, न देशको सेवा गर्ने मिसन नै छ’ उनले वर्तमान सरकारले लोकतन्त्रका मूल्यमान्यतामाथि प्रहार गरिरहेको आरोप लगाए ।
उनले संक्रमणकाल अन्त्यका लागि विधिहरु लागू गर्नुपर्ने, पद्धति बसाल्नु पर्ने र जनतालाई सबै कुरा नीतिका आधारमा चल्दैछ भनेर आश्वस्त पार्नुपर्ने बेलामा मनोनयनपत्र दर्ता गर्ने अघिल्लो राती चुनावको मिति सार्ने जस्ता काम भएको बताए ।
उनले कांग्रेस र माओवादी केन्द्रले विभिन्न बहानामा देशभित्रको आन्तरिक एकतालाई विभाजन गर्न लागेको आरोप लगाए । ‘पहिले एक मधेश, एक प्रदेशको कुरा थियो, त्यो एमालेको अडानका कारण रोकियो, तर अझै पनि मधेशमा दुई प्रदेशको खतरनाक प्रयास जारी छ’ उनले भने ।
पूर्वप्रधानन्त्री समेत रहेका नेता नेपालले संविधानलाई कार्यान्वयन हुन नदिने योजना अन्तर्गत २ नम्बर प्रदेशको चुनाव सारिएको दाबी गरे ।
‘नेकपा एमालेलाई मधेश विरोधी भनिन्छ नि’ पत्रकारको प्रश्नमा नेता नेपालले एमालेले विजय गच्छेदारको पार्टीसंग मिलेर विराटनगर महानगरपालिकामा चुनाव लड्ने पार्टी कसरी मधेस विरोधी हुन्छ भन्ने प्रतिप्रश्न गरे ।
उनले सुदूरपश्चिम विश्वविद्यालय, मेडिकल कलेज, महाकाली नदी करिडोर सडक, रानी जमरा कुलरिया आयोजना, पाटनमा पोलिटेक्निक इन्स्टिच्यूट, जनता आवाश कार्यक्रम, बाल स्याहार गृह, मध्यपहाडी लोकमार्ग लगायतका आयोजना एमाले नेतृत्वको सरकारको पहलमा शुरु भएको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार