८ जेष्ठ २०८१, मंगलवार

लोकतन्त्र र आर्थिक विकासका लागि काँग्रेसको नेतृत्व आवश्यक–प्रधानमन्त्री देउवा



धनगढी । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जनतालाई अधिकारसम्पन्न बनाइराख्न लोकतन्त्र टिक्नु अनिवार्य रहेको र लोकतन्त्र बलियो बनाउन काँग्रेस मजबुत हुन आवश्यक रहेको बताएका छन् ।
नेपाली काँग्रेसले सोमबार धनगढीको क्याम्पसचोक तथा फूलवारीमा आयोजना गरेको आयोजना गरेको चुनावी सभामा सभापति देउवाले काँग्रेस विजयी भएमा प्रदेश नम्बर ७ को तीब्र आर्थिक विकास सम्भव भएको चर्चा गरे ।
उनले प्रदेश नम्बर ७ को दु्रत विकासका लागि पश्चिम सेती र पञ्चेश्वर जलविद्युत परियोजना तत्काल अघि बढाइने बताए ।
उनले गौरीफन्टा नाकाको स्तरोन्नती गर्ने प्रक्रिया अघि बढेको बताए । गेटा मेडिकल कलेजलाई मुलुककै नमुना मेडिकल कलेज बनाउने आफ्नो अठोट रहेको बताए । प्रधानमन्त्रीले गेटा विमानस्थलको स्तरोन्नतीका लागि तत्काल थप बजेट व्यवस्था गर्ने, धनगढी उमहानगरपालिकाका हरेक गाउँमा कालोपत्रे सडक विस्तार गर्ने, नदी कटान र डुबान नियन्त्रणका लागि वृहत योजना बनाएर कार्य अघि बढाउने तयारी भइरहेको बताए ।
सभापति देउवाले नेपाली काँंग्रेसले मुलुकका सबै जातजाति, धर्म, सम्प्रदाय, भाषाभाषी, क्षेत्र, लिङ्ग, वर्ग, समुदायलाई शासनसत्तामा समान अवसर र अधिकार प्रदान गर्न स्थानीय तह निर्वाचनमा समावेशीताका आधारमा उम्मेदवार बनाएको बताए ।
उनले काँग्रेस सधैं पछाडि पारिएका वर्ग समुदायको उत्थानका लागि कटिवद्ध भएकोले दलित समुदायबाट धनगढी उपमहानगरपालिकाको मेयरको उम्मेदवार बनाएको चर्चा गरे ।
उनले भने– ‘दलित समुदायबाट आएका नेता नृप ओडलाई हामीले उपमहानगरपालिकाको मेयरको उम्मेदवार बनायौं ।’ ‘कोही दलितलाई कसरी नमस्ते गर्ने ? भनेर भन्नुहुन्छ रे’ सभापति देउवाले भने– ‘तपाईहरूले उहाँलाई नमस्ते गर्नै पर्दैन, उहाँले नै तपाईहरूलाई नमस्ते गर्नुहुन्छ । यति सरल र सहज नेता, मेयर तपाईले पाउनुहुन्न ।’
कार्यक्रममा पूर्व मन्त्री तथा काँग्रेसका केन्द्रीय सदस्य डाक्टर प्रकाश शरण महतले नेपाली काँग्रेसको नेतृत्वका कारण कैलालीमा २२ पुल निर्माण भएपछि मात्रै सुदूरपश्चिमको राजधानीसंग सिधा सम्पर्क सम्भव भएको बताए ।
सांसद तथा केन्द्रीय सदस्य प्रदीप पौडेलले काँग्रेस नेतृत्वका कारण नै मुलुकमा शान्ति स्थापना भएको, संविधान जारी हुनुका साथै कार्यान्वयन सम्भव भएको चर्चा गरे ।
नेता पौडेलले नेपाली काँग्रेसले मात्रै नेपाल जस्तो बहुजातीय, बहुसांस्कतिक, बहुभाषी, बहुधार्मिक विविधता भएको देशलाई एकतावद्ध बनाउन सक्ने बताए ।
‘पहाडको टाकुरामा बसेर मधेसका जनताले अधिकार पायो भने आफ्नो अधिकार खोसिएको ठान्ने पहाडिया अतिवाद पनि यही छ । मधेसमा बसेर पहाडिया जनतालाई सधैं शासकका रूपमा देख्ने मधेसी अतिवाद पनि यही छ’ उनले भने– ‘काँग्रेसले यी दुवै अतिवादलाई परास्त गरेर हामी मधेस र पहाडलाई एकसुत्रमा बाध्न चाहन्छ ।’
सभामा केन्द्रीय सदस्य ईश्वरी न्यौपाने, सांसदहरू पुष्करनाथ ओझा, बुद्धिसागर चौधरी र प्यारेलाल राना, काँग्रेसका जिल्ला सभापति नरनारायण शाह, नेता हिरादत्त भट्ट, उपमहानगरपालिकाका मेयर पदका उम्मेदबार नृप ओड, उपमेयरका उम्मेदवार सुशीला मिश्र भट्ट लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
क्याम्पस चोकमा भएको कार्यक्रम काँग्रेस नगर कार्यबाहक अध्यक्ष, ईश्वर जोशीको अध्यक्षतामा भएको कार्यक्रमको जिल्ला सदस्य केशवराज मिश्रले सञ्चालन गरेका थिए ।
यसअघि शुक्रबार बिहान धनगढी विमानस्थलमा नेपाल प्रेस युनियन कैलालीले आयोजना गरेको कार्यक्रममा सभापति देउवाले दोस्रो चरणको स्थानीय तह निर्वाचनमा काँग्रेसले बहुमत स्थानमा विजय प्राप्त गर्ने दाबी गरे ।
उनले स्थानीय तह निर्वाचनपछि देशको आर्थिक विकासको गति तीब्र हुने बताए । ‘पहिलो पटक सिंहदरवारको अधिकार जनताको घरदैलोमा पुग्दैछ’ प्रधानमन्त्रीले भने– यसपछि स्थानीय तहमा आर्थिक विकासले फड्को मार्ने छ ।
प्रदेश नम्बर ७ को भ्रमणका लागि प्रधानमन्त्री देउवा शुक्रबार नै राजधानीबाट धनगढी आइपुगेका हुन् ।
प्रधानमन्त्री देउवाले शुक्रबार नै कञ्चनपुरका विभिन्न स्थानमा आयोजित चुनावी सभालाई सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार